‘पानीको रङ’ कृति भर्खरै बजारमा आएको छ । विदेशी भूमिलाई लामो समयदेखि कर्मथलो बनाइरहेका ऋषि बस्ताकोटीको यो पहिलो कवितासङ्ग्रह हो । कवितासङ्ग्रहभित्र छिर्दा शीर्षकले नै पर्या, प्रकृति र जराप्रतिको प्रेमले ओतप्रोत भएका कवि हुन् भन्ने अनुभूति दिलाउँछ ।
कृतिभित्र जम्मा ४० वटा कविता सङ्गृहीत छन् । कविताका प्रकृति र भावका सात उपशीर्षकमा बाँड्न सकिन्छ ।
पहिलो छ– आप्रवासमा धड्केको राष्ट्रप्रेम । कवि बस्ताकोटी भौतिक हिसाबले सम्पन्न मुलुकको स्थायी बासिन्दा भइसक्नुभएको पनि लामो कालखण्ड बितिसकेको छ तर उनका ‘नोस्टाल्जिया’ मा उहाँको गाउँघर र जन्मथलोप्रतिको टड्कारो धङधङी देखिन्छ । अमेरिका जस्तो विकसित देशमा बसेता पनि उहाँका रचनामा त्यहाँको भौतिक विकास, विलासी जीवन र सम्पन्नताको प्रभाव कतै पनि देखिँदैन, बरु केही छुटेका, केही नपुगेका र उही प्रवासमा रहँदाका खालिपन प्रकटित हुन्छन् बारबार । कविताका हरफहरू पढ्दै जाँदा यस्तो लाग्छ उनको भौतिक शरीर टाढा भए पनि उनको हंस आफू जन्मेको माटो, जमिन, जल, देउराली, बाटो, सहपाठी वरिवरि घुमिरहेका छन् । कफ्र्यु लागेको साँझ, सहिदको सम्झनामा, मेरो चेपेखोला, उन्मुक्तिको गीत, सहिदको सम्झनामा जस्ता कविता यस्तै संस्मरणात्मक ग्रामीण अनुभूतिका भावनाले लुछुप्प भिजेका भाव हुन् । दोस्रो खण्ड छ– नोस्टाल्जिया । बादलका बुट्टाहरू, म त अझै तपाईं जस्तै छु, मूल्यको उचाइ, आमा घर हो, नामको कुरा नगर भाइ, आप्रवासी रामप्रसाद, हामी बलरामहरू, गाउँको बाटो इत्यादि ‘नोस्टाल्जिक’ भावका सुन्दर कविता हुन् । यी कविता पढ्दा यस्तो लाग्छ देशका छातीमा कोशी, कर्णाली र गण्डकी बगे जस्तै कविका नसा नसामा बाल्यकाल, घर र देश बगिरहेका छन् ।
बाध्यताले बिदेसिन परे पनि देशको उन्नतिको सपना देखिरहने कवि त्यतिखेर आक्रोशित बन्छन्, जुनबेला देशको शासनको बागडोर समालेकाले देश र जनताको रगत किर्नाले झैँ चुसिरहेको देख्छन् । त्यसैले उनले ‘किर्नाहरू’ जस्तो प्रतिकात्मक प्रतिरोधी कवितामार्फत आक्रोश पोख्छन् । झिँगाहरू, उदाउँदै गरेको जुनको कुरा, भ्यागुताहरू, किर्नाहरू, पर्खाल, भित्ता र हामी, साँढेहरू जस्ता कविता देशको राजनीतिक अवस्था, नेताहरूको प्रवृत्ति र जनताको निरीहपनबारे मार्मिक ढङ्गले प्रहार गरिएका प्रतिरोधी कविता हुन्, जुन यस सङ्ग्रहका स्मरणीय कवितामध्ये पर्छन् ।
सङ्ग्रकै सबैभन्दा बलिया कविताको चौथो खण्ड छ– पर्या कविता । कविको विज्ञता र विधागत रुचिको ‘केमेस्ट्रि’ मिलेर पनि हुन सक्छ एक्ले बर, यसपालि वसन्तमा, पानीको रङ जस्ता बलशाली कविता छन्– यस खण्डमा । उनका कविता पर्या प्रेममा मात्र सीमित नभएर उच्च पर्या–संरक्षण चेतनाले ओतप्रोत कविता छन् । पाँचौँ छ– जीवनदर्शन । प्रत्येक कविको एउटा आफ्नो दर्शन हुन्छ । उनका पनि केही दार्शनिक कविता छन् । उदाउँदै गरेको जुनको कुरा, मूल्यको उचाइ, भ¥याङः एक शब्दचित्र इत्यादि यस खण्डका सुन्दर कविता हुन् ।
सङ्ग्रहलाई नै बलियो र सुन्दर बनाउने अर्को अध्याय छ– भुइँमान्छेप्रतिको प्रेम । म्यादीमाइला, सूर्यबहादुर तामाङ, शिल्पले छोएपछि, मूर्ति, फूलमायाको गाउँमा इत्यादि । ‘फूलमायाको गाउँमा’ कवितामा कविले कसैले नदेखेको पाटोलाई कवितामार्फत पाठकलाई झस्किने बनाएका छन् ।
अन्य कविता कृतिभन्दा पृथक् र विशिष्ट बनाउने सातौँ खण्ड छ– पारिवारिक प्रेम । व्यक्तिवादी सोच र उत्तरआधुनिक जीवनशैलीले निम्त्याएको पारिवारिक विखण्डनको चिन्तालाग्दो यस कालखण्डमा एउटै सङ्ग्रहमा बा, आमा, श्रीमती र सन्तान सबैका कविता समेटिनु, कृतिको अद्भुत सुन्दरता हो । परिवारको महत्व, जीवनसाथीको अर्थ, सहकार्यको सुन्दरता, प्रौढ बाआमाप्रतिको प्रेम र नयाँ सन्तानप्रतिको अनुरागलाई बहुलपुष्प जडित हार सरह कविता बुन्न सफल देखिन्छन् कवि । मेरो छोरो, मेरा बा, तिम्रो मायामा, तिम्रो जन्मदिनमा, समय रेखामा हामी, बाका जुत्ता, बादलका बुट्टाहरू इत्यादि यिनै भावका कविता हुन् ।
कृतिभित्र केही कवितामा कविले मजाले आत्मालोचना गरेका छन् । बा जस्तो आफू हुन नसकेको र श्रीमतीसँगको सहकार्यमा आफ्ना कमजोरी पनि खुलेर आत्मालोचना गरेका छन् । त्यस्तै कविले पुस्तान्तरणको चित्र कोर्न सफल छन् । बाको जुत्ता धेरै दृष्टिकोणबाट अबल कविता हो । यो कवितालाई पाठकले विभिन्न दृष्टिकोणबाट व्याख्या र विवेचना गर्न सक्छन् । यसले बाबु पुस्ता जस्तो स्वावलम्भी दोस्रो पुस्ताले किन बन्न सकिरहेको छैन ? ऊ आफ्नो खुट्टामा होइन कि जुत्तामा आश्रित छ । आफ्नो सामथ्र्यमा भन्दा जुत्ताको सामथ्र्यमा विश्वास छ ।
संरचनागत हिसाबले हेर्दा कविताका हरफहरू गजलका मतला जस्ता छन् । कतै मुक्तकका खण्ड जस्ता छन् । ठाउँ ठाउँमा बग्रेल्ती समस्वरात्मक काफिया छन् । रदीप छन् । यस्तो लाग्छ धेरै जसो कविता गजल बनाउन खोज्दाखोज्दै गद्य कविता बन्न गएका हुन् तर अद्भुत कुरा त यो छ कि कुनै चिज बिग्रिएर कुरूप अथवा विद्रुप बन्छ भन्छन् तर यहाँ गजल बिग्रिएर गजलभन्दा सुन्दर कविता बनेका छन् ।
विम्ब र प्रतीकका मामिलामा बढो चतुर देखिन्छन् कवि । लामा लामा प्रतीकमा खेल्न खप्पिस देख्निछन् । वाक् स्वतन्त्रता नभएको कालखण्डमा छायामा पारेर कुनै कुरालाई भनिने गरिन्थ्यो– सतहमा एउटा कुरा र अन्तर्यमा अर्को । उदाहरणका लागि सङ्ग्रहको एउटा अत्यन्त बलियो कविता छ– ‘पर्खाल भित्ता र हामी’ । सतही रूपमा पढ्दा सामान्य पर्खाल, भित्ता र हामी जस्तो लाग्छ तर यसको गहिराइ छिचोलेर हेर्ने हो भने यसले धेरै अर्थ राख्दछ । विभिन्न देश, विभिन्न भूगोलमा र एउटै भूगोलभित्रका विभिन्न ससाना भूभागबिच जुन किसिमको भौगोलिक, राजनीतिक र सांस्कृतिक विभेद छ, सूक्ष्म रूपमा कविताले त्यतातिर सङ्केत गर्छ । एउटा प्रभुत्वशाली वर्गले अर्को वर्गलाई गरिरहेको दमन बुझ्न सकिन्छ । अथवा कसरी साम्राज्यवादले एउटै भूगोलका मानिसलाई विभाजित गरेको छ, कसरी एउटै वंश र गोत्रका परिवारलाई दुई ध्रुवमा विभाजित गरेको छ भन्ने कुरा इङ्गित गर्छ । यस हिसाबले यो कविता सुगौली सन्धिपश्चात् टुक्रिएको नेपाल र दार्जिलिङ अथवा उत्तरी र दक्षिणी कोरियाको विभाजन या पूर्वी एसियाका मुलुकको वर्तमानका जातीय युद्धका सन्दर्भमा पनि यो कविता उत्तिकै सान्दर्भिक देखिन्छ । त्यस्तै ‘यसपालि वसन्तमा’ सतही रूपमा पर्या कविता जस्तो देखिन्छ तर यो कवितालाई मैले प्रतीकात्मक कविताका रूपमा पनि लिएको छु । यसले देशमा प्रजातन्त्र, लोकतन्त्र आएपछि पनि देशमा आउन नसकेको परिवर्तनलाई पनि सङ्केत गर्छ ।
सङ्ग्रहमा धेरै जसो कविताका हरफ बिनाबहरका गजलका शेर जस्ता लाग्छन् । जस्तै–
भान्सा फेरिँदा अलिकति अचार फेरिएको हो
काम त उस्तै गर्दै आएको छु ।
दुरुस्त हिजो जस्तै अस्ति जस्तै
तर पत्रकार फेरिँदा अलिकति समाचार फेरिएको हो
भान्सा फेरिँदा अलिकति अचार फेरिएको हो ।
कविले शब्द चयनमा असाध्यै ख्याल गरेका छन् । सरल सलल्ल बग्ने हरफहरू छन् । स्थानीय विम्बको प्रचुर प्रयोग छ । मिथकीय र काल्पनिक पात्रभन्दा सामाजिक पात्र छन्; जसले कवितालाई मौलिक बनाइदिएको छ । नयाँ स्वाद दिएको छ ।
समष्टिमा भन्दा ‘पानीको रङ’ कवितासङ्ग्रह एउटा पठनीय कृति बन्न पुगेको छ । कुनै कुनै कवितामा एउटै शब्द धेरै चोटि दोहोरिएका छन् । त्यसका ठाउँमा कुनै अर्का समानान्तर शब्द राख्न पाएको भए अझ सुन्दर हुन्थ्यो कि भन्ने लाग्छ । कहीँ कहीँ अनुप्रास मिलाउने ध्याउन्नमा लाग्दा कविता बढी सरल बनेको हो कि जस्तो पनि देखिन्छ । केही कविताका भाव दोहोरिएका जस्ता पनि लाग्छन् । एउटै एउटै विषयवस्तु दुई/तीन वटा कवितामा आएको जस्तो पनि लाग्छ । कविता कृतिको भलबाढी आइरहेको यो समयमा पानीको रङ, पाठकलाई केही नौला स्वाद लिएर नेपाली साहित्य बजारमा प्रवेश मारेको छ ।