• १८ जेठ २०८२, आइतबार

देवाली पूजा कुल रक्षाको उत्सव

blog

देवाली मनाउन छुटेका वा देवाली मनाउने तिथिमिति थाहा नभएका व्यक्तिले सिठीकै दिनमा देवाली मान्ने परम्परा छ । सिठी पनि लिच्छविकालीन षष्ठी पूजाको उपज हो । यस दिन कार्तिकेय कुमारको पूजा गरी सबैका घर घरमा बारा, चटामरी (चामलको पिठोलाई गिलो गरी बनाइएको रोटी) बनाई खाने र पानीको मुहान, कुवा इनार, पोखरी, धारा सफा गरी मनाउने गरिन्छ ।

नेवाः समुदायमा कुललाई सम्झेर देवाली मान्ने परम्परा परापूर्वकालदेखि रहिआएको छ । देवालीमा दिगुद्यः को पीठ पूजा हुने गर्छ । यस किसिमको पूजालाई नेपाल भाषामा दिगुपूजा, देगुपूजा वा दिगिपूजा भन्ने गरिन्छ । समग्रमा यस पूजालाई देवाली भन्ने गरिन्छ । 

गैरनेवाः समुदायमा पनि कुलपूजा अर्थात् देवाली मान्ने गरिन्छ । आफ्नो कुलको देवतालाई सम्झेर गरिने पूजा भएकाले यसलाई कुलपूजा भनिएको हो । कुलपूजा गर्दा कुलदेवतालाई बोका, हाँस बलि दिई पूजा गर्ने गरेको पाइन्छ । 

इतिहास 

मानव सभ्यताको सुरुवातदेखि नै विभिन्न मानव समुदायले आआफ्ना कुलको शान्ति, कल्याण तथा सिद्धिका लागि पूजा तथा होम यज्ञादि गर्दै आइरहेका छन् । आफ्नो पुर्खालाई सम्झिने वा सम्मान व्यक्त गर्दै पूजा गर्ने चलन सबै जातजातिमा आआफ्नै छन् । तिनका आफ्नै तौरतरिका र मान्यता छन् । आर्य संस्कृतिमा मात्र नभएर किराँत संस्कृतिमा कुलपूजाको परम्परा भेटिन्छ । मानिसहरू पारिवारिक जीवनमा मिलीजुली बस्न थालेदेखि कुलपूजाको संस्कार सुरु भएको मान्न सकिन्छ । लिच्छविकालमा राजाहरूले मनमानेश्वरी देवी र तारिणी देवीलाई कुलदेवताका रूपमा मान्ने गरेको इतिहासमा उल्लेख छ । हाँडीगाउँमा अंशुवर्माको संवत् ३० ज्येष्ठ शुक्ल षष्ठीको अभिलेखमा कुलदेवताको उल्लेख गरिएको छ । राजकुलमा मान्ने कुलदेवतालाई तीन पुराण एक पण मुद्राको भाग छुट्याइदिएको कुरा यस अभिलेखमा परेको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, सं. २०३०, पृ. ३०१) । त्यस समय राजकुलमा कुलदेवता मान्ने गरिन्थ्यो भन्ने कुरा यसबाट पुष्टि हुन्छ । मल्लकालमा पनि देवाली मान्ने परम्पराले निरन्तरता पाएको देखिन्छ । जयस्थिति मल्लको शासनकालमा नेपाल संवत् ५०३ मा धर्म मल्लदेवको विवाह भएको, त्यसको नौ दिनपछि देघुरीपूजामा जानुभएको र पूजामा छ वटा राँगा बलि दिएको कुरा गोपालराज वंशावलीमा उल्लेख छ । त्यस समयको देघुरीपूजा नै आजको दिगुपूजा हो भन्न सकिन्छ । मल्ल राजाले तलेजु भवानीलाई कुलदेवता मानी पूजा गर्ने चलन थियो । पछि बिस्तारै कुलको पूजाका रूपमा देवाली पूजा गर्ने परम्परा विकास हुँदै आएको देखिन्छ ।  

कुलदेवता 

विशेष गरी देउराली वा यस्तै अन्य साझा ठाउँमा कुलपूजा गरिँदै आएको पाइन्छ । कुलपूजा गर्दा अरू देवदेवीको जस्तो मूर्तिको पूजा नगरी खुला ठाउँमा जमिनमुनि गाडेर राखेको ढुङ्गा वा कसै कसैले खोलाको ढुङ्गालाई ल्याएर कुलको अदृश्य शक्तिलाई कुलदेवता मानी पूजा गरिन्छ । कुलदेवताको पूजाका कारण कुलको शक्ति प्राप्त हुने मान्यताका कारण नेवाः समुदायमा दिगुद्यः (कुलदेवता) को पूजालाई अनिवार्य गरिएको छ । कुलदेवता पूजावादी सिद्धान्त अनुसार कुलदेवताको रूपमा आगमद्यः पूजा, दिगुपूजा वा देवाली, अजिमा शक्तिपीठको पूजा, मःनी नखः (दसैँ) मा अष्टमातृका पूजा, स्वस्थानीदेवीको पूजा गरेमा शक्ति प्राप्त हुने विश्वास गरिन्छ । देवालीमा कुलदेवताको पूजासँगै अग्नि, जल, वायु, सूर्य र वनस्पतिको पनि पूजा गरिन्छ । यसरी कुलदेवता, इष्टदेवता वा अन्य देवदेवीको खास तिथि वा दिनमा गरिने पूजा, उपासना नै देवाली हो । 

कुलदेवताको पूजा गर्दा आचरण, विनय, विद्या, प्रतिष्ठा, दर्शन, निष्ठा, वृत्ति, दान जस्ता गुण भएको सात पुस्तासम्मको कुललाई सम्झेर पूजा गरिन्छ । त्यो नै वास्तवमा देवाली वा कुलपूजा हो । आफ्नो कुल संस्कृति र संस्कारको परम्परा जीवित बनाई समाजमा पारिवारिक एकता बनाइराख्न गरिने कुलको पूजालाई नै देवाली पूजाका रूपमा लिन सकिन्छ । नेपाल भाषामा यसलाई दिगु पूजाका रूपमा लिने गरिन्छ । अहिले अपभ्रंश भई देगु पूजा, दिगी पूजा, दे पूजा, देवाली पूजा जस्ता शब्द चलनचल्तीमा आउन थालेका छन् ।  

नेपालीको एउटै कुल, वंश, जात नहुने भएकै कारण सबैको कुलदेवता फरक फरक हुन्छ । नेवाः समुदायमा मान्ने दिगुद्यः वा कुलदेवताको कुनै मूर्ति नभई अमूर्त रहेको हुन्छ । आफ्नो कुल, वंशका परिवारको सदस्यले आफ्नो कुलदेवताबाहेक अरूको कुलदेवतालाई चिन्न सक्दैन । समान भुजा भएको त्रिभुज आकारको ढुङ्गामा किकिपासहितको कुलदेवता स्थापना गरिएको हुन्छ । नेवाः समुदायमा देवाली पूजाको दिन किकिपा आफ्नो कुलदेवतालाई पहिर्‍याएर पूजा गर्ने परम्परा छ । किकिपा खड्ग आकारमा चाँदीको पाताबाट बनाइएको हुन्छ; जसलाई सर्वोच्च शक्तिको सङ्केतका रूपमा लिइन्छ । किकिपाले देवीको अमूर्त स्वरूपको प्रतिनिधित्व गरेको हुन्छ (सिद्धिबहादुर रञ्जितकार, कुमारी : मल्टिफेसेटेड लिभिङ गडेस, सन् २०२२, पृ. २१–२३) । 

खास गरी कुलदेवताको कुनै प्रतिमा वा आकृतिसहितको मूर्ति हुँदैन । त्यसो हुँदा यसको वास्तविकतालाई कसैले चिन्न सक्दैन । आफ्नो कुलदेवतालाई कसैले चिन्न नसकोस् वा अरूले चिनेर हानि, नोक्सानी पु¥याउन नसकोस् भनेर पीठका रूपमा स्थापना गरिएको हुन्छ । नेवाः समुदाय आफ्नो कुलदेवतालाई बाहिर खुला रूपमा प्रकट गर्न चाहँदैन । आआफ्ना कुलमा आआफ्ना कुलदेवताको मात्र पूजा हुने हुँदा अरूको कुलदेवतासँग चासो रहँदैन । 

कुलदेवताको स्थापना कुनै सार्वजनिक चौर, जङ्गल, पोखरीको डिल जस्ता खुला ठाउँमा गरिएको हुन्छ । ढुङ्गाको तोरण बनार्ई वा गोलो ढुङ्गा जमिनमुनि गाडेर पीठको स्वरूपमा गरिएको हुन्छ । लिच्छवि राजा गुणकामदेवको पालामा आठौँ शताब्दीतिर पीठ स्थापना गर्ने चलन सुरु भएको मानिन्छ । कुलदेवताको पीठमा छाना हाली मन्दिर बनाइएको हुँदैन तर अहिले पीठमा मन्दिर बनाउने चलन पनि आएको छ । वास्तवमा कुलदेवताको पीठ शक्तिमान् देवी तलेजु भवानी वा जीवित देवी कुमारीको अमूर्त स्वरूप हो भन्ने धार्मिक मान्यता रहिआएको छ । 

कुलदेवतालाई कुलको रक्षकका रूपमा लिइन्छ । सोही देवतालाई सम्झी पूजा गर्ने परम्पराका रूपमा अहिले सबैले देवाली मान्दै आएका छन् । देवालीमा कसैले कुलदेवतालाई बाजागाजासहित पूजास्थलमा लान्छन् त कसैले सामान्य रूपमा लाने गर्छन् । प्रत्येक वर्ष आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै कुल शान्तिका लागि कुलदेवताको पूजा गर्दै देवाली मान्ने परम्परा छ । परिवारको सुख, शान्ति तथा प्रकृतिसँग सामना गर्ने आधार शक्ति प्राप्तिका लागि पनि कुलदेवताको पूजा गरिन्छ । कसै कसैले वेदको विधिबाट शान्त रूपमा देवाली पूजा गर्ने गरेको पाइन्छ । कसैले तान्त्रिक विधिबाट पशुबलिसहित पूजा गर्ने गरेका छन् । 

देवाली पूजाका लागि जग्गा राखी आफ्नो रगतको नाताको वंशभित्र रही मान्न पाउने गरी पारिवारिक निजी गुठी पनि स्थापना गरिएको हुन्छ । यसै गुठीमा सबै परिवारका सदस्य संलग्न भई वर्षको एक पटक देवाली मान्ने गरिन्छ । देवालीमा दिगुद्यः वा कुलदेवताको पूजा खास गरी आइतबार र बिहीबार गर्नु उत्तम मानिएको छ । कुलदेवताको पूजा सामान्यतः दक्षिण फर्केर गरिँदैन । पूजा गर्दा कुलदेवतालाई मुस्वाँ र धँचास्वाँ नामको फूल चढाई पूजाआजा गरिन्छ । कुलपूजासँगै प्रकृति पूजाका रूपमा पनि देवाली मान्ने गरिन्छ । यो पूजा प्रत्येक वर्ष मङ्सिर शुक्ल पक्ष, धान्यपूर्णिमादेखि ज्येठ शुक्ल पक्ष कुमार षष्ठी, सिठीनखःसम्म सकाउनुपर्ने मान्यता छ । नेवाः समाजमा कसैले धान्यपूर्णिमापछि, कसैले अक्षय तृतीयाको दिनदेखि त कसैले वसन्तपञ्चमीको दिन पारेर पनि मान्ने गरेका छन् । 

देवाली मनाउन छुटेका वा देवाली मनाउने तिथिमिति थाहा नभएका व्यक्तिले सिठीकै दिनमा देवाली मान्ने परम्परा छ । सिठी पनि लिच्छविकालीन षष्ठी पूजाको उपज हो । यस दिन कार्तिकेय कुमारको पूजा गरी सबैका घर घरमा बारा, चटामरी (चामलको पिठोलाई गिलो गरी बनाइएको रोटी) बनाई खाने र पानीको मुहान, कुवा इनार, पोखरी, धारा सफा गरी मनाउने गरिन्छ । सिठी नखःपछि वर्षको चाडपर्व सकिएको मानिन्छ ।

पुर्खाहरूले आफ्नो कुलदेवतालाई कसैले पनि चिन्न नसकोस् भन्ने मान्यताका साथ पीठका रूपमा स्थापना गरिएको हुन्छ । यसको दायाँतर्फ नारायण स्थापना गरिएको हुन्छ । कुलदेवता र नारायण दुवैको वर्षको एक पटक देवालीको दिनमा पूजाआजा गरिन्छ । कुलदेवतालाई कालो बोका बलि दिई तान्त्रिक विधिबाट पूजा गरिन्छ । मध्यकालमा तन्त्रको प्रभाव बलियो रहेको समयमा तान्त्रिक विधिबाट देवाली पूजा गरिन्थ्यो । अहिले पनि पुजारीले कुलदेवतालाई पूजा गर्दा तन्त्र साधना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ तर नारायणले बोकाको बलि स्वीकार नगर्ने हुँदा पञ्चामृतले पूजा गरिन्छ । शिव (महादेव) लाई मान्ने शैवमार्गीको तान्त्रिक देवता दुर्गा भवानी र विष्णुलाई मान्ने वैष्णवीहरूको शास्त्रीय देवता नारायणलाई कुलदेवताका रूपमा मान्ने गरिन्छ । वज्रयान बौद्धमार्गीको तान्त्रिक देवता कुमारी कुलदेवताका रूपमा रहेको छ । नेवाः समुदायभित्रको कुनै जातिले जीवित देवी कुमारीलाई कुलको रक्षा गर्ने देवीका रूपमा मान्ने र कसैले अवलोकितेश्वरलाई कुलदेवताका रूपमा मान्ने गरेको संस्कृतिविद्हरूको धारणा छ । एउटै जातीय समुदायभित्र पनि एउटै कुलदेवता नभई सबैका फरक फरक कुलदेवता हुने गर्छन् । यसले एउटै जातीय समुदायभित्र पनि फरक फरक कुल रहेको सङ्केत गर्छ ।

सिन्धुलीको दुम्जास्थित कुशेश्वर मन्दिर परिसरमा रहेको काठमाडौँ टेकुका डङ्गोल परिवारको कुलदेवता थान । तस्बिर : दीपक श्रेष्ठ

देवालीमा भोज 

नेवाः समुदायमा कुलको सबैभन्दा ज्येष्ठ ‘थकाली’ ले कुलदेवताको पूजा गर्छन् । पूजामा अनिवार्य रूपमा देवताको पीठमा कालो बोका बलि दिइन्छ । कसैले राँगो, हाँस आदि पशुपन्छी बलि दिई पूजा गर्ने चलन पनि छ । बलि दिन नसक्ने परिवारले हाँसको अन्डा मात्र चढाउने गरिन्छ । विशेष गरी बोका बलि दिइएको घरमा टाउकोका विभिन्न अङ्गमध्ये आँखासमेत पर्ने गरी दायाँ बायाँ सिङ दुई भाग, दायाँ बायाँ कान दुई भाग, नाक (थुतुनो) एक भाग, जिब्रो एक भाग र दायाँ बायाँ बङ्गारा दुई भागसमेत आठ भाग गरी उमेरका आधारमा सबैभन्दा ‘थकाली’ (ज्येष्ठ पुरुष सदस्य) हरूमाझ क्रमैसँग घरको ‘नकीं’ (ज्येष्ठ महिला सदस्य) ले अर्पण गरी साँझपख ‘सिकाभ्वय्’ को नामबाट भोज गरिन्छ । कुलदेवता वा अन्य शक्तिपीठमा पूजा गरी बलि दिइएको बोकाको टाउकोको विभिन्न अङ्ग अर्पण गरी परिवारमाझ खाने भोज नै ‘सिकाभ्वय्’ हो । कुनै कुनै नेवाः समुदायमा बोकाको पुच्छरलाई पनि एक अङ्ग मानी घरको ‘नकीं’ लाई दिने चलन छ । हाँसको बलि लिइएको अवस्थामा टाउको घरको मूल थकाली एक जनालाई मात्र प्रसादका रूपमा अर्पण गर्ने गरिन्छ । यसरी ‘सिकाभ्वय्’ को समापनपछि कुलका सबै परिवारका सदस्य सरिक भई भोज खाने गरिन्छ । आफ्नो कुलबाट अलग भएपछि यस भोजमा सरिक हुन पाइँदैन । त्यसैले देवालीमा यस भोजको विशेष महत्व छ ।  

कुलदेवताको स्थान 

कुलदेवता नेवाः समुदायको पुर्ख्यौली वा परम्परागत देवता हुन् । कुलदेवता दाहिने भए कुनै शत्रुले परास्त गर्न नसक्ने विश्वास गरिन्छ । यस देवताको पूजा नगर्दा परिवारमा अनिष्ट हुन सक्ने मान्यता पहिलेदेखि चलिआएको छ । यस देवतालाई विभिन्न धार्मिक, संस्कृतिजन्य कार्यमा स्मरण गरी पूजा गर्ने परम्परा छ । व्रतबन्ध, गुफा राख्दा, विवाह गर्दा पहिले कुलदेवताको पूजा हुने गर्छ । घरपरिवारमा आगमन भएको नयाँ बच्चा, विवाह गरी ल्याइएको नयाँ दुलहीलाई घरमूली थकालीले कुलदेवताको पीठमा लगेर पूजा गरी कुलमा प्रवेश गराउने चलन छ । विवाह भएको आठ दिनपछि नयाँ दुलहीलाई कुलदेवताको दर्शन गराइन्छ । अहिले यो कार्य अनुकूल समयमा हुने गरेको छ । त्यसपछि ती व्यक्ति त्यस घरपरिवार वा कुलको फुकी वा सदस्य हुन्छन् । त्यसपछि कुलको हरेक तान्त्रिक पूजा, पर्वमा उनीहरूले सहभागिता जनाउन र कुलदेवताको दर्शन गर्न पाउँछन् । कसैले देवाली परिवारबाट भिन्न भएर मनाउने गर्छन् भने ती व्यक्ति वा परिवार आफ्नो कुलबाट अलग भएको मानिन्छ । यसलाई कुलको एक शाखाका रूपमा पनि लिन सकिन्छ । नेवाः समाजमा अहिले पनि हरेक महत्वपूर्ण सामाजिक संस्कारमा कुलदेवतालाई पुजिने चलन कायमै छ ।  


अन्त्यमा, नेपालमा बसोबास गरेका विभिन्न जातीय समुदायमध्ये नेवाः समुदाय विभिन्न संस्कृति र संस्कारमा धनी छन् । पुर्खाहरूले चलाउँदै आएको रीत परम्परालाई नेवाः जातिले आजसम्म पनि अँगाल्दै आइरहेका छन् । गैर नेवाः समुदायभित्र पनि कसैले वर्षको एकपल्ट त कसैले तीन वर्ष वा पाँच वर्षमा देवाली मान्ने परम्परा कायमै छ । आफ्ना पुर्खाले चलाउँदै आएको कुलको परम्परा जोगाइराख्न सकेको खण्डमा मात्र आफ्नो पहिचान जोगिन्छ । यस अर्थमा आफ्ना पुर्खाले आफ्नो कुलको रक्षाका लागि देवाली पूजाको चलन चलाएको बुझ्न सकिन्छ । आआफ्ना कुललाई सङ्गठित र एकताबद्ध बनाइराख्न पनि देवालीलाई उत्सवका रूपमा मान्नु अत्यावश्यक छ । अहिले यो मौलिक संस्कृतिका रूपमा जीवन्त छ ।

अहिले देवाली पूजा मान्ने कसैको कुलदेवता चौरमा, कसैको शक्तिपीठको आसपासमा त कसैको जङ्गलमा, कसैको पोखरी किनारा आसपास रहेको पाइन्छ । अहिले कतिपयले कुलेदवता पीठलाई पहिलेको ठाउँबाट सारी आफ्नो घरनजिक स्थापना गर्न थालेका छन् । अहिले सडक, बाटो, ढल, भवन, खेलमैदान आदि निर्माण कार्य तथा चौर, जङ्गल, पोखरी जस्ता सार्वजनिक जग्गाको अतिक्रमणले गर्दा कुलदेवताको पीठ हराएको, नासिएको, फालिएको, पुरिएको अवस्थामा पाइएको छ । यस्तै प्रकारका गैरजिम्मेवार कार्यले गर्दा हाम्रो कुलको संस्कार र संस्कृति लोप हुँदै गएको छ । हामीले मान्ने गरेको देवाली पूजाको धार्मिक, सामाजिक, सांस्कृतिक पक्षलाई बुझ्न नसक्दा हाम्रै पहिचान सङ्कटमा पुग्न गएको अवस्था छ । 

देवाली पूजालाई सम्पूर्ण आदिवासी, जनजाति समुदायले हरेक वर्ष परिवार, आफन्तजन मिलेर कुलदेवताको पीठमा पुगी हर्षोल्लासका साथ मनाउँदै आइरहेका छन् । कुललाई सम्झने उत्सवका रूपमा देवाली मनाउँदै आएका छन् । अहिले देवाली सबैका लागि मौलिक पर्वका रूपमा रहन पुगेको छ । विभिन्न ठाउँमा छरिएर बसोबास गरेका कुलका सबै परिवार तथा आफन्तजन एकै ठाउँमा भेला हुने र रमाइलो गर्दै आफूभन्दा ठुलाबडाबाट टीका, फूलप्रसाद ग्रहण गरी आशीर्वाद लिने, दिने गरिन्छ । पूजाआजा सकेपछि सबै परिवारजन मिली मन्दिरसँगै रहेको खुला ठाउँमा बसी भोज खाने गरिन्छ । यस्तै भोज वा परिवारको जमघटका लागि पुर्खाहरूले कुलदेवतालाई खुला ठाउँमा स्थापना गरेको अनुमान गर्न सकिन्छ । खुला ठाउँको संरक्षणका लागि पनि देवाली पूजाको परम्परालाई निरन्तरता दिनु आवश्यक छ । देवाली पूजालाई अमूर्त सम्पदाका रूपमा समाजमा जीवन्त बनाइराख्नु पर्छ । भावी पुस्ताका लागि यसप्रति रुचि जगाउन सकेको खण्डमा यो मौलिक संस्कृतिको जगेर्ना हुने विश्वास गर्न सकिन्छ । यसको संरक्षण र संवर्धनले आफ्नो परिवारको एकतासमेत बनिरहन्छ ।