• १२ साउन २०८१, शनिबार

खोलामा पसेको बस्ती–३

पहुँचवालाको बलमा खोला पुरेर कल्भर्ट

blog

काठमाडौँ, साउन १७ गते । दुई दशक अघिसम्म बर्खायाममा पानी परेपछि बढ्ने यज्ञमती र चखुँचा खोलाको पानीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपनको फाँट सिञ्चित हुन्थ्यो। मध्य साउनमा रोपाइँ गर्न भ्याइनभ्याई हुन्थ्यो। 

बूढानीलकण्ठ–११ का भीमबहादुर तामाङलाई पहिलेको त्यो दृश्यले झस्काउँछ। उहाँ भन्नुहुन्छ, “कस्तो रमाइलो गाउँ थियो, अहिले कस्तो अस्त व्यस्त सहर भयो, पैसा कमाउने ध्यानमा यो ठाउँ सखाप पारियो।” उहाँका अनुसार कपनको पानीका भण्डार यज्ञमती र चखुँचा खोलामा बर्खायाममा सामान्य बाढी आउँथ्यो, पानी पर्दा खेतमा सिँचाइ हुने र खेत भरिएपछि मात्रै खोलामा मिसिन्थ्यो। तर अहिले खोलामाथि नै पक्की घर निर्माण गरिएपछि पानीको निकास छैन।

उहाँले भन्नुभयो, “पानी पर्दा बाढी र डुबान सुरु हुन्छ, बग्ने ठाउँ छैन, खोलामाथि घर भएपछि घरभित्र पानी पस्यो भन्नुको अर्थ छैन।” यज्ञमती र चखुँचा खोलालाई ढलमा परिणत गरी चार फिटका दुईवटा ह्युमपाइपमा सीमित गरिएपछि बाढीको वितण्डा सुरु भएको उहाँको भनाइ छ। 

पक्की कल्भर्ट, अदूरदर्शी निर्माण

स्थानीयवासी तामाङसँगै सरस्वती सुधार सङ्घका सचिव शालिकराम तिमल्सिनाले सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणले अदूरदर्शी निर्णय गरेर संरचना निर्माण थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “कपन, सरस्वतीनगरसहित यो क्षेत्रको पानीको स्रोत नै यज्ञमती र चखुँचा खोला हुन्। खोलामा ढल मिसाएर पहिल्यै गल्ती भइसक्यो। अब ढल मिसाउने गरी पक्की कल्भर्ट निर्माण गर्दा यस क्षेत्रमा भूमिगत पानीको स्रोत समाप्त हुन्छ।”

‘खोलाको अस्तित्व कायम गर्नैपर्छ’

बूढानीलकण्ठ–१२ को आनी गुम्बादेखि मिलनचोक, तरकारी बजार हुँदै धोबी खोलासम्मको सडकमा पक्की नाला निर्माणअन्तर्गत २०७८ पुस १८ गते सडक खन्न सुरु भयो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले २०७८ जेठ २६ गते सम्झौता गरी एक हजार चार सय मिटर नाला निर्माण गर्न असार २० गते सम्पन्न गर्ने सर्तमा ठेक्का दिएको थियो। 

जलस्रोतविद् तथा पूर्वमन्त्री दीपक ज्ञवालीले पक्की नाला निर्माण कार्य तत्काल रोक्न आग्रह  गर्नुभयो। पहुँचको भरमा खोला पुरेर सडक र कल्भर्ट निर्माण नगर्न सुझाव दिँदै उहाँले जलविद्को संलग्नतामा अध्ययन गरी खोलालाई साबिककै रूपमा बग्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “खोला पुगेर दुर्घटना निम्त्याउने कि बेलैमा समाधान खोज्ने ? व्यक्तिवादी चरित्र त्यागेर सामूहिक प्रयासमा खोला कायम गर्न अनुरोध गर्छु। मलाई फाइदा भए पुग्छ भन्ने सोच त्यागेर समाधान निकाल्न सुझाव दिन्छु।”

बूढानीलकण्ठका नगरप्रमुख मिठाराम अधिकारीले पनि बक्स कल्भर्ट निर्माणले दीर्घकालीन समाधान नदिने बताउनुभयो। यज्ञमती र चखुँचा खोलाले पछिल्ला तीन–चार वर्षयता अधिक डुबान गर्न थालेको बताउँदै उहाँले दीर्घकालीन योजना निर्माण गर्ने पक्षमा नै आफू रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “तत्कालीन नेकपा सरकारका पालामा बजेट मागेर काम सुरु भयो, कल्भर्ट निर्माण थालियो, तर कल्भर्ट निर्माणपछि पानीको समस्या देखिन्छ। त्यसैले तत्काललाई इनार शैलीका पानी भण्डारण गर्ने ठाउँ निर्माण गर्न बजेट छुट्याएका छौँ।”