• ३० वैशाख २०८१, आइतबार

कला विज्ञानका डाक्टर

blog

नेपाली स्कुलिङमा कला विद्यार्थी तयार नपारिएसम्म नेपाली कलामा मौलिकता ल्याउन सकिँदैन।” कला विज्ञानका डाक्टर रामकुमार भौकाजीका जीवन भोगाइ, सिकाइ, प्रयोग, अध्ययन र अनुसन्धानका निष्कर्ष थिए यी। तत्कालीन शोभियत सङ्घमा कलाको विद्यावारिधिपछि नेपाल फर्केर डा. भौकाजीले नेपाली कलाको जग खोतल्न, खोज्न थाल्नुभयो। त्यही जगको आडमा नेपाली कला शैलीको विकासे गोरेटो खन्न तल्लिन हुनुभयो। यद्यपि त्यो गोरेटोमा पूर्णविराम लगाएर साउन ५ गते हामीबाट बिदा हुनुभएको छ, डा. रामकुमार भौकाजी।

खोतल्न बाँकी छ, उहाँले सिर्जना गर्नुभएका हजारौँ कलाकृति। खोज्नु छ, उहाँले खोज र अध्ययन गर्नुभएका सयौँ अनुसन्धानमूलक लेख रचना। “मुसाले खाएर बाँकी राखेको भए, मिलचोकको घरमा हुनुपर्छ। त्यो खोजेर संरक्षण गर्नेछौँ,” स्वर्गीय डा. भौकाजीका कान्छा भाइ साहित्यकार विमल भौकाजीको प्रतिबद्धता हो यो। डा. रामकुमार भौकाजीले नेपाली कलाको चारित्रिक विशेषताको व्याख्या गर्दै भन्नुभएको छ, “हरेक समाजसँग कलाको आफ्नै विम्ब र प्रभाव हुन्छ। विषयवस्तु जे भए पनि रङ र चित्रसंयोजनमा राष्ट्रिय पहिचान झल्कन्छ। नेपाली कलाको चारित्रिक विशेषता उज्यालो रङ र त्यसबाट उत्पन्न हुने न्यानोपन हो। त्यसभित्र विभिन्न व्यक्तिका शैली झल्कन सक्छ।” 

नेपाली कला शैलीको विकासमा डा. भौकाजीले लामो समय खर्च गर्नुभयो। उहाँले करिब २० हजार विद्यार्थीलाई युरोपेली शैलीमा नाप पद्धतिले रेखाचित्र कोर्न सिकाउनुभयो। पाटन, भक्तपुर र काठमाडौँका सम्पदा स्थलमा विद्यार्थीलाई घुमाउँदै पेन्सिलको सहायताले नाप पद्धतिबाट चित्र कोर्न सिकाउनुभयो। यो सिकाइबाट कुनै पनि वस्तुलाई क्यानभासमा यथार्थ चित्रण गर्न सकिने विश्वास उहाँमा थियो। विद्यार्थी सँगसँगै आफू पनि नाप पद्धतिबाटै रेखाचित्र कोर्नुहुन्थ्यो। आफूलाई चित्र कलाकार भन्न रुचाउने डा. भौकाजीले त्यही भएर आफ्ना अधिकांश चित्रकलामा राष्ट्रियताको झलक हुने र स्थानीयताको वास्ना हुन्छ भन्ने गर्नुहुन्थ्यो। 

आफ्नो हठ, ढिपी, जिद्दी नछाड्ने उहाँ अलि अक्कडो स्वभावको हुनुहुन्थ्यो। आफ्नो अध्ययन, विश्लेषण र ब्रह्मले ठह-याएको विषयमा डा. भौकाजी कहिल्यै सम्झौता गर्नुहुन्थेन। जे भन्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो। उहाँको कान्छा भाइ विमल भौकाजीले सम्झनुभएको एउटा घटना यस्तो छ, “नेपालस्थित विदेशी कूटनीतिज्ञकी श्रीमतीले डा. भौकाजीको चित्रकला हेर्न रहर गरिछन्। २५ वटाजति चित्रकला मूठो पारेर भाइको बाइक पछाडि बसेर डा. भौकाजी कूटनीतिज्ञको निवासमा पुगेछन्। ती कूटनीतिज्ञकी श्रीमतीले छान्दै १३ वटा चित्र छुट्याइछन्। कति पैसा हो भनेर सोध्दा डा. भौकाजीले म चित्र बेच्ने कलाकार होइन भनेर जवाफ दिनुभएछ। उनले प्रतिचित्र दुई हजार डलर दिने प्रस्ताव राखिछन्। डा. भौकाजीले मान्दै मान्नुभएन। अन्तिममा जति लिनुपर्छ पैसा लेऊ तर तीनवटा त देऊ भनेर प्रस्ताव गर्दा सबै चित्रकला मुठो पारेर डा. भौकाजी घरतिर फर्कनु भएछ।” घर फर्किएर आफ्नै भाइसँग डा. भौकाजी नराम्ररी झोक्किएछन्, “मैले जान्नँ भनेकै थिएँ नि, चित्र देखाउन मात्रै भनेर लगेको होइन ? म चित्र बेच्ने मान्छे हो ? चित्र बेचेर खाने मान्छे ठानिस् ?”

चित्र कलाकार भौकाजी यतिसम्म आफ्ना कलाप्रति प्रेम गर्नुहुन्थ्यो कि अरूलाई चित्रकला छुनसमेत दिनुहुन्थेन। धेरै आग्रह गरेपछि मात्रै तस्बिरसम्म खिच्न दिने गरेको विमल भौकाजी सम्झनुहुन्छ। २०७२ सालको विनाशकारी भूकम्पले हजारौँ निजी आवास ध्वस्त बने। ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका सयौँ सम्पदा जमिनमा विलीन भए। खासगरी काठमाडौँ उपत्यका र आसपासका जिल्लामा  पुरातात्त्विक सम्पदाको विध्वंस नै भयो। सम्पदाको सर्वनासले बेचैन बनेका कलामर्मज्ञ डा. रामकुमार भौकाजी झोलामा आर्ट पेपर, पेन्सिल र इरेजर बोकेर सम्पदास्थलतिर लुखुरलुखुर भौतारिन थाल्नुभयो। वसन्तपुर दरबार, सुन्दरीजल बन्दीगृह, भक्तपुर, ललितपुर, लुभू, बुङ्मती, नाला, टोखा चण्डेश्वरी, पशुपति विश्वरूपलगायत सम्पदास्थलमा पुगेर भत्किएका असरल्ल सम्पदाको रेखाचित्र तयार पार्नुभएको थियो । ‘महाभूकम्प–२०७२’ शीर्षकमा तयार पारिएका सम्पदाका केही रेखाचित्र साहित्यिक पत्रिका शारदामा प्रकाशित छन्। यद्यपि भूकम्पपछिको नेपाललाई लिएर कोरिएका रेखाचित्रको पुस्तक निकाल्ने उहाँको इच्छाचाहिँ अपूरै रहन पुग्यो। 

साहित्यकार विमलले डा. भौकाजीका केही चित्रकलालाई शारदा मासिकको आवरणपृष्ठसमेत बनाउनुभएको छ। विमल भौकाजीको सम्पादनमा प्रकाशित बालकथा ‘तिमीलाई मन पर्ने कथा’मा डा. भौकाजीका २० वटा रेखाचित्र सङ्कलित छन्। डा. भौकाजीले ‘मेरो नेपाल’ शीर्षकमा हजारौँ रेखाचित्र बनाउनुभएको छ। तिनको प्रदर्शनीसमेत विभिन्न देशमा भएका छन्। त्यति हुँदाहुँदै पनि देशका विभिन्न भागमा पैदल घुमेर तयार पारिएका थुप्रै रेखाचित्र कलापारखीले देख्नसमेत नपाएको अवस्था छ। आफ्ना कलाकृति देखाउँदा तस्बिर खिचेर दुरुपयोग गरिदिन्छन् कि भन्नेमा उहाँ सधैँ सचेत हुने गरेको विमल भौकाजी बताउनुहुन्छ। 

पछिल्ला केही दशक डा. भौकाजी कला समीक्षा, लेखन, इतिहासको खोज, अध्ययन र विश्लेषणमा व्यस्त रहनुभएको थियो। आफ्नो अध्ययन र विश्लेषणले देखेका कुरा कसैको दबाब र प्रभावमा नपरी प्रस्ट लेख्न र भन्न सक्ने हक्की स्वभाव उहाँमा थियो। त्यही कारण पनि उहाँलाई बेलाबखत विवादमा तान्ने प्रयास गरिन्थ्यो। कला समीक्षा गरेबापत राज्यको प्रशासनबाट लुकेर डा. भौकाजीले महिनौँ बस्नुसमेत परेको थियो। तत्कालीन अधिराजकुमारी श्रुतीको कलाप्रदर्शनी अवलोकनपछि डा. भौकाजीले एक साप्ताहिक पत्रिकामा त्यसको समीक्षा लेख्नुभएको थियो। 


त्यो समीक्षामा अधिराजकुमारी श्रुतीका गुरुकै चित्रकलालाई प्रदर्शनीमा राखिएको भन्ने गम्भीर प्रश्न उहाँले उठाउनुभएको थियो। प्रदर्शनीमा राखिएको चित्रकला त्यसअघि नै श्रुतीको गुरुको सङ्कलनमा उहाँले देखिसक्नुभएको थियो। त्यो समीक्षाले नेपाली कला क्षेत्रमा निकै खैलाबैला मच्चायो। मानिसले जिब्रो टोके, ला अब के हुने हो ? भयो पनि त्यस्तै, सोही कारण डा. भौकाजीमाथि तत्कालीन दरबारले गलत नजर राखेर खेद्ने काम ग-यो। उहाँले महिनौँ लुकेर ज्यान बचाउनुभयो। नेपाली कला क्षेत्रमा देखिएका गुट, समूहमा उहाँ कतैतिर देखिनुभएन। उहाँले नेपाली कला क्षेत्रमा स्वाभिमानको आफ्नै पहाड उठाउनुभयो। पुरस्कार र पदका पछि कहिल्यै नदगुर्ने, चाकडी र चाप्लुसीबाट टाढै रहन चाहने उहाँको स्वभाव र शैलीले नेपाली कला क्षेत्रमा एउटा मानक नै स्थापित गरेको छ भन्दा पक्कै बढी हुने छैन । पुरस्कारका लागि कहिल्यै पहल लिनु भएन। अरूले पहल लिएर दिलाइदिएको पुरस्कारसमेत उहाँले थाप्नुभएन। ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिका लागि प्रस्ताव आउँदासमेत “मेरो ढङ्गले, मेरो योजनामा काम गर्न दिने हो ?” भन्ने अड्को थापेर उहाँले प्रस्ताव लत्याइदिनुभयो। 

नेपाली कला समीक्षा र कलाप्रवृत्तिप्रति तिखो र कडा रूपमा प्रस्तुत हुने उहाँले आफ्नो पछिल्लो पुस्तक ‘समस्यामा नेपाली कला र कलाकर्मी’मा ‘नेपाली कलाकारले आफ्नै विशेषतासहितको शैली नभई विश्वका प्रचलित कलाविचार र शैलीलाई पछ्याउँदै तिनैको सतही नक्कल उतारेर’ सन्तोष मानिरहेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। 

राष्ट्रिय अभिलेखालय, राजधानीका पुस्तकालयमा बसेर अध्ययन, अनुसन्धान गर्नु र लेख्नु पछिल्ला दशकका उहाँका दिनचर्या थिए। ऐतिहासिक र सांस्कृतिक सम्पदास्थल घुमफिर गर्नु र कलाका विविध आयामबारे अध्ययन गर्नु उहाँको दैनिकी नै थिए। त्यही क्रममा जुद्धकला पाठशाला, स्रष्टा कुलमानसिंह भण्डारी र समस्यामा नेपाली कला र कलाकर्मी कृति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छन्।

‘कलाकारले ढाँट्नु हुन्न’ भन्ने मूलमन्त्र बोक्ने डा. भौकाजीले कहिल्यै पनि फोटोबाट पेन्टिङ बनाउनुभएन। सरकारले पढ्न पठाएर फर्किएका जनशक्तिलाई राज्यले उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने डा. भौकाजीको भावनालाई राज्यले चिन्न सकेन। राजनीतिक अव्यवस्थाले सिर्जना गरेको सामाजिक बेथितिप्रति बिरक्त डा. भौकाजी कुनै समय त्यही राजनीतिको झन्डा बोकेर हिँड्नुहुन्थ्यो। ललितकला क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको झन्डा गाड्ने एक्लो विद्यार्थी नेता, हुनुहुन्थ्यो, डा. भौकाजी। यद्यपि त्यसको राजनीतिक प्रतिफल लिनचाहिँ कहिल्यै लाग्नुभएन। 

२०२९ साल फागुन २४–२५ मा रामेछापको साँघुटार बजारमा पहिलो एकल चित्रकला प्रदर्शनी थाल्नुभएका डा. भौकाजीका चित्रकला केही देशमा मात्र सङ्कलनमा छन्। उहाँका कला निजी सङ्कलनमा प्रायः छैन नै। यतिसम्म कि उहाँका चित्रकला भाइका घरमा समेत सङ्कलनमा छैनन्। 

भक्तपुरबाट व्यापारको सिलसिलामा रामेछापको साँघुटार पुगेका भौकाजी परिवारमा २००८ साल जेठ ५ गते रामकुमार भौकाजी जन्मनुभएको हो। साँघुटारको शैक्षिक र सामाजिक विकासका साथै व्यवसायमा सक्रिय भीमबहादुर भौकाजीका दुई परिवार थिए। जेठी नैनकुमारी भौकाजीका पाँच भाइ छोरा र दुई छोरीमध्ये जेठा रामकुमार भौकाजी सानैदेखि व्यापारभन्दा सिर्जनातिर सक्रिय बन्नुभयो। लिखु खोलाको किनारमा रहेको साँघुटारमा हुने जात्रा, पर्वमा धार्मिक एवं सामाजिक नाटक प्रायः देखाइन्थे। ती नाटकमा अभिनय होइन, रामकुमारको ध्यान मञ्च, प्रकाश व्यवस्थापन र नाटकको दृश्य संयोजनतिर जान्थ्यो।


सानैदेखि फोटोग्राफीमा त उहाँको रुचि थियो नै। नाटकका पोस्टर बनाउने जिम्मा पनि उहाँको नै हुन्थ्यो। फोटो खिच्नु र फोटो प्रिन्ट गर्ने काम (धुलाउनु)मा उहाँ पोख्त नै हुनुहुन्थ्यो। नाटकमा दृश्य परिवर्तन हुँदा होस् या नाटकका संवादले मागेको परिदृश्य व्यवस्थापनलाई रामकुमार सिर्जनात्मक बनाउन तल्लिन बन्नुहुन्थ्यो। उहाँका कान्छा भाइ विमल भौकाजी सम्झनुहुन्छ, “प्रायः राति देखाइने नाटकमा पेट्रोम्याक्स (मैन्टोल) प्रयोग हुन्थ्यो। पेट्रोम्याक्सलाई साना प्वाल पारिएको टिनको कभर लगाएर मञ्चतिर लाइट फाल्ने व्यवस्था रामकुमार दाइले मिलाउनुहुन्थ्यो।”

मञ्चमा फालिने लाइटलाई रङ्गीन बनाउन टिनको प्वालमा रङ्गीन प्लास्टिकसमेत रामकुमारले प्रयोग गर्नुहुन्थ्यो रे। काठमाडौँमै विद्यालय शिक्षा पूरा गरेकाले पनि सायद उहाँमा कलाका केही सिकाइ थिए। त्यसको प्रभाव साँघुटारमा दिने प्रयास उहाँको थियो। यी घटनाक्रमले पनि सानैदेखि रामकुमारको लगाव रङ, दृश्य र कलाप्रति थियो भन्ने स्पष्ट पार्छ। 

२०१८ सालमा काठमाडौँ आएपछि पद्मोदय विद्यालयबाट रामकुमारको प्रारम्भिक शिक्षा सुरु भयो। २०२५ सालमा सोही विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएपछि रुचिअनुसार ललितकला क्याम्पसमा भर्ना हुन पुग्नुभयो। सोही क्रममा २०३२ सालमा रसियामा कला विषय पढ्न छात्रवृत्ति पाउनुभयो। मास्को स्टेट आर्ट इन्स्टिच्युटबाट चित्रकलाको अध्ययन सकेर २०४५ सालमा नेपाल फर्केपछि नेपाली कलाको मौलिक शैली र पहिचानको खोजीमा डा. भौकाजी जुट्नुभयो। यद्यपि त्यो अभियानमा राज्य र सरोकार निकायले खासै चासो राख्न सकेन। रक्सी पिउन, कपडा फेर्न, पारिवारिक जीवन सुरु गर्न कहिल्यै रुचि नदेखाएका डा. भौकाजीका घुमक्कड साथी थिए, साहित्यकार रमेशजङ्ग सिजापति। उहाँको लत नै भनौँ, घुम्नु, चित्र कोर्नु, कला इतिहासको अध्ययन गर्नु नै थियो । डा. भौकाजीको घुमन्ते र खानपानको दैनिकी सन्दर्भमा विमल भौकाजीले सुनाउनुभयो, “उहाँले काठमाडौँमा नघुमेको डाँडा छैन, नखाएको बिस्कुट छैन।”