• २८ पुस २०८१, आइतबार

सहकारीले पैसा लिएर भागेपछि बचतकर्ताको बिचल्ली

blog

साङ्केतिक तस्बिर

मोरङ, साउन १३ गते । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपियाँभन्दा बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको विचल्ली भएको छ ।

चार वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए ।

आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रर्दशन गरेका छन् । उनीहरुले भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकले तीन सयभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएको आरोप लगाएका छन् ।

पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका बचतकर्ताहरुले बचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

यता सहकारी संस्थाका एजेन्टका रुपमा रहेका बचत सङ्कलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट बचत सङ्कलन गरी रकम जम्मा गरे पनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या निम्तेको बताउनुभयो । आफूले बारम्बार बचतकर्ताको निशानामा पर्दा समेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उहाँको भनाइ छ । साहूले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम नै जम्मा नगरेको भनि आरोप लगाउन थालेको बताउनुभयो ।

यता सहकारी संस्थाका सञ्चालक समूहले भने बचतकर्ताबाट सङ्कलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ ।

सञ्चालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा बचतकर्तासँग मतभेदको अवस्था सिर्जना हुँदा अवस्था असहज बन्न पुगेको बताउनुभयो । उहाँले अडिट रिपाेर्ट प्राप्त हुनासाथ बचतकर्ताको रकम फिर्ता दिइने बताउनुभयो ।