राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख ३ गते । सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने भनेपनि स्याङ्जाको चापाकोट नगरपालिकाले भोलि(शुक्रबार)बाट भर्ना अभियान र १४ गतेबाट पठनपाठन सुरु गर्ने भएको छ ।
चापाकोट नगर शिक्षा समितिको बैठकले विद्यार्थीको पढाईमा असर पर्न सक्ने भन्दै तत्कालै भर्ना अभियान सुरु गर्ने निर्णय गरेको हो । सोही बमोजिमका वार्षिक शैक्षिक योजना र क्यालेन्डर बनाएर पठनपाठन गराउने तयारी गरिएको नगरप्रमुख देवबहादुर खांण (ईश्वर)ले जानकारी दिनुभयो । संविधान र कानुन अनुसार आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भएको उहाँको भनाइ छ ।
स्थानीय तहको अवस्थालाई मध्यनजर गरेर यस्तो तयारी गरिएको प्रमुख खांणले बताउनुभयो । यसअघि स्याङ्जाको फेदीखोला गाउँपालिकाले बुधबारबाट भर्ना अभियान सुरु गरेको छ भने ९ गतेदेखि नियमित पठनपाठन गराउने तयारी गरेको छ ।