गोविन्द मरासिनी
एक वर्षअघि देश कोरोनाको चपेटामा थियो। कोरोनाको रोकथाम र न्यूनीकरणका लागि गरिएका निषेधाज्ञा र बन्दाबन्दीले घरमै थुनिएर बस्नुको विकल्प थिएन। त्यस बेला कतिपय व्यक्ति सामाजिक सञ्जालमा भुले भने कतिपयले फुर्सदको समयको सदुपयोग गरे। पेसाले स्वास्थ्यकर्मी रहेका सुर्खेतका ३२ वर्षीय हीराबहादुर मगर पनि कोरोनाको बेला क्वारेन्टाइनमा बस्दा मोबाइलमै व्यस्त रहनुभयो। क्वारेन्टाइनमा बस्दा धेरै जना टिकटक, फेसबुकमा रमाए। हीराले भने फेसबुक, टिकटकमा भुल्नुभन्दा युट्युबमा ड्रागन फ्रुट खेतीका बारेमा जानकारी लिन थाल्नुभयो। ड्रागन खेती उहाँको रुचिको विषय पनि थियो। त्यसैले उहाँले खेती कसरी गर्ने ? कस्तो ठाउँमा फस्टाउँछ ? आदिबारे जानकारी युट्युबबाटै लिनुभयो।
जब उहाँले युट्युबबाट ड्रागन फ्रुटको बारेमा बुझ्नुभयो, तब आफ्नो स्थानमा ड्रागन फस्टाउने जानकारी पाउनुभयो। अनि उहाँको मनमा ड्रागन खेती गर्ने हुटहुटी जाग्यो। क्रमशः कोरोना कहर कम भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, भर्लेनीमा वर्षौंदेखि बाँझो रहेको करिब एक बिघा जमिनमा ‘कर्णाली ड्रागन फ्रुट फार्म’ उहाँले सञ्चालन गर्नुभयो।
स्वास्थ्यकर्मी रहेका हीरा ‘द गोर्खा वेलफेयर ट्रस्ट’ सुर्खेतको स्वास्थ्य विभागअन्तर्गत स्वास्थ्य सहायक (एचए) पदमा कार्यरत हुनुहुन्थ्यो। नेपालमा वेलफेयर ट्रस्टको जागिरलाई राम्रै जागिर मानिन्छ। उहाँ त्यहाँ कार्यरत रहँदा करिब ८० हजार कमाउनुहुन्थ्यो। नेपालमा जागिरबाटै ८० हजारसम्म कमाउनु भनेको उपलब्धि नै मानिन्छ तर हीरालाई कृषि पेसा नै अँगाल्ने रहर जाग्यो, सधैँभरि जागिर खाएर मात्र के गर्ने भन्ने सोचकै कारण उहाँ कृषि पेसातिर मोडिनुभयो।
एक वर्षअघि सुरु गरेको खेतीबाट करिब १० महिनामै प्रतिफल पाउँदा उहाँ धेरै खुसी हुनुभयो। लगानी महँगो भए पनि यो खेती एक पटक गरेपछि २० देखि ३० वर्षसम्म फल दिइरहन्छ। अहिले हीराको ड्रागन फर्ममा लटरम्म ड्रागन फलेका छन्। ड्रागन छिटो फल्ने र यसले धेरै समयसम्म फल दिइरहने भएकाले पनि आफू यस खेतीतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ। आफ्नै जग्गामा खेती सुरु गरे पनि उहाँसँग लगानी भने थिएन। उहाँ भन्नुहुन्छ, “लगानी गर्ने प्रशस्त पैसा मसँग थिएन, नेपाल बैङ्कबाट ऋण लिएर सुरु गरेको हुँ।” फार्ममा अहिलेसम्म ७५ लाख रुपियाँभन्दा बढी लगानी भइसकेको छ।
आजभन्दा १९ वर्षअघि नेपालमा पहिलो पटक डा. जगन्नाथ राईले ड्रागन खेती भिœयाउनुभएको हो। हीराले पनि राईकै फर्मबाट बिरुवा ल्याएर खेती सुरु गर्नुभएको हो। यस खेतीका लागि प्राङ्गारिक मल एक वर्ष पुरानो प्रयोग गर्नुपर्ने र मल वर्षको दुई पटक हाल्नुपर्छ। एउटा पिलरमा दुई डोकोसम्म मल चाहिने उहाँको अनुभव छ। तीन प्रकारका बिरुवा पाइने भए पनि बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि रातो हुने दुई प्रकारका बिरुवा उहाँले लगाउनुभएको छ। उहाँले रातो बिरुवा तीन सयमा र सेतो बिरुवा २५० रुपियाँमा किनेर रोप्नुभएको हो। ९१४ वटा पिलरमा तीन हजार ६५६ बिरुवा लगाइएका छन्। गर्मी ठाउँमा वैशाख र जाडो ठाउँमा जेठबाट यसको बोटले फल दिन सुरु गर्छ र करिब पाँच महिनासम्म फलिरहन्छ।
नेपालमा यसको फल मात्र होइन, बिरुवाको पनि माग धेरै छ। सबै उमेरका लागि उपयुक्त मानिने यस फलले दम, बाथ, क्यान्सर, कोभिडजस्ता रोगसँग लड्ने क्षमता अभिवृद्वि गर्नुका साथै पाचन प्रक्रिया र रक्तसञ्चारमा समेत सहयोग गर्दछ।
नेपाली बजारमा रातो ड्रागन फ्रुट आठदेखि नौ सयसम्म र सेतो सातदेखि आठ सयसम्म बिक्री हुने गरेको छ। हीराले फलाउनुभएको ड्रागन नेपालगन्ज, वीरेन्द्रनगरसहित चितवन र काठमाडौँका बजारसम्म पुगेका छन्। उहाँबाट सिकेर ड्रागन खेती गर्न चाहने युवाको सङ्ख्या पनि बढ्दो छ। ड्रागन खेती गर्न चाहने युवालाई सल्लाह, सुझावसमेत हीराले दिने गर्नुहुन्छ। उहाँले रातो ड्रागन बिरुवा तीन सयदेखि चार सयसम्म र सेतो बिरुवा दुई सयदेखि २५० रुपियाँसम्म बिक्री गर्दै आउनुभएको छ।
हीराले आफ्नो फर्ममा १० जना युवालाई रोजगारीसमेत दिनुभएको छ। परिवारबाट समेत राम्रो सहयोग पाएका हीरा भन्नुहुन्छ, “भविष्यमा कर्णालीकै नमुना ड्रागन खेती फर्म बनाउने सपना छ।” उहाँ नेपालमा ड्रागन खेतीमा रमाइरहँदा उहाँकी श्रीमती भने अमेरिकामा हुनुहुन्छ। डिभी परेर अमेरिका पुगेकी श्रीमतीको समेत दरिलो साथ र हौसलाले हीरालाई थप उत्साहित बनाएको छ। धेरैको चाहना हुन्छ, विकसित मुलुकमा जाने बिलासी जीवन बिताउने तर उहाँमा त्यस्तो कुनै सोख छैन। अमेरिका जानुभन्दा पनि ड्रागन खेतीलाई अझ विस्तार गरेर श्रीमतीलाई समेत नेपालमै बोलाउने योजना उहाँले बुन्नुभएको छ। युवापुस्ता रोजगारीका लागि दिनानुदिन विदेश गइरहेका हुन्छन्। यद्यपि हीरा मगर भने नेपालमै केही गर्नुपर्छ भनेर लाग्नुभएका एक उदाहरण हुनुहुन्छ।