• ४ जेठ २०८१, शुक्रबार

पैसा लुकाउने चिन्ताले मुलुक बिग्रियो : मन्त्री चौधरी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १८ गते । शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८–७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे आयोजित ३ दिने गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।  

सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुनेगरेको मन्त्री चौधरीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति आर्जन गरेर पैसा कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” सबैको सकारात्मक प्रतिबद्धताले देश निर्माण हुन सक्ने मन्त्री चौधरीले बताउनुभयो । आगामी आर्थिक वर्षमा मन्त्रालयले कार्य प्रगति र कार्यक्रम कार्यान्वयनमा थप फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्रालयले हासिल गरेको प्रगतिलाई थप बढाउँदै लैजान अधिकारीहरुलाई निर्देशन दिनुभयो । मुलुक निर्माणका लागि राष्ट्र सेवक कर्मचारीले नयाँ मानसिकताकासाथ काम गनुपर्ने चर्चा गर्नुभयो ।  मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा महाशाखा प्रमुखले ३ दिनसम्म गत आवको प्रगति विवरण तथा आगामी कार्यक्रम कार्यान्वयनबारे छलफल गर्ने कायक्रम रहेको मन्त्रालयले जनाएको छ ।