• १३ साउन २०८१, आइतबार

दुई मतदानस्थल थप्न सिफारिस

blog

जिल्ला निर्वाचन कार्यालय दार्चुला । फाइल तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी 

दार्चुला, साउन १८ गते । दार्चुलामा दुईवटा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अपिहिमाल गाउँपालिका–३ को सुर्मा भवानी आधारभूत विद्यालय थुम्ती र लेकम गाउँपालिका–४ को तमैराज आधारभूत विद्यालय झलातीमा मतदानस्थल थप गर्न सिफारिस गरेको निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिपसिंह धामीले जानकारी दिनुभयो ।

जिल्लाभरि चार मतदानस्थल थप गर्न निवेदन आएको भए पनि बाँकीको प्रक्रिया नमिलेकाले दुईवटा मतदानस्थल थप गर्नका लागि मात्र सिफारिस गरिएको निर्वाचन अधिकारी धामीले बताउनुभयो । दार्चुलामा हालसम्म ११० मतदानस्थल कायम छन् । सिफारिस गरिएको मतदानस्थल थपिएमा जिल्लामा ११२ मतदानस्थल हुनेछन् ।

दार्चुलामा ८९ हजार ३८२ मतदाता पुगेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ८८ हजार २८५ मतदाता थिए । अहिले पनि निरन्तर मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ । 

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराई आगामी निर्वाचनमा मताधिकार प्रयोग गर्न योग्यता पुगेका सबै नागरिकलाई अनुरोध गरिएको छ । निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता कार्य बन्द गरिने भएकाले समयमै नाम दर्ता गराई मताधिकार प्रयोगको अधिकार सुरक्षित गर्न सबैलाई अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी धामीले बताउनुभयो ।