• ३ वैशाख २०८३, बिहिबार

स्याउ बगैँचामा आगलागी

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), वैशाख ३ गते । जुम्लाको गुठीचौर गाउँपालिका–३ स्थित धापाखेतमा रहेको स्याउ बगैँचामा आगलागी हुँदा स्याउका तीन सय बिरुवा नष्ट भएका छन् । अर्गानिक एप्पल एन्ड फर्म अन्तर्गत रहेको उक्त बगैँचा गुठीचौर गाउँपालिका–५ कुम्डीगाउँका हरिबहादुर भण्डारीको हो । उहाँ गुठीचौर गाउँपालिकाका पूर्वगाउँपालिका अध्यक्षसमेत हुनुहुन्छ । 

स्याउको बोटमा फूल फुलेर सेताम्मे भइरहेको बगैँचाबाट यस वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरिएको थियो । शुक्रबार दिउँसो करिब १२ बजेतिर लागेको आगोले बगैँचाको बिरुवा पूर्ण रूपमा नष्ट गरेको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागीबाट लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । लटरम्म फुलेका स्याउका करिब तीन सय बोट पूर्ण रूपमा नष्ट भएका छन् ।” प्रारम्भिक अनुमान अनुसार करिब नौ लाख रुपियाँ बराबरको क्षति भएको छ । आगो कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । 

घटनापछि धलमुडी प्रहरी चौकी इन्चार्ज ताराबहादुर डाँगीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । बगैँचामा धेरै मात्रामा रहेको सुक्खा घाँसका कारण आगो नियन्त्रणमा लिन कठिन भएको बताइएको छ । 

करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त बगैँचामा आगलागीबाट ठुलो क्षति पुगेको छ । बगैँचामा कुल एक हजार छ सय बिरुवा रहेका छन् । जसमा नौ सय स्थानीय जात र सात सय फुजी जातका स्याउ छन् । २०६९ सालमै घेराबन्दी र पूर्वाधार निर्माणमा १२ लाखभन्दा बढी खर्च गरिएको यस बगैँचामा हालसम्म करिब ५० लाख रुपियाँ लगानी भइसकेको सञ्चालक भण्डारीले बताउनुभयो । अघिल्लो वर्ष ७५ हजार रुपियाँ आम्दानी भएको बगैँचाबाट गत वर्ष करिब डेढ लाख रुपियाँ आम्दानी भएको थियो ।