• १९ असार २०८१, बुधबार

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत

blog

बनेपा समाचारदाता 

बनेपा, साउन १५ गते  । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत हाल्ने व्यवस्था मिलाउने बताउनुभएको छ। 

उहाँले दाँत नभएका कारण ज्येष्ठ नागरिकले हाँस्नसमेत सङ्कोच मान्नुपर्ने अवस्था रहेको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “त्यस्ता ज्येष्ठ नागरिकलाई नगरपालिकाले निःशुल्क दाँत हाल्ने व्यवस्था गर्ने छौँ।” उहाँले नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत हाल्ने नीति अघिसारेको बताउनुभयो। 

नगरप्रमुख खरेलले आफ्नो दोस्रो पाँच वर्षीय कार्यकालमा नगरभित्र दुईवटा सडक चक्रपथ बनाउने, पहिलो कार्यकालमा नगरपालिकाका सबै वडामा सडकको पहुँच पु-याएको बताउँदै अबको कार्यकालमा सबै वडा, टोल, स्वास्थ्य संस्था, विद्यालयमा कालोपत्रे सडक पु-याउने बताउनुभयो।  उहाँले अरनिको राजमार्गको तामाघाटदेखि पाँचखाल चौकीसम्मको सडकलाई हरियाली सडक बनाउनका लागि करिब १६ करोड रुपियाँ बराबरको योजना अघि बढाइने बताउनुभयो। 

नगरप्रमुख खरेलले धुलिखेल अस्पतालसँग सहकार्य गरेर नगरभित्रका पिसाब चुहिने समस्या भएका बिरामीको उपचार र मोतीबिन्दुका बिरामी नभएको नगरपालिका बनाउनुका साथै महिलाका लागि निःशुल्क पाठेघार र स्तन क्यान्सरको शिविर राखिने बताउनुभयो। उहाँले नगरपालिकाभित्र रहेका कृषि तथा खेतीयोग्य जमिन जोगाउनका लागि कडा नियम ल्याइएको बताउँदै कृषिलाई आधुनिकीकरण कार्यक्रम तथा एकीकृत शत्रुजीव व्यवस्थापन (आएपीएम) पाठशाला सञ्चालन गर्ने, जैविक विषादी र मल बनाउन सहयोग गर्ने बताउनुभयो। 

नगरप्रमुख खरेलले नगरभित्र मौरी पकेट क्षेत्र, फलफूलको पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने, नगरभित्रको आजाद माविमा यस वर्षबाट कक्षा ९ देखि १२ सम्म कृषि विषयको पढाइ सुरु गरिने बताउनुभयो। उहाँले पलाञ्चोक भगवती मन्दिरको पार्किङ व्यवस्थापनका लागि ‘मेयर आना क्लब’ गठन गरी व्यक्तिको जग्गा खरिद गरी काम सुरु गरिएको बताउँदै पलाञ्चोक भगवती मन्दिरलाई देशकै प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको सुनाउनुभयो। सुनकोसी–पाँचखाल खानेपानीको ७० प्रतिशत काम सम्पन्न भएकाले नगरभित्र एक दर्जन डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइने भएको छ। 

“हामीले काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेर कृषि, आर्टिफिसिएल इन्टेलिजेन्टका कक्षा सुरु गरेका छौँ, नगरका लागि गौरवको विषय बनेको मदन भण्डारी विश्वविद्यालयका लागि आवश्यक जग्गा उपलब्ध गराउने छौँ,” नगरप्रमुख खरेलले थप्नुभयो। 

उहाँले नगरपालिकाको काफ्लेडिही, तामाघाट, अनैकोट र खट्टारलाई सुविधा सम्पन्न स्मार्ट सिटी बनाउने बताउँदै वडा नम्बर ७ मा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज)को समस्या समाधान गरिएकाले त्यसलाई औद्योगिक ग्राममा परिणत गरिने बताउनुभयो। उहाँले सिँचाइका लागि करिब साढे दुई अर्ब रुपियाँको योजना अघि सारिएको बताउनुभयो।