गाउँको पुरानो घर छोडेर आएँ
सहरमा
नयाँ घर बनाउने सपना लिएर
सबै प्रियजन छोडेर आएँ
जीवनका यी मोडहरूमा
नयाँ नातासम्बन्धको सेतु
मनदेखि मनसम्म जोड्न
न पुरानो अलिखित समयसँग ओझेल भएर
सबै आफ्नो पुरानो इतिहासलाई टेकेर
नयाँ इतिहास लेख्न हतास छु ।
किन अचेल
मेरो पुरानो इतिहास बोकेको
घर ओझल भइरहेछ
किन मेरो प्रियजनको अगाध प्रेम
बैरी बनिरहेछ ।
सर्पले काँचुली फेरे जस्तै
मैले पनि फेरेँ आफूलाई
सादा सोझो जीवनका पाटाहरूमा
कृत्रिम रङ लगाएँ आधुनिकताको
उही मान्छे म !
समयको ऐना हेर्छु ।
कति बेग्लै भएछु
नयाँ आफन्तबिच एक्लो भएछु
म पुरानो घर छोडेर
नयाँ घर बनाउन हिँडेको मान्छे
न पुरानो घरबाट टाढा हुन सकेँ
न नयाँ घरमा रमाउन सकेँ
पुरानो सम्बन्धबाट ओझेल भएर
नयाँ सम्बन्धमा खुसी हुन सकेँ
म कसैको हुन सकिनँ
कोही मेरो प्रिय हुन सकेनन् ।
फगत
नयाँ सहरमा एक्लो र बिरानो भएर
बिरामी सपना लिएर बाँचिरहेछु ।