• १६ भदौ २०८१, आइतबार

हास्यव्यङ्ग्य सामग्री गाईजात्रे

blog

काठमाडौं, साउन २० गते । ‘गाईजात्रा’लाई हास्य र व्यङ्ग्यको पर्वको रुपमा पनि लिने गरिन्छ । यस दिनलाई लक्षित गर्दै हास्य कलाकारले विभिन्न हास्य व्यङ्ग्य सामग्री बजारमा ल्याउने गर्नुहुन्छ । 

शोक बिर्साउनका लागि सुरु गरिएको गाईजात्रा पर्वमा विभिन्न हास्य व्यङ्ग्यात्मक कार्यक्रम गरेर मन शान्त बनाउने गरिन्छ । तिथि अनुसार गाईजात्रा एकदिन मात्र पर्छ तर नेपाली हास्य कलाकारहरुले यो जात्रा ५ दिनसम्म पनि मनाउने गर्दछन् । विभिन्न विधाका कलाकारहरु पनि व्यङ्ग्यात्मक गीत, नृत्य, अभिनयको प्रस्तुति दिँदै आएका छन् । गाईजात्रामा विशेष व्यंग्यात्मक कार्यक्रमहरु गर्दै राजनीतिक, सामाजिक कुरीति माथि व्यङ्ग्य गर्ने चलन पुरानै हो । 

शिव शङ्कर रिजाल ‘जोगिन्दर पानवाला’ 

यस वर्षको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर पानवाला’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याउनुभएको छ ।

देशको समसामायिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यवृद्धिप्रति, जनतामा देखिएको राजनीतिक दलप्रतिको नैराश्य युक्रेन र रसिया युद्ध लगायतका विषयहरुलाई उहाँले  आफ्नो कमेडी ‘गठबन्धन’ मा समावेश गर्नुभएको छ । 

विगत दुई दशकभन्दा लामो समयदेखि गाईजात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गरेका रिजालको ‘गठबन्धन’ २० औं कोसेली हो । 

कमल गाउँले 

विगत २२ वर्षदेखि गाईजात्रा कोसेली ल्याउँदै आउनुभएका कमल गाउँलेले यसपालि पनि ‘जन्ता हान्न चाहन्छन्’ गाईजात्रा प्रस्तुति ल्याउनुभएको छ । यो गाउँलेको २२ औं गाईजात्रे कमेडी कोसेली हो । 

कलाकार गाउँलेले आफ्नो कोसेलीमा विदेशिएका युवाको पीडा र तिनका श्रीमती आफै वैदेशिक रोजगारमा रहँदा बिग्रेको कथा व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । 

यस्तै कमेडीमा महिलाहरु सामाजिक सञ्जाल फेसबुक, टिकटक जस्ता सञ्जालहरुमा रमाउने र बिग्रने आजको समाज, देशको महँगी र राजनीतिक अवस्था, गरिब नेपालीको दु:खबारे व्यङ्ग्य हान्नुभएको छ ।  

दमन रुपाखेती

यसपालिको गाईजात्रे कोसेलीमा हास्य कलाकार दमन रुपाखेतीले ‘¥याले सरकार’ ल्याउनुभएको छ । कोसेलीमा दमन रुपाखेतीसँगै घनश्यामलाई पनि देख्न सकिन्छ । 

हास्य गाईजात्रे कमेडी २०७९ मा उहाँले नेता र देशको आजको स्थिति र विदेशी देशसँग नेपाल निर्भर भएका घटनाहरुलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्नुभएको छ ।   गाईजात्रेमा विभिन्न नेताको नक्कल गर्दै हास्य व्यङ्ग्य हानिएको छ । 

मुखमा हानु जस्तो शिवहरि पौडेल

यस वर्षको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिवहरी पौडेलले ‘ बोर्डर चेकपोष्ट’ गाईजात्रे कमेडी कोसेली ल्याउनुभएको छ । उहाँ ‘मुखमा हानु जस्तो’ थेगोबाट चिनिनुहुन्छ । 

‘बोर्डर चेकपोष्ट’मा हास्य कलाकार पौडेलले नेपाल र भारतबीचको सिमाना नाकाको विषयमा व्यङ्य गर्नुभएको छ । नेपाल र भारतको राजनीति सम्बन्ध र दुई देशका नेताहरुलाई व्यङ्ग्य गरिएको छ । 

यस गाईजात्रे कमेडीमा राजाराम पौडेल, किरण केसी र शिवहरी पौडेलको रमाइलो प्रस्तुति रहेको छ । कमेडी कोसेली आफ्नो देशप्रतिको प्रेम, सद्भाव, राजनैतिक परिवर्तन र दुई देशका नेताहरुलाई व्यङ्ग्य हानिएको छ । 

‘बोर्डर चेकपोष्ट’ यसभन्दा अघि पनि सार्वजनिक भइसकेको हो । कलाकार शिवहरी पौडेलले यस वर्षपनि आफ्नो युट्युव च्यानल ‘मुखमा हान्नु जस्तो’ बाट बोर्डर चेकपोष्ट सार्वजनिक गरिएको हो । 

विश्वजीत देउजा

यस्तै, हास्य कलाकार विश्वजीत देउजाले पनि भरपुर मनोरञ्जनसहित गाईजात्रे कमेडी ल्याउनुभएको छ । कमेडी सामाग्रीमा उहाँले नेपालका नेताहरुले कुरा मात्र ठूलाठूला गर्ने तर काम नगर्ने भन्दै व्यङ्य हान्नुभएको छ । 

भण्डाफोर गरेरै छाड्छु गाईजात्रामा मलाई के को डर, देश श्रीलङ्का हुनै लाग्यो सङ्घीयता फाल भन्दै कलाकार युवराज भण्डारीले गाईजात्रा कमेडी ‘घुँडै सित्ती’ ल्याउनुभएको छ । 

जनताले आफ्नो आवाज सुनिदियोस् भन्दै नेता र प्रमुख छान्ने गर्छन् तर राजनीतिमा लाग्नेहरुले भने जनतालाई भ्रम छर्ने काम गरेको व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । 

केमेडीमा देशको बेथिति र नेताहरुको काम र व्यवहारलाई व्यङ्ग्यमात्क शैली देख्न सकिन्छ र युवाहरुले पनि देश हाँक्न सक्छन् भन्ने प्रस्तुत गर्न खोजिएको छ । 

हास्य कलाकार किरण केसी

यसैगरी, विगत २७ वर्षदेखि हास्य कमेडी गाईजात्रे कोसेली ल्याउनुभएका हास्य कलाकार किरण केसीको पहिलो गाईजात्रे कोसेली ‘फुटेको हाँडीको टुटेको नेता’ हो । “मुलुक नै गाईजात्रा भएको बेला हामी हास्य कलाकारको गाईजात्रा कस्ले हेर्ने, हामी त फल्प हुन्छौं,” उहाँ भन्नुहुन्छ, “त्यसैले हामीले यसपालि केही गरेनौं ।” 

पहिले गाईजात्रामा मात्र व्यङ्ग्य हान्न पाउने थियो तर अहिले सामाजिक सञ्जालले कुर्ने धैर्य फटाएको केसीको अनुभव छ । उहाँका अनुसार पहिलेको गाईजात्रा दशैं तिहार जस्तै हुन्थ्यो, अहिले  सामाजिक सञ्जालले गर्दा व्यङ्ग्य हान्न कुनै गाईजात्रा कुनुपर्ने दिन भएन ।  

गाईजात्रा हास्य कलाकारले भन्दा पनि नेताहरुले देखाएको केसीको भनाइ छ ।