सूचना तथा सञ्चार प्रविधिको विकासलाई पछ्याउँदै आधुनिक सेवासुविधा दिने क्रममा बैङ्क तथा वित्तीय संस्थाले विभिन्न किसिमका डिजिटल बैङ्किङ सेवा प्रदान गर्दै आइरहेका छन्। त्यस्ता डिजिटल बैङ्किङ सेवामध्ये सबैभन्दा लोकप्रिय सेवा मोबाइल बैङ्किङ सेवा हो।
आफ्नो मोबाइल नम्बरका आधारमा आफ्नो बैङ्क खातामा जुनसुकै बेला पनि पहुँच राख्न सकिने र बैङ्क नगई छिटोछरितो एवं सहजै बैङ्किङ कारोबार गर्न सकिने हुँदा यो सेवा निकै लोकप्रिय बन्दै गइरहेको छ। यो सेवा इन्टरनेट प्रयोग गरी एप्लिकेसनको माध्यमबाट कारोबार गर्न सकिने र इन्टरनेटबिना पनि एसएमएसमार्फत कारोबार गर्न सकिने गरी दुई किसिमले लिन सकिन्छ।
मोबाइल बैङ्किङ सेवामा आफ्नो खातामा भएको रकम यकिन गर्न सकिने, स्टेटमेन्ट हेर्न सकिने, अरूको खातामा रकम ट्रान्सफर गर्न सकिने, मोबाइल तथा टिभी रिचार्ज गर्न सकिने, हवाई तथा बस टिकट बुक गर्न सकिने, खानेपानी तथा बिजुलीको बिल तिर्न सकिने, फोन तथा इन्टरनेटको बिल भुक्तानी गर्न सकिने, अन्य डिजिटल वालेटमा रकम राख्न सकिने, विभिन्न कार्यालयका सेवा शुल्क तथा बिल भुक्तानी गर्न सकिने, आफ्नो खाताको चेकबुक तथा एटिएम कार्डका लागि अनुरोध गर्न सकिने जस्ता सुविधा हुन्छन्।
एउटै प्लेटफर्म (माध्यम)मा धेरै सुविधा उपलब्ध हुने र एउटा सानो मोबाइल सेटको प्रयोगमार्फत ती सुविधाको उपभोग सजिलोसँग गर्न पाइने हुँदा यो सेवा निकै लोकप्रिय बन्दै गएको छ। लोकप्रियताको शिखर चढ्दै गर्दा पछिल्लो समयमा यसमा विभिन्नखाले समस्या एवं चुनौती पनि देखापर्न थालेका छन्।
विभिन्न कारणले गर्दा कारोबार समयमै सम्पन्न हुन नसक्ने, खाताबाट रकम काटिने तर पाउनुपर्नेको खातामा रकम जम्मा नहुने, एक पटक मात्र भुक्तानी गर्न खोज्दा पनि खाताबाट धेरै पटक रकम काटिने, त्यसरी अनावश्यक रूपमा काटिएको रकम समयमै खातामा फिर्ता नहुने जस्ता समस्या देखिन थालेका छन्।
त्यसैगरी मोबाइल बैङ्किङ सिस्टममै अनधिकृत पहुँच कायम गर्ने, अनधिकृत कारोबार गर्ने र खाताबाट रकम हराउनेसम्मका घटना बढ्दै जानु अहिलेको सबैभन्दा जटिल एवं चुनौतीपूर्ण समस्याका रूपमा देखापरेको छ। मोबाइल बैङ्किङ सेवाको विश्वसनीयतामै प्रश्न चिह्न खडा गर्ने यस किसिमका घटनाले ग्राहक, बैङ्क तथा वित्तीय संस्था, टेलिकम सेवाप्रदायकलगायतका सरोकारवालालाई
पिरोलिरहेको छ। मोबाइल बैङ्किङ सेवालाई सुरक्षित, भरपर्दो एवं विश्वसनीय बनाउन सम्बद्ध सबै पक्ष उत्तिकै जिम्मेवार हुनु आवश्यक छ।
टेलिकम सेवाप्रदायकको भूमिका
कुनै पनि समस्याको समाधान जरैदेखि गरिएन भने त्यो समस्या बारम्बार दोहोरिएर आउने गर्दछ। मोबाइल बैङ्किङको जरा भनेको मोबाइल नम्बर हो जुन टेलिकम सेवाप्रदायकले उपलब्ध गराउँछन्। अहिलेको व्यवस्थाअनुसार टेलिकम सेवाप्रदायकले नागरिकताको प्रतिलिपि र फोटोसहितको आवेदन फारामका आधारमा ग्राहकलाई सहजै सिम कार्ड उपलब्ध गराउने गर्दछन्। यही सहज व्यवस्थाको फाइदा उठाउँदै ठगी कार्यमा संलग्न व्यक्ति तथा गिरोहले जोसुकैको नागरिकता तथा फोटोको दुरुपयोग गरी सिमकार्ड लिन सक्ने जोखिम रहेको पाइन्छ।
सिमकार्ड हराएको भनी निवेदन दिएमा सहजै अर्को सिमकार्ड उपलब्ध गराइने प्रावधानले पनि दुरुपयोग बढ्ने सम्भावना रहन्छ। त्यति मात्र होइन टेलिकम सेवाप्रदायकले छ महिनासम्म निष्क्रिय रहेको या प्रयोगमा नरहेको मोबाइल नम्बर रिसाइकल (पुनःप्रयोग) गर्न पाउने व्यवस्था छ अर्थात् उक्त मोबाइल नम्बर नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्ने व्यवस्था छ। यही व्यवस्थाले गर्दा पुराना ग्राहकको अनुमतिबिना पनि टेलिकम सेवाप्रदायकले नयाँ ग्राहकको नाममा मोबाइल नम्बर जारी गर्ने गरेको पाइएको छ। यहीँनेर त्रुटि भएको छ।
व्यावहारिक रूपमा हेर्दा रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा छ महिनाभन्दा बढी विदेश बसेर फर्किनुपर्ने ग्राहकले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर थाहै नपाई गुमाउने अवस्था छ। मोबाइल नम्बर गुमेसँगै त्यो नम्बरमा आबद्ध मोबाइल बैङ्किङलगायतका अन्य सेवासुविधामा पनि अनधिकृत व्यक्तिले पहुँच राख्न सक्ने सम्भावना उत्तिकै हुन्छ। यो विषयमा टेलिकम सेवाप्रदायक गम्भीर बन्नुपर्ने र ग्राहकलाई पनि पर्याप्त मात्रामा सचेत गराइनुपर्ने देखिन्छ।
खासमा सिमकार्ड (मोबाइल नम्बर) वितरणमा ग्राहक पहिचानलाई कडाइका साथ पालना गर्नुपर्ने हो। ग्राहक बासिन्दा नागरिक हो वा होइन, उसले निकालेको सिमकार्ड ऊ आफैँले प्रयोग गर्ने हो वा होइन, प्राप्त मोबाइल नम्बर कहिलेसम्म सक्रिय रूपमा प्रयोग हुने हो, कहिले निष्क्रिय हुने हो आदि कुरा सिम वितरण गर्ने बेलामा नै स्पष्ट रूपमा खुलाउनुपर्ने र त्यहीअनुसार सिस्टममा पहुँच कायम हुने व्यवस्था गर्न सक्ने हो भने सिमकार्डको दुरुपयोग कम गर्न सकिन्छ। वास्तविक ग्राहक पहिचानका लागि बायोमेट्रिक पहिचान प्रणालीसहितको विद्युतीय ग्राहक पहिचान (ई–केवाईसी) प्रयोग गर्न सकिन्छ।
बैङ्क तथा वित्तीय संस्थाको भूमिका
मोबाइल बैङ्किङ सेवालाई सुरक्षित र भरपर्दो बनाउन बैङ्क तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ। ग्राहकलाई बैङ्कमा खाता खोल्ने क्रममै यो सेवा लिन प्रेरित गर्ने बैङ्क तथा वित्तीय संस्थाले सुरुदेखि केही सावधानी अपनाउने हो भने भविष्यमा सिर्जित हुन सक्ने समस्या निराकरण गर्न सहज हुन्छ।
ग्राहकलाई आफ्नै नाममा दर्ता रहेको र आफैँले प्रयोग गर्ने गरेको मोबाइल नम्बरमा मात्रै मोबाइल बैङ्किङ सेवा लिन सुझाउनु अत्युत्तम विकल्प हो। व्यावहारिक रूपमा परिवारका सदस्यको मोबाइल नम्बरमा पनि यो सेवा लिने गरेको पाइन्छ। उपभोक्तालाई छनोटको अधिकार हुने हुँदा यसै गर्नु भन्न नसकिए तापनि यो–यो कारणले गर्दा आफ्नो मोबाइल नम्बरबाहेक अरूको नम्बरमा मोबाइल बैङ्किङ सेवा लिनु जोखिमपूर्ण हुन्छ भन्ने बैङ्कका कर्मचारीले ग्राहकलाई बुझाउनुपर्छ। साथै मोबाइल बैङ्किङ चलाउने क्रममा केही समस्या देखा परी ग्राहकले बैङ्कलाई समस्या समाधानका लागि अनुरोध गरेमा तुरुन्त समस्या समाधानका लागि भूमिका खेल्नु बैङ्कको दायित्व हुन आउँछ।
सुरक्षित कारोबारको सुनिश्चितताका लागि बैङ्क तथा वित्तीय संस्थाले हर तरहका उपाय अपनाउनुपर्छ। सूचना प्रविधि तथा डिजिटल बैङ्किङ विभागका कार्यहरूलाई चुस्त बनाई जालसाजी तथा ठगीका सम्बन्धमा आउने गुनासो यथाशीघ्र सुनुवाइ हुने व्यवस्था मिलाउनुपर्छ। डिजिटल बैङ्किङमा आउने समस्या कुनै एक संस्थामा मात्रै सीमित नहुने हुँदा बैङ्क तथा वित्तीय संस्थाको बीचमा आपसी सम्पर्क, समन्वय र सहयोगको वातावरण सौहार्दपूर्ण हुनुपर्छ र कुनै पनि समस्या समाधानका लागि इमिडियट रेस्पोन्स टिम (तत्काल प्रतिकार्य समूह) खडा गरिनुपर्छ।
ग्राहकको भूमिका
आफूले प्रयोग गर्ने हरेक किसिमका डिजिटल बैङ्किङ सेवाको महत्त्वपूर्ण सूचना सुरक्षित राख्ने जिम्मेवारी ग्राहक स्वयंको हुन्छ। तसर्थ मोबाइल बैङ्किङ सेवाको पनि लगइन पासवर्ड तथा कारोबार पिन सुरक्षित राख्ने दायित्व ग्राहककै हुन्छ। ग्राहकले आफ्नो मोबाइल हराएमा वा शङ्कास्पद कारोबार भएको लागेमा तुरुन्त बैङ्कलाई खबर गरी खाता वा मोबाइल बैङ्किङ सेवा रोक्का राख्न सक्छन्। आफूले मोबाइल सेट परिवर्तन गर्नुपर्ने अवस्थामा बैङ्कले तोकेको प्रक्रिया पूरा गरी डिभाइस रिसेट (परिवर्तित सेटमा सेवा लिने) गर्न सकिन्छ। त्यसैगरी मोबाइल नम्बर परिवर्तन गर्नुपर्ने भएमा आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गराई मोबाइल बैङ्किङ सेवामा मोबाइल नम्बर परिवर्तनका लागि आवेदन दिनुपर्छ।
विदेश जाँदा वा अन्य कुनै कारणले नियमित सेवा लिन नसक्ने अवस्थामा बैङ्कलाई जानकारी गराई सेवा रोक्का राख्नुपर्छ। यसो गरेमा सेवा रोक्का राखेको अवधिमा कुनै घटना भएमा बैङ्क नै जिम्मेवार हुनुपर्छ।
ग्राहकले टेलिकम, बैङ्क तथा वित्तीय संस्था वा अन्य निकायबाट जारी सूचनाबारे अपडेटेड (अद्यावधिक) भइरहने गर्नुपर्दछ। आफ्ना परिचयपत्र, फोटोलगायतका संवेदनशील कागजात कहीँकसैले माग्दैमा सजिलै दिनुहुँदैन, कहीँकतै आफ्ना कागजात दुरुपयोग भएको छ कि भनी चनाखो रहनुपर्छ।
टेलिकम सेवाप्रदायक, बैङ्क तथा वित्तीय संस्था र ग्राहकका अलावा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैङ्कलगायतका नियामक निकाय, आम सञ्चारमाध्यम, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने निकाय आदिको साझा प्रयासले नै मोबाइल बैङ्किङमार्फत हुने जालसाजी तथा ठगीका घटना नियन्त्रण गरी यो सेवालाई सुरक्षित, भरपर्दो एवं विश्वसनीय बनाउन सकिन्छ।