ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ३ गते । म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि १५ विद्यालयको तह समायोजन गरी कक्षा घटुवा गरेको छ भने एउटा विद्यालय बन्द गरेको छ ।
विद्यार्थी नभएपछि बेनी नगरपालिका ५ स्थित चेतना आधारभूत विद्यालय बन्द गरिएको हो भने अन्य विद्यालयको कक्षा घटुवा र तह मिलान गरिएको नगरपालिकाले जनाएको छ । ग्रामीण भेगबाट सहरमा बसाइँसराई गर्नेको सङ्ख्या बढेसँगै सामुदायिक विद्यालयहरु सङ्कटमा पर्न थालेका हुन् ।
कक्षा घटुवा, तह मिलान र बन्द भएका विद्यालयका ३२ जना शिक्षकहरूलाई विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयहरुमा व्यवस्थापन गरिएको बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव क्षेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । यसअघि गत वर्ष बेनपा–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय विद्यार्थी नभएपछि बन्द गरिएको थियो ।
उहाँका अनुसार १–३ तहको पठनपाठन हुने बेनपा–१ को ज्ञानपुञ्ज, वडा नम्बर २ को हंशबाहिनी, वडा नं ३ को नवज्योती र भूमे आधारभूतमा बालकक्षा मात्र कायम गरिएको छ । रत्नेचौरको भानु माविलाई १–१२ बाट १–८, गलेश्वरको जडभरत संस्कृति माविलाई १–१० बाट १–८, थाकनपोखरी र राधाकृष्ण आधारभूतलाई १–८ बाट १–५ मा कक्षा घटुवा गरिएको शिक्षा शाखा प्रमुख उपसचिव भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी, १–५ तहका बराह, ज्ञानपुञ्ज, नवदुर्गा, विद्यामन्दिर, बरनाथ, स्यालीखेत र चन्द्रोदय आधारभूत विद्यालयमा १–३ कक्षा कायम भएको छ । विद्यार्थी सङ्ख्याका आधारमा कक्षा घुटुवा र तह समायोजन गरी शिक्षक व्यवस्थापन गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक भन्ने १७ औँ नगरसभाको निर्णयअनुसार विद्यार्थी सङ्ख्या कम भएका विद्यालयका शिक्षकहरुको दरबन्दी बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई उपलब्ध गराउने निर्णय भएको छ ।’’
बन्द भएका विद्यालयहरूको भौतिक सम्पत्तिको मूल्याङ्कन गर्न उपसमिति गठन भएको र उक्त सम्पत्ति तथा कागजात नजिकको विद्यालयमा राखिने नगरपालिकाले जनाएको छ । दोस्रो चरणमा तह समायोजन र पुलमा रहेका शिक्षकहरूलाई विषयगत रुपमा आवश्यकताको आधारमा विद्यालयमा खटाउने तयारी नगरपालिकाले गरेको छ । बेनी नगरपालिकामा ५५ वटा सामुदायिक विद्यालय छन् ।
सुविधायुक्त भवन, इन्टरनेट,विद्युतु, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनी विद्यार्थी सङ्ख्या घट्दै गएको छ । कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नभएपछि चारवर्षको अन्तरमा नगरपालिका भित्र १८ वटा विद्यालयको कक्ष घटुवा भइसकेको छ ।