• ३ वैशाख २०८३, बिहिबार

दंगीशरणको संग्रहालयमा आन्तरिक पर्यटकको बढ्दो आकर्षण

blog

संग्रहालयको अवलोकन गर्दै आन्तरिक पर्यटकहरू । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, वैशाख ३ गते ।
दाङको दंगीशरण गाउँपालिका ३ चखौरास्थित थारु सांस्कृतिक संग्रहालयमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको उल्लेख्य भिड लाग्न थालेको छ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको उक्त संग्रहालयमा दैनिक दुई सयभन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् ।

संग्रहालय व्यवस्थापनका अनुसार नयाँ वर्ष, दशैं, माघी लगायतका चाडपर्वमा अझ बढी पर्यटकहरू संग्रहालय अवलोकनका लागि आउने गर्दछन् । थारु सांस्कृतिक केन्द्रका उपाध्यक्ष एवम् संग्रहालयका व्यवस्थापक शान्ता चौधरीका अनुसार गत वर्ष मात्रै करिब एक लाखको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकले संग्रहालयको अवलोकन गरेका थिए । “संग्रहालयप्रति आन्तरिक पर्यटकको आकर्षण निरन्तर बढ्दो छ,” उहाँले भन्नुभयो, “यसले थारु समुदायको संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्धनमा पनि टेवा पुगेको छ ।”

संग्रहालय अवलोकनका लागि प्रतिव्यक्ति एक सय ३० रुपियाँ शुल्क निर्धारण गरिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भने ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको व्यवस्थापन पक्षले जनाएको छ। पूर्वदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरू यहाँ अवलोकनका लागि आउने गरेका छन् ।

संग्रहालयमा देशभरका थारु समुदायसँग सम्बन्धित परम्परागत सामग्री, हस्तकला, वेशभूषा, गरगहना तथा सांस्कृतिक प्रतिमाहरू व्यवस्थित रूपमा राखिएका छन् । साथै डंगौरा, डसौरी, राना, चितवनिया, मोरङ्गिया लगायत विभिन्न क्षेत्रका थारु समुदायका मौलिक घरहरूको नमुना समेत निर्माण गरिएको छ।

संग्रहालय अवलोकन गर्दा थारु समुदायको जीवनशैली प्रत्यक्ष अनुभूति गर्न सकिने आन्तरिक पर्यटकहरू बताउँछन्। “संग्रहालय अवलोकन गर्दा थारु समुदायको जीवनशैलीको प्रत्यक्ष अनुभूति भयो,” घोराही १६ मघैका नगेन्द्र चौधरीले भन्नुभयो, “यसले हाम्रो समुदायको पहिचान मात्र होइन, अस्तित्व जोगाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।”

संग्रहालयमा थारु समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका कृषि औजारहरू हल, जुवा लगायतका सामग्रीसँगै खेतीपातीको दृश्यसमेत जीवित रूपमा प्रस्तुत गरिएको छ। माछा मार्न प्रयोग गरिने हेल्का, डेल्या, खोङ्ग्या, जालजस्ता सामग्रीहरू पनि संग्रहालयका आकर्षण हुन् । स्थानीय तह तथा समुदायको पहलमा स्थापना गरिएको यो संग्रहालयले थारु समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। साथै, ग्रामीण पर्यटनको सम्भावना उजागर गर्दै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउँदै आएको छ।