सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, वैशाख ३ गते । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ निवासी वीरबहादुर घलानलाई जिल्ला सदरमुकाम सिन्धुलीमाढी कामविषेशले आउँदा जाँदा दिनभरि पैदल हिँडेको सास्ती अझै ताजै छ । अहिले सोही ठाउँ हुँदै मदन भण्डारी राजमार्ग निर्माण भई सञ्चालनमा आएको छ । राजमार्ग निर्माणसँगै गाउँ मात्रै फेरिएको छैन, स्थानीयको दुःखकष्टसमेत हटेको छ ।
उहाँले भन्नुभयो, “चार वर्षअघि उक्त राजमार्ग निर्माण भएर यातायात सञ्चालन हुन थालेपछि स्थानीयलाई निकै सुविधा भएको छ । स्थानीयस्तरमा उत्पादन भएको कृषि उपजले बजार पाएको छ भने आधुनिक शैलीका घरहरू बन्ने व्रmम बढेको छ । गाउँको मुहार नै फेरिँदै गएको छ ।” राजमार्ग बन्नुअघि नागरिकता बनाउन र अन्य काम गर्न सदरमुकाम जाँदा आउँदा दुई दिनसम्म पैदल हिँडेको उहाँको आफ्नो अनुभव छ । सिन्धुली जिल्ला हुँदै तीन ठुला राष्ट्रिय राजमार्ग निर्माण भएपछि पहिलेका दुर्गम ठाउँ अहिले सुगममा परिणत भएका छन् । बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गले जनजीवनमा निकै सहजता ल्याएको अनुभव स्थानीयले गर्न थालेका छन् । यी तीन वटै राजमार्गले जिल्लाको अधिकांश भागलाई छोएको छ ।
स्थानीयका अनुसार जिल्लाका नौ वटा पालिकामध्ये बिपी राजमार्ग कमलमाई नगरपालिका, गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका हुँदै निर्माण भएको छ । मदन भण्डारी राजमार्ग दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहपुरगढी गाउँपालिका हुँदै निर्माण भएको छ । त्यसै गरी मध्यपहाडी लोकमार्गले फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाको क्षेत्रलाई समेटेको छ । तीन ठुला राजमार्ग निर्माणसँगै पहिले दुर्गम भनिएका ठाउँ अहिले सहरमा परिणत हँुदै गएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा बताउनुहुन्छ । तीन ठुला राजमार्ग निर्माणले गाउँको जोखिमपूर्ण यात्रा मात्र हटेको छैन, गाउँको मुहार नै फेरिएको उहाँले सुनाउनुभयो ।
स्थानीयका अनुसार यी राजमार्गले विपन्न नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन थालेको छ । आम्दानीका नयाँ नयाँ बाटा पनि खुल्न थालेका छन् । घरआँगनमा पक्की सडक निर्माण भएपछि ग्रामीण भेगमा सहरीकरण सुरु भएको छ । विगतमा उदयपुरको कटारीदेखि सिन्धुली हुँदै मकवानपुरको हेटौँडासम्म पुरानो कच्ची सडक (हालको मदन भण्डारी राजमार्ग) खण्डका नदी र खोलामा पक्की पुल नहुँदा बर्सातको मौसम सुरु भएपछि चार महिनासम्म सदरमुकामसँग सम्पर्कविच्छेद हुने गरेको थियो ।
अहिले राजमार्ग बनेपछि त्यस्तो समस्या हटेको दुधौली नगरपालिका–२, हत्पतेका स्थानीय रेखराज दाहाल बताउनुहुन्छ । “पहिले सडक र कमला नदीमा पुल नहुँदा वर्षायाममा गाउँबाट कतै जान सकिन्न थियो, अहिले एक घण्टामा सिन्धुलीमाढी पुगिँदा ठुलै परिवर्तन भएको महसुस भएको छ,” उहाँले भन्नुभयो । गाउँमा उत्पादन गरेका कृषि, फलफूल, खसीबाख्रा सहजै बजारसम्म पु¥याउन सकिने भएपछि स्थानीयले कृषि व्यवसाय थालेका छन् ।
राजमार्ग क्षेत्रमा नयाँ नयाँ बजार विस्तार हुने व्रmम बढेपछि उद्योग, कलकारखाना, होटेललगायतका व्यवसाय सुरु भएको स्थानीयको भनाइ छ । राजमार्गको निर्माणसँगै सडक आसपासको जग्गाको मूल्य पनि आकासिएको छ । पहिले प्रतिकट्ठा दुई लाख पर्ने जग्गाको मूल्य राजमार्ग निर्माणपछि २० लाख रुपियाँसम्म पुगेको स्थानीयले बताएका छन् ।