• ७ मंसिर २०८१, शुक्रबार

आफैँलाई छुटाउँदा (कविता)

blog

निधारमा स्यानो जूनको प्रतिमा 

र एक मुठ्ठी उज्यालो

त्यहीँबाट परावर्तित एक हरफ मुस्कान 

अनि विश्वासी पाइला लिएर हिँडेथेँ 

जो तिमीलाई मनपथ्र्यो ।

सिसाभित्र कैद ताजमहल

रङ्गीन गाताले मोरिएको मुनामदन

मधुमास बहने अत्तर 

हृदयभरि राग – वृन्दावनी सारङ्ग बोकेर आएथेँ 

यी सबै सबै तिमीलाई मन पर्थे ।

तिमीलाई प्रिय लाग्ने हर एक वस्तुवृत्ति

मलाई यसै पनि निको लाग्न थालेको थियो ।

केही थान योग्यताका प्रमाणपत्र

एउटा मनचिन्ते जागिर 

घामपानी छेक्ने फूलबुट्टे छाता 

साथमा एक बट्टा सिन्दूर खोकिलामा च्यापेर 

तिमीसम्म पुगेथेँ ।

तिम्रो फेबरेट लिस्टमा पर्ने सबथोक 

बटुल्दा बटुल्दा 

मैले आफैँलाई उतै छुटाई आएछु ।