• ७ मंसिर २०८१, शुक्रबार

विडम्बना (कविता)

blog

यथार्थको सङ्लो नदी

कहिल्यै आफ्नै गतिमा बग्न सक्दैन

र, धर्मराउँदै अस्तित्वको खोजमा

सत्य पनि उज्यालोकै प्रतीक्षामा हुन्छ

भो नगर्नुहोस् सवाल

बत्तीमुनि किन अँध्यारो हुन्छ ?

किन पहाड हाँस्दा पहिरो जान्छ ?

छचल्किदा पानी

किन बगाउँछ अनेकौँ बस्ती ?

जिज्ञासाको जटिलतामा

सृष्टिको रहस्य

जसरी बुझ्न कठिन छ

हो त्यसरी नै सायद जिन्दगी बुझ्न नसकेर

सम्बन्धको सौन्दर्य शास्त्र विभाजित छ ।

समयको डिलबाट

नियालेर जब हेर्न थालिन्छ– मान्छेको अनुहार

अनगिन्ती भेटिन्छ कुटिलताको चक्रव्यूह

सहजै पराजित भइरहेको देख्न सकिन्छ

आत्मीयताको न्यानो स्पर्श

बाँचेर अस्थिपञ्जर अनुभूति

घामको बलेसीमा थापेर आँसुको रापिलो पीडा

हिँड्नैपर्छ कुल्चेर आफ्नै मुटु

र, मरेर दिनदिनै बाँचेको अभिनय गर्नुपर्छ ।

भ्रमको हाटबजारमा

विवेकलाई बन्दक राखेर

बिक्री गरिन्छ विश्वासको पनि

आफ्नैबाट रेटिन्छ प्रेमको गला

र, तानेर आफन्तकै खुट्टा

मनाइन्छ विजय उत्सव ।

देखेर÷भोगेर समयको कुइनेटो

चाहेरै पनि किमार्थ

लेख्न सकिन्न जिन्दगीको किताबमा

‘नोट अफ डिसेन्ट’ ।