• १३ साउन २०८१, आइतबार

अमात्य र बज्राचार्यबाट जुजु फाउण्डेसनको उद्घाटन

blog

काठमाडौं, साउन १५ गते। गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ। गायक अमात्य र संगीतकार ब्रजाचार्यले राजधानीको गल्फुटारमा अवस्थित फाउण्डेसनमा पुगेर उद्घाटन गर्नुभएको हो। 

गायक अमात्यले आफूले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भएता पनि नजिकमा संगीत विद्यालय नहुँदा निकै कठिन परिस्थिीतिको सामना गर्नु परेको अनुभव सुनाउनुभयो। उहाँले अहिले यसरी जुजु फाउण्डेसन जस्ता संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा परेका तर कला र प्रतिभा भएकालाई सजिलै बाहिर ल्याउनसहयोग पुग्ने बताउनुभयो। 

त्यस्तै लोकप्रिय संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्युजिक भिडियो  बनाएर बजारमा ल्याइदिने कदमले लुकेको प्रतिभा सहजै बाहिर ल्याउन सहजीकरण गरिदिने फाउण्डेसनको उदार कामको प्रशंसा गर्नुभयो। सो अवसरमा गायक अमात्यले  जब सन्ध्या हुन्छ बोलको गीत गाउनुभयो थियो।

  त्यस्तै फाउण्डेसनका अध्यक्ष तथा गायक एवंम संगीतकार सुशील श्रेष्ठ जुजुले  संगीतमा विशेष रुची राख्ने तर आर्थिक अवस्था नाजुक भएकालाई फाउण्डेसनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्दत गर्ने प्रतिवद्धता जनाउनुभयो। 

गायक तथा संगीतकार  ‘जुजु’को ‘माइतीको आँगन’ , सुनन , आमा, लगायतका गीतले चर्चा कमाएका छन्। जुजु फाउण्डेसनले निर्माण गरेका भिडियो फाउण्डेसनकै आफ्नै अफिसियल च्यानल जुजु क्रियशनबाट बजारमा ल्याइने छ।