• १३ साउन २०८१, आइतबार

शिक्षामा जवाफदेहिताको खडेरी

blog

चिन्तामणि रिजाल 

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। विद्यालय बिग्रनुमा सबै दोषी छौँ भन्ने तथ्यलाई कसैले पनि स्वीकार गर्न सकेनौँ। हामीले राज्य, राज्यको शिक्षा नीति, राजनीतिक दल र राजनीतिज्ञलाई दोष लगाउँदै आएका छौँ भने राज्यले शिक्षकलाई दोष दिँदै आएको छ। हामीले एकअर्कालाई दोषारोपण गरिरह्यौँ, आफैँमा कुनै दोष देख्दैनौँ। सबै दोष अरूमाथि ‌थुपारेर आफू भने उम्कने प्रयास गरिरह्यौँ। अहिलेसम्म, हामीले फाइदा मात्र हेर्यौं र नतिजाप्रति उदासीन बन्यौँ।

हामी सक्षम छौँ, सुधार गर्न सक्छौँ भन्ने सकारात्मक दृष्टिकोण कहिल्यै बनाएनौँ। मुलुकको शासन व्यवस्था बदल्न सक्यौँ। संरचना बदल्न सक्यौँ। नीति बदल्न सक्यौँ तर दुर्भाग्य हामीले आफैँलाई बदल्न सकेनौँ। हामी आफू सरकारी शिक्षक बन्न खोज्यौँ तर सन्ततिलाई निजी विद्यालयमा पढायौँ। राजनीतिक दललाई दोष लगायौँ तर तिनै भातृ संस्थाको सदस्यता लिन हामी चुकेनौँ। 

अब सुधार्न गर्न के गर्ने ?

पहिलो उपाय मैले के गरेँ भनी आफैँलाई सोधौँ। शिक्षकले चाहेमा सुधार गर्न सकिन्छ भन्ने सकारात्मक सोच राखौँ। अहिलेसम्म मैले कसरी पढाएँ ? अरूले कसरी पढाए ? मैले कुन शिक्षण विधि प्रयोग गरे ? कुन विधि प्रयोग गर्दा बालबालिकाले अझ बढी सिक्न सक्छन् यी प्रश्नहरूको जवाफ खोजौँ। यो वर्ष यसरी पढाउँदा यस्तो नतिजा आयो। अब कसरी पढाउँदा नतिजा अझ राम्रो आउँछ ? केही अरू पनि शिक्षण विधि र तरिका होलान् खोजी गरौँ। समस्या समाधानमा सहपाठीहरूसँग बारम्बार परामर्श गरौँ। समाधानका सरल उपायहरू खोजी गरौँ। पेसागत धर्म निभाउन प्रयत्न गरौँ। यस्ता मनोवृत्तिले हामी सुध्रिन्छौँ र शिक्षामा पक्कै सुधार आउनेछ। 

दोस्रो उपाय– शिक्षक प्राविधिक बन्ने। शिक्षणलाई कला र विज्ञान दुवै विषय ठान्ने। हामीले शिक्षण गर्ने तरिका र प्रस्तुति बदले ‘कला’ र सामाजिक वस्तुस्थितिमा जोडेर पढाउँदा ‘विज्ञान’ ठान्ने। जस्तो– सेतो शान्तिको प्रतीक, पूजा र मृत्यु संस्कार दुवैमा चल्ने। यो हिन्दु र बुद्धमार्गीको सोच हो। इसाई केटीले विवाहमै सेतो लगाउँछन्, हिन्दु केटीले रातो; पश्चिमाले सेतो लगाए हामीले रातो लगायौँ, किन ? विज्ञानले के भन्छ ? मानवशास्त्रले के 

भन्छ ? किन पश्चिमा हामीभन्दा भिन्न छन् ? हामी र उनीहरूबीचमा किन फरक छ ? यसरी विश्लेषण गर्दा हामी प्राविधिक बन्छौँ। अर्थात् शिक्षणपूर्व समाज विश्लेषण गर्नाले हामी सुध्रन थाल्छौँ र शिक्षा सुधार्न थाल्यौँ।

तेस्रो उपाय– गैरविभाजन हो। हामी विभिन्न समूह, गुट–उपगुटमा विभाजित छौँ; चाहे त्यो जातीय होस् या धार्मिक, भौगोलिक या पेसागत। आफ्नो स्वार्थ पूरा गर्न हामी कुनै न कुनै समूहको आड लिन्छौँ। त्यसैको आडमा नाजायज फाइदा उठाउँछौँ। हाम्रो विभाजित मनोवृत्तिले शिक्षा बिग्रियो। हामी बिग्रियौँ। यस स्थितिमा सुध्रिने तरिका हो– बालबालिकालाई कक्षाकोठा पहिलो हो भन्ने दृष्टिकोण राख्ने। काम नगर्नेलाई ज्याला नदिने हाम्रो पारम्परिक बुद्धिलाई अङ्गीकार गर्ने। काम नगर्ने र कुनै समूहमा लागेर फाइदा लिने हामी बेइमान हौँ भन्ने कुरा स्वीकार गर्ने। यो स्वीकारोक्तिले हामी सुध्रिन्छौँ। शिक्षामा सुधार आउँछ।

चौथो उपाय– हामी विभिन्न विचार तुरुन्त पस्कन्छौँ। सजिलै क्रिया प्रतिक्रिया जनाउछौँ। शिक्षा यस्तो हुनुपर्छ। शिक्षा नीति यस्तो बन्नु पर्छ। सरकारले शिक्षा नीति नै राम्रो बनाउन सकेन। सरकारले यस्तो गर्नुपर्छ आदि जस्ता अर्ति उपदेश दिन्छौँ। समस्या अगाडि राखिदिन्छौँ। यद्यपि समाधान खोजे भाग्छौँ। यी असाध्यै सजिलो र रमाइला कुराहरू हुन्। यसो हुनुपर्छ, उसो हुनुपर्छ भन्ने विचार आफ्नै विद्यालयमा किन लागू नगर्ने ? ‘जनवादी’ शिक्षा चाहिए कुनै एउटा विद्यालयमा लागू गर्ने, एउटा कक्षामा लागू गर्ने, एउटा विषयमा लागू गर्ने। ‘जनमुखी, राष्ट्रवादी, व्यावहारिक, वैज्ञानिक’ जस्तो शिक्षा चाहियो त्यस्तै लागू गर्ने। सके विद्यालयमा, नसके कक्षा कोठामा लागू गर्ने। त्यो पनि नसके आफ्नो विषयमा लागू गर्ने। यसले ती विचार लाभकारी हुन्छन्। किनकि तिनले समुदायबाट सिक्न लगाउँछन्। सिकेको कुरामा चर्चा परिचर्चा हुन्छ। विकल्प खोजिन्छ। संरचनामै विकल्प खोजिन्छ। त्यसलाई कार्यान्वयनको चरणमा लगिन्छ। व्यक्तिमा परिवर्तन हुन्छ। अन्तक्र्रियामा फेरबदल हुन्छ।

पाँचौँ उपाय– हामी राजनीतिक दलका हौँ। तिनैका लागि काम ग-यौँ र तिनैको संरक्षण खोज्यौँ। तिनैको स्रोतमा टिक्यौँ र टिक्दैछौँ पनि। यो स्वीकारोक्तिले हामी दलका भक्त भन्ने बुझिन्छ। रहरले होस् या बाध्यताले, देखासिखीले होस् या विश्वासले, उद्भवले होस् या निर्विकल्पताले हामीले दलको भक्ति गायौँ। यद्यपि तिनै दलको सोचअनुसारका विद्यार्थी उत्पादन नगरेर हामीले दलमाथि नै अन्याय गर्‍यौँ । जुन दलका लागि हामीले काम गर्‍यौँ त्यही दलको घोषणापत्रको बेवास्ता गर्‍यौँ ।

यस स्थितिमा शिक्षकले दुई वटा काम गर्न सक्छन् – एउटा दलकै आदर्शअनुसार विद्यार्थी उत्पादन गर्ने र अर्को विभिन्न दलका कुरालाई संयोजन गरी शिक्षाको स्वरूप बनाउने। यी दुवै कामका लागि हामी शिक्षक सक्षम छौँ र हुन्छौँ। चिया पसलमा देश बनाउने फाइँफुट्टी लगाउने हामी शिक्षकले कक्षाकोठा किन सुधार नगर्ने ? सुधारौँ, सुधार्न सकिन्छ र सुधार्न सक्छौँ।

छैटौँं उपाय– महसुस गर्ने। हामीले अभिभावकलाई दोस्यौँ तर हाम्रा अभिभावक कस्ता थिए भन्ने सोचेनौँ। हामी आफैँ अभिभावक हुँदा के गर्‍यौँ भन्ने कुराको हेक्का राखेनौँ। विद्यार्थीलाई दोष दियौँ। आफैँ विद्यार्थी हुँदा कसो गरेका थियौँ, विगतलाई फर्केर हेरेनौँ। निजी र सार्वजनिक विद्यालय बनाएकोमा सरकारलाई दोष दियौँ तर हाम्रा छोराछोरी र भाइ बहिनीलाई कहाँ पढायौँ त्यो सोचेनौँ । पाठ्यक्रम र पाठ्यपुस्तकलाई दोष देखायौँ। हामीले सोचेनौँं– अवधारणा पढायौँ कि पाठ वा विषयवस्तु ? यसो गर्दा हाम्रा खोटहरू थाहा हुन्छ। अरूलाई दोष दिनु हुँदैन भन्ने सद्बुद्धि पलाउँछ। सोच्ने क्षमता बढ्छ। हामी सुधारोन्मुख हुन्छौँ र शिक्षा सुधार्छौं।

निचोडमा हामी शिक्षकले गर्न चाहे गर्न सक्छौँ, नचाहनु भनेको बेइमानी हो। राम्रो बनाउने सोच राखेकाले सकेका छन्, नगर्नेले विभिन्न बहाना बनायौँ। केवल जागिर खाएर बस्यौँ। केही गर्ने कि बहानामा बाँच्ने ? छनोट हाम्रै हो।