• ८ मंसिर २०८१, शनिबार

नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

blog

वीरगञ्ज,  साउन १६ गते । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन  थालिएको  छ  । 

वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट  भारतको दार्जिलिङनिवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट  ३३-०२-०७९-००५१३ नं को नागरिकता लिएको देखिएको छ  ।  

सो घटनाबारे  छानबिन थालिएको छ  । उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो । 

राईको जन्म मिति २०५८-११-१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ । यो जन्मदर्ता २०७९-०२-२३ गते वडा कार्यालयबाट बनाइएको हो । कीर्ते जालसाजी गरी  अभिभावकमा बुबाको नाम श्यामराज गोले र आमाको नाम जीरामाया गोले बनाएर नेपाली नागरिकता लिएको पाइएको छ ।  झुटो विवरण पेस गरेर भारतीय नागरिक राईलाई नेपाली नागरिकता लिएको घटना खुलेपछि निजगढ–१२ कार्यालयले सो नागरिकता बदरका लागि प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालय सिमरामा पत्राचार गरिसकेको छ  । 

रजनी गोले भन्ने रजनी राईको भारतीय आधार कार्डमा  ३७७९५६५०३५६६ नं लेखिएको छ भने भारतीय निर्वाचन आयोग परिचयपत्रमा टिक्युजी २०७६९२५ लेखिएको प्रमाण फेला परेको छ । उक्त परिचयपत्रमा निजको नाम रजनी राई, बुबाको नाम किशोर राई जन्म तारिख १९८९-०३-२४ रहेको छ । त्यसैगरी उनको भारतीय आधार कार्डमा रजनी राई (सिङ्गर) र पति छेडुप सिङ्गर लेखिएको छ ।