मध्यरातको चकमन्नता चिर्दै मोबाइलको घन्टी बज्यो । निद्राले भारी भएका आँखा मिच्दै फोन उठाएँ,
“हेलो ?”उताबाट आएको आवाज चिच्याहट, सुँक्क सुँक् क र एक अव्यक्त पीडाको कारुणिक मिश्रण थियो । “नानी... नानी शोभा... म कृष्णप्रसाद... मलाई बचाउनुहोस् नानी, म बर्बाद भएँ !” कृष्णप्रसाद काका, उमेरले ७८ वर्षका; जसको आवाजमा मैले सधैँ एउटा बौद्धिक शालीनता र स्नेहको न्यानोपन महसुस गरेको थिएँ; आज यतिविघ्न निरीह, भयभीत र आहत सुनिनुभएको थियो । मेरा लेख र सामाजिक कार्यका उहाँ नियमित शुभचिन्तक । उहाँको यस्तो अवस्थाले मेरो मन एकैछिनमा चिसो भयो, कुनै अशुभ घटनाको सङ्केतले झस्कायो । “काका, के भयो ? तपाईं कहाँ हुनुहुन्छ ? किन यस्तो आवाज आइरहेको छ ?” “नानी, म लन्डनको भिक्टोरिया कोच स्टेसन (बसपार्क) बाहिरको चिसो बेन्चमा छु... अलपत्र परेँ... छोराले... नातिनीले...” वाक्य पूरा हुन नपाउँदै उहाँको गला अवरुद्ध भयो । गह्रौँ सास फेरेको आवाज फोनमा प्रस्टै सुनिन्थ्यो । मैले आफूलाई समाल्दै धैर्य दिलाउने प्रयास गरेँ, “काका, नआत्तिनुहोस् । कृपया शान्त हुनुहोस् र बिस्तारै भन्नुहोस्, के भयो ? म सुन्दै छु ।”
कृष्णप्रसाद काकाले हृदयविदारक जुन कथा सुनाउनुभयो, त्यो सुनेर कुनै पनि संवेदनशील मान्छेको मन छिया छिया हुन्छ । रगतको नाता कतिसम्म क्रूर र स्वार्थी हुन सक्छ भन्ने कहालीलाग्दो यथार्थ नाङ्गो भएर अगाडि उभिन्छ, अनि ‘विकसित’ भनिएको समाजको मानवीय पाटोमाथि नै गम्भीर प्रश्न उठ्छ ।
लगभग चार महिनाअघिको कुरा हो । लामो समयदेखि युकेमा बसोबास गरिरहेका छोरा रमेश, बुहारी सुनिता र विशेष गरी अलि ठुली भइसकेकी नातिनी आरुषीले कृष्णप्रसादलाई ठुलो करकाप र मिठो स्नेह देखाएर बोलाएका थिए । श्रीमतीको निधनपछि एक्लिएका कृष्णप्रसादलाई नातिनी आरुषीले भिडियो कलमा बारम्बार भन्थी, “हजुरबुवा, यता आउनुहोस् न, मलाई हजुरको धेरै याद आउँछ । यहाँ घुम्ने कति राम्रा ठाउँ छन्, हामी सँगै घुम्न जाऊँला । छ महिनाको भिसा छ, हजुरआमाको सम्झना पनि कम हुन्छ, हामी हजुरको ख्याल राख्छौँ ।” नातिनीको तोते बोली र छोराको आग्रहले कृष्णप्रसादको मन पग्लियो ।
पोखरा फेवाताल किनारको सुन्दर घर, जग्गाजमिन, बर्सौंदेखिका इष्टमित्र र आफ्नी दिवङ्गत जीवनसङ्गिनीका याद सबैलाई मनको एक कुनामा थन्क्याएर, मनभरि नातिनातिनासँग रमाउने र छोराको प्रगति हेर्ने उत्साह बोकी कृष्णप्रसाद सात समुद्रपारि लन्डन आइपुग्नुभएको थियो । सुरुका केही हप्ता त सपना जस्तै बिते । नातिनी आरुषीको चकचक, छोराबुहारीको आदर सत्कार, लन्डनका रमणीय पार्क र सङ्ग्रहालयको भ्रमणले उहाँको मन प्रफुल्लित थियो । उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी भए पनि छोराछोरी र विशेष गरी नातिनीको साथले उहाँलाई नयाँ ऊर्जा र जीवनको मोह दिएको थियो । उहाँले सोच्नुभएको थियो, “श्रीमतीले छोडेर गए पनि सन्तान र नातिनातिनाले त माया गर्दा रहेछन् ।”
तर, यो खुसीको इन्द्रेणी धेरै दिन टिकेन । घाम अस्ताएपछि जुन उदाए झैँ वा भनौँ स्वार्थको कालो बादलले स्नेहको उज्यालोलाई ढाके झैँ, देखावटी आदरको पर्दा च्यातिँदै गयो र यथार्थको कुरूप, स्वार्थी अनुहार छर्लङ्ङ देखिन थाल्यो । सुरुमा बुहारी सुनिताको व्यवहारमा हल्का परिवर्तन आयो, जुन पछि गएर नातिनी आरुषीमा पनि सल्कियो । कृष्णप्रसादले टिभीको आवाज ठुलो बनाएकोदेखि, उहाँले खानेकुरामा लगाएको नुन–चिनीको मात्रासम्म, हरेक सानो–ठुलो कुरामा टिप्पणी र अनावश्यक किचकिच हुन थाल्यो । “हजुरबुवा, तपाईं कति हल्ला गर्नुहुन्छ, मेरो पढाइ डिस्टर्ब हुन्छ,” पहिले मायाले अँगालो हाल्ने नातिनी अब झर्किएर बोल्न थाली । “बुढा मान्छे, अलिकति पनि सफासुग्घर बस्न नजान्ने, यस्तो पनि खाने तरिका हो ?” जस्ता वचन बुहारीको मुखबाट निस्कन थाले । छोरो रमेश पनि प्रायः मौन रहन्थ्यो वा कहिलेकाहीँ श्रीमती र छोरीकै भाषा बोल्थ्यो, “बुवा ! अलिकति बुझ्नु प¥यो नि, यहाँको ‘लाइफस्टाइल’ फरक छ ।”
एक साँझ, खाना खाएपछि, कुरा घुम्दैफिर्दै सम्पत्तिमा पुग्यो । “बुवा ! पोखराको त्यो फेवातालछेउको घर र जग्गा आरुषीको नाममा पास गरिदिनु प¥यो,” रमेशले अलि हच्किँदै तर दृढ स्वरमा भन्यो, “उसको भविष्यका लागि पनि हुन्छ, हामीले यताबाट के नै गर्न सकेका छौँ र ?”
कृष्णप्रसाद छक्क पर्नुभयो । श्रीमती बितेपछिको एक्लोपन, परदेशको नौलो परिवेश र अब आफ्नै छोराको यस्तो प्रस्ताव ! उहाँले समालिँदै भन्नुभयो, “बाबु ! म मरेपछि सबै तिमीहरूकै त हो नि ! आरुषी मेरै रगत हो, उसका लागि त म ज्यान पनि दिन तयार छु तर अहिले नै किन नामसारी ? मलाई नेपाल फर्केर त्यही घरमा, मेरी श्रीमतीका यादसँगै अन्तिम सास फेर्न मन छ । अलिकति सम्पत्ति हुँदा आफूलाई पनि सहारा हुन्छ, कसैको अगाडि हात थाप्नु पर्दैन । आखिर म कति नै बाँच्छु र अब ?”
कृष्णप्रसादले यति बोल्न नपाउँदै बुहारी सुनिता रिसले चुर भइन्, “आफ्नो लागि मात्रै सोच्ने ! हामीलाई चाहिँ केही नचाहिने ? छोरीको भविष्यको चिन्ता छैन ? यत्रो पैसा खर्च गरेर, समय दिएर युके बोलाएको के सित्तैमा स्याहारसुसार गर्नलाई हो ? कि घुमाउनलाई मात्र ?” उनले मुख छाडिन्, शब्दहरू छुरी जस्तै बिझ्ने थिए । कुरा यतिमा मात्र सीमित रहेन । अर्को दिन त झन् नातिनी आरुषी, जो हिजोसम्म “हजुरबुवा, हजुरबुवा” भन्दै काखमा लुट्पुटिन्थी, उसले हजुरबुवाको कोठामा आएर भनी, “ग्य्रान्डपा, ड्याड र ममले भनेको मान्नुस् न, नत्र तपाईंलाई यहाँ बस्न गाह्रो हुन्छ ।” यो सुनेर कृष्णप्रसादको मन छिया छिया भयो । आफ्नै रगतले यस्तो बोल्दा कस्तो हुन्छ होला !
त्यो रात कृष्णप्रसादका लागि कालरात्रिभन्दा कम थिएन । आफ्नै छोरो, जसलाई दुःखकष्ट सहेर पढाए, लेखाए, विदेश पठाए, आज उही छोरो पराइभन्दा निष्ठुरी बनेको थियो । बुहारीको व्यवहार त शत्रुको भन्दा चर्को थियो, र सबैभन्दा ठुलो चोट त नातिनीको बदलिएको व्यवहारले दिएको थियो । “तपाईं तुरुन्त नेपाल फर्किहाल्नुस् । यहाँ एकछिन पनि बस्न मिल्दैन । सुनिता र आरुषी दुवै तपाईंको व्यवहारले आजित भइसके,” रमेशले अन्तिम फैसला सुनायो, मानौँ उनी न्यायाधीश हुन् र कृष्णप्रसाद अपराधी ।
“बाबु ! मेरो त छ महिनाको भिसा छ । यति चाँडै कसरी फर्किनु ? टिकटको व्यवस्था मिलाइदेऊ न त, म केही दिनमा निस्किहाल्छु”, कृष्णप्रसादले लगभग गिड्गिडाउँदै भन्नुभयो ।
“टिकट सार्न वा नयाँ किन्न मसँग अहिले पैसा छैन । तपाईंलाई आफन्तकोमा जानु छ भने भन्नुस्, बसको टिकट काटिदिन्छु, नत्र आफ्नो व्यवस्था आफैँ गर्नुस्”, छोराको रुखो, गैरजिम्मेवारपूर्ण जवाफले कृष्णप्रसादको मुटु छेड्यो ।
अन्त्यमा छोराले लन्डनबाट म्यान्चेस्टरमा रहेका कृष्णप्रसादका एक जना टाढाका नातेदारकहाँ जानका लागि नेसनल एक्सप्रेस बसको टिकट काटिदियो र हातमा एउटा पुरानो, साधारण मोबाइल थमाइदियो, जसमा थोरै मात्र ब्यालेन्स थियो । “यो लिनुस्, बाटोमा कसैलाई सम्पर्क गर्नु प¥यो भने काम लाग्छ ।” सायद यो उसको अन्तिम ‘सद्भाव’ थियो, वा भनौँ जिम्मेवारीबाट पन्छिने एउटा सजिलो उपाय ।
त्यही बसयात्राका क्रममा कृष्णप्रसादले म्यान्चेस्टर जाने बस समात्नुपर्ने थियो तर उहाँ भिक्टोरिया कोच स्टेसनमा अलमलिनुभयो । रातको समय, नयाँ र विशाल सहर, अङ्ग्रेजी भाषा राम्रोसँग नबुझ्ने, मनभरिको असह्य पीडा र अपमानबोधले उहाँले सही प्लेटफर्म पत्ता लगाउन सक्नुभएन । नातेदारलाई फोन गर्दा सम्पर्क हुन सकेन । अनि जीवनमा कहिल्यै नसोचेको त्यो क्षणमा, अन्तिम आशाको त्यान्द्रो समातेर उहाँले मलाई सम्झनुभएछ, मेरा लेखहरू पढेर उहाँले कैयौँ पटक समाजसेवाको भावनाको प्रशंसा गर्नुभएको थियो ।
उहाँको कारुणिक कथा सुनेर मेरो मन स्तब्ध र आक्रोशित भयो । तत्कालै मैले भनेँ, “काका, एकछिन नआत्तिनुस्, म केही व्यवस्था मिलाउने प्रयास गर्छु । तपाईंको छेउमा कोही हुनुहुन्छ ? वा कोच स्टेसनको कुनै कर्मचारीलाई फोन दिन सक्नुहुन्छ, म कुरा गर्छु ।” उहाँले छेउमा रहेका एक जना सहयोगी देखिने व्यक्ति, जो सायद अर्को बस कुरिरहेका थिए, उनलाई फोन दिनुभयो । मैले ती अपरिचित मित्रलाई कृष्णप्रसाद काकाको अवस्था, उहाँको म्यान्चेस्टरसम्मको टिकट र उहाँको मानसिक तनावबारे अङ्ग्रेजीमा बताएँ र मानवीय नाताले सहयोग गरिदिन अनुरोध गरेँ । ती सज्जनको सहयोग गर्ने आश्वासनले मेरो मनलाई केही हलुङ्गो बनायो । मैले उनलाई हृदयदेखि धन्यवाद दिएँ । कृष्णप्रसाद काकालाई सम्झाउँदै भनेँ, “काका ! उहाँले तपाईंलाई सहयोग गर्नुहुन्छ । तपाईं उहाँसँगै बस्नुस् र उहाँले भने अनुसार गर्नुस् । म्यान्चेस्टर पुगेपछि मलाई तुरुन्त फोन गर्नुहोला । कुनै पनि समस्या परे म छु, हामी नेपाली एकअर्काका लागि छौँ ।”
बस छुट्न अझै केही समय बाँकी थियो । फोनमा कृष्णप्रसाद काकाले रुँदै थप्नुभयो, “नानी ! मेरी श्रीमती बितेपछि म एक्लो भएको थिएँ तर यतिसम्म होला भन्ने सोचेको थिइनँ । छोरो रमेश सानो छँदा कति ज्ञानी थियो, उसका लागि मैले के मात्र गरिनँ र ! नेपालमा हुँदा त फोनमा कति मिठो बोल्थ्यो; ‘बुवा हजुरलाई यहाँ ल्याएर पाल्छु, सुख दिन्छु’ भन्थ्यो । यहाँ आएपछि के भयो कुन्नि ! पोखराको घरघडेरी सबै मेरै नाममा छ, श्रीमतीले पनि मेरै नाममा गरिदिएकी थिइन् । छोरो यहाँको नागरिक हो, बुहारी पनि त्यस्तै होला । नातिनी यहीँ जन्मेकी, हुर्केकी । सम्पत्तिकै लागि, त्यो पनि आफ्नै बुवासँग यस्तो निच व्यवहार गर्नु पर्छ ? म मरेपछि आखिर उनीहरूकै त हो नि ! अब त मलाई यो बेलायत पनि चाहिँदैन, फर्केर पनि आउँदिनँ । यस्तो हेला, यस्तो अपमान, यस्तो तिरस्कार गर्नेले किन बेलायतमा बोलाएको होला ? यस्ता पनि सन्तान हुन्छन् ? यस्ता पनि नातिनातिना हुन्छन् ? आफ्नै हजुरबालाई सम्पत्ति नदिए घरबाट निकाल्न तयार हुन्छन् ? यस्ता पनि छोराको नाममा कुपुत्र हुन्छन् ? बुवा भनेर नेपाल आए ठिकै छ, नत्र अब त्यतिसारो अपमान गर्ने, सडकमा अलपत्र पार्ने छोराले के हेर्ला, के माया गर्ला ? यो कलियुगकी बुहारी र स्वार्थी नातिनीको त के मुख हेर्नु र अब ?”
उहाँका प्रत्येक शब्दमा पीडा, धोका, आक्रोश र गहिरो निराशाको छाप थियो । एकातर्फ आफ्नै सन्तानबाट यसरी चरम उपेक्षित र अपमानित हुनुभएका एक वृद्धलाई मध्यरातमा सहयोग गर्न पाएकोमा एक किसिमको मानवीय कर्तव्य पूरा गरेको अनुभूति थियो भने, अर्कोतर्फ यो कहालीलाग्दो घटनाले मेरो मन भारी, दुःखी र क्रोधित भएको थियो । जन्म दिने मातापितालाई बोझ सम्झने, उनीहरूको भावना, सम्मान र आवश्यकतालाई पैतालामुनि कुल्चने यस्ता सन्तान र नातिनातिनाहरूले कुन नैतिकताको पाठ सिकेका होलान् ? सम्पत्तिको लोभ र भौतिक सुखको लोकमान्य आफ्ना वृद्ध बुवाआमालाई यसरी सडकमा अलपत्र पार्नेले कुन धर्म कमाउलान् ? कुन शान्ति र मोक्ष पाउलान् ?
मैले कृष्णप्रसाद काकालाई आश्वासन दिएँ, “काका, तपाईं अहिले म्यान्चेस्टर पुग्नुहोस् । त्यहाँका आफन्तसँग कुरा गर्नुहोस् । नेपाल फर्किने बेलामा टिकट सार्न वा अन्य कुनै आर्थिक वा व्यवस्थापकीय समस्या परे मलाई निर्धक्क भएर भन्नुहोला । तपाईं एक्लो हुनुहुन्न, हामी तपाईंको साथमा छौँ । आवश्यक परे यहाँको नेपाली दूतावास र नेपाली समुदाय संस्थासँग पनि समन्वय गर्न सकिन्छ ।”
उहाँले काँपिरहेको आवाजमा “हुन्छ नानी, तिम्रो गुन म कहिल्यै बिर्सन्नँ” भनेर फोन राख्नुभयो । थाहै नपाई मेरा आँखा रसाएछन् । कृष्णप्रसाद काकाको आँसुले उहाँका ती निर्दयी छोरा, बुहारी र नातिनीलाई नपोलोस् भन्न पनि सकिनँ तर मनमनै कामना गरेँ, उनीहरूमा एक दिन अवश्य सद्बुद्धि पलाओस् र आफ्नो गल्तीको पश्चात्ताप गर्ने अवसर मिलोस् ।
यो घटनाले रातभर निदाउन सकिनँ । निद्राको आसमा रात छ्याङ्ग भयो ।