केही समयअघि ललितपुरको एक विद्यालयका शिक्षकले कक्षा पाँचमा पढ्ने ११ वर्षीय विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना बाहिरियो । पीडकलाई सजाय गर्न अभिभावक विद्यालय पुगे पनि विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क पढाइदिने सर्तमा घटना सामसुम बनाइयो । निजी विद्यालयमा नियुक्त गरिने अनुशासन इञ्चार्ज अर्थात् डीआई भन्ने वित्तिकै विद्यार्थी थर्थर भए पनि डीआईको आँखा छलेर विद्यार्थीबाट सामान्य गल्ती बदमासी भइरहेका हुन्छन् । यसैको निहुँमा विद्यालयका डीआईले सामान्य गल्तीमा पनि कठोर दण्ड सजाय र चरम यातना दिएका घटना बारम्बार बाहिरिइरहेका छन् । लाजिम्पाटको एक कलेजका विद्यार्थी डीआईले दिएको यातना सहन नसकेर आत्महत्या गरेको घटना बाहिरियो । सबैजसो निजी विद्यालयले डीआई नियुक्त गरी विद्यार्थीलाई तर्साउने वा दण्ड सजाय दिने कार्यले विद्यार्थीमा शारीरिक मात्र नभई मानसिक असरसमेत परेको देख्न सकिन्छ । केही वर्ष अघिसम्म डीआईको काम प्रधानाध्यापकले नै गर्दथे । प्रधानाध्यापकले विद्यालयको चौरमा विद्यार्थीलाई लाइन लगाएर वा आफ्नै कार्यकक्षमा बोलाएर निलडाम बस्ने गरी विद्यार्थीलाई हिर्काउनसम्म हिर्काउँथे । हाल केही अभिभावकको विरोधको आवाज विद्यालयसम्म पुग्न थालेपछि भने निजी विद्यालयका प्रधानाध्यापकले शिक्षकमध्येका खाइलाग्दा र जाइलाग्दा व्यक्तिलाई डीआईको पद र पावर थमाउने गरेका छन् ।
विद्यार्थीलाई कडा अनुशासनमा राखेर आफूलाई सफल प्रधानाध्यापकका रूपमा चिनाउन डीआईमार्फत डण्डा चलाउने कार्य सबैजसो निजी विद्यालयमा छ । डीआईले केही विद्यार्थीलाई सजाय दिँदा अन्य विद्यार्थीसमेत आत्तिएका, डराएका र विद्यालय जानै मन नगरेका घटना कैयौँ छन् तापनि यो गम्भीर विषयप्रति सरोकारवालाको चासो देखिँदैन । त्यसैले त डीआईका दादागिरी देशभरका निजी विद्यालयमा फैलिरहेको छ ।
सीपमुखी र व्यावहारिकभन्दा ज्ञान तथा परीक्षामुखी शिक्षण प्रणाली नै यसको प्रमुख कारण हो । विद्यालय र अभिभावकको अस्वाभाविक अपेक्षाले समेत यसैलाई मलजल गरिरहेको छ । विद्यार्थीले दण्ड सजाय पाउनुमा डीआई र शिक्षकलाई मात्र दोष दिएर अरूले उन्मुक्तिको सास फेर्न मिल्दैन । विद्यालयमा हरेकजसो दिन अभिभावकहरू लौन मेरो बच्चाले घरमा कसैलाई टेर्दैन पढ्दैन तपाईंहरूले नै तह लगाइदिनु प¥यो भन्दै पुग्ने गरेका छन् । विद्यालयमा घोकन्ते शैलीका सिकाइमा विद्यार्थीको ध्यान खिच्न कम कठिन कहाँ छ र ? डीआईले दिएका मानसिक पीडा र तनावकै कारण कतिपय बालबालिका अनेक बहाना बनाएर विद्यालय नगएका तथ्य धेरै छन् जुन बाहिर आएकै छैनन् । एक दिन डीआई विद्यालयमा अनुपस्थित हँुदा विद्यार्थी खुसीले गद्गद् भएका यथार्थले डीआईको दादागिरी छर्लङ्गिन्छ । सामान्य गल्तीमा पनि डीआईले विद्यार्थीलाई कुटेर घाइते बनाएका घटना यत्रतत्र छन् । बालबालिकालाई प्रकृतिबाट अलग गर्दा उनीहरू अप्राकृतिक र उच्छङ्खल बन्छन् । एउटै किताब एउटै कक्षामा महिनौँ पढ्दा विद्यार्थीहरूलाई पढ्ने उत्साह घट्दै गएको यथार्थ बुझेर विद्यालयहरूले सिकाइका तौर तरिका अवलम्बन गर्नुपर्ने हो ।
परीक्षामा विद्यार्थीको उच्च नतिजा देखाएर आफ्नो शैक्षिक व्यवसायलाई फलिफाल बनाउन विद्यार्थीलाई अनुशासनमा राखेर तर्साएर पढाउन विद्यालयहरूले डीआईमार्फत डण्डा चलाउने प्रवृत्ति पछिल्ला दिनमा झन् बढेको छ । विद्यालय वा परिवारको साथभन्दा बाहिरतिरको वातावरण वा एकान्तबास मन पराउने हालका अधिकांश बालबालिकाका भिन्न सामाजिक मनोविज्ञान र व्यवहारले समेत सिकाइमा ध्यान कम र उच्छृङ्खल क्रियाकलापतिरको संलग्नता बढ्ने अवस्था छ । कोरोना सङ्क्रमणका कारण लामो समय पढ्न नपाएका बालबालिका गलत प्रवृत्तिको सिकार हँुदा सिकाइको स्तर खस्किरहेको अवस्थामा लामो समयपछि विद्यालय पसेका बालबालिकालाई डण्डा नचलाइ विद्यार्थीले पढ्नै मन नगरेका गुनासा शिक्षकहरूबाटै आइरहन्छन् । जसका कारण प्राथमिक तहकै साना साना लाखौँ बालबालिकासमेत मानसिक सन्तुलन नै गुमाउने गरी दण्ड सजाय भोगिरहेका देखिन्छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्थालाई सुधार्न हामी बनाउँछौँ हाम्रो विद्यालय अभियानमा लाग्न काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ । शिक्षामा गुणस्तर उकास्न सर्वप्रथम विद्यालयको वातावरण विद्यार्थीमैत्री हुनु आवश्यक छ । विद्यार्थीलाई विद्यालय जाउँ जाउँ, सिकौँ सिकौँ लाग्ने वातावरण बनाउने मुख्य भूमिका प्रधानाध्यापकको हुन्छ । शिक्षक र विद्यार्थीका हरेक सिकाइ क्रियाकलापहरूको मध्यस्थता गराउने काम प्रधानाध्यापककै हो । सक्षम प्रधानाध्यापकले नै विद्यालयको वातावरण समयानुकूल शिक्षण र सिकाइमैत्री बनाउने भएकाले बडो सुझबुझका साथ प्रधानाध्यापकको नियुक्ति गर्नुपर्छ । सकारात्मक व्यवहार र बोली वचनले विद्यार्थीको सिक्ने क्षमतालाई प्रधानाध्यापकसँगै शिक्षकले उकास्नुपर्छ । निश्चित उमेर पुगेपछि आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर हुनसक्ने शिक्षा आजको खाँचो हो ।
हाम्रो शिक्षा प्रणालीको कमजोरी पहिल्याउँदै जीवनोपयोगी र रोजगारमूलक शिक्षा अपनाउन सकिएको छैन । विद्यार्थीलाई केही नयाँ नयाँ कुरा सिकौँ भन्ने खालको शिक्षाको व्यवस्था किन गर्दैन सरकारले ? अब हामीले शास्त्रको ज्ञान दिने होइन सीप सिकाउने शिक्षा व्यवस्था आजको खाँचो हो ।
हामीले ठेलीका ठेली किताबी ज्ञानभन्दा जीवन जीउन आवश्यक सामान्य तर प्रखर सीप विद्यालय तहदेखि नै सिक्दै सिकाउँदै लैजान आवश्यक छ । साँच्चै भविष्यमा जीवन जीउनसक्ने सीपमूलक शिक्षा भएको भए गाउँका विद्यार्थी सहर पस्नु पर्दैनथ्यो । ग्रामीण क्षेत्रमै खपत हुने सीपहरू सिलाइ बुनाई, डोको नाम्लो, राडी पाखी, चकटी ढक्की, कोठा सजाउने कागज तथा कपडाका खेलौना र सजावटका सामग्रीहरू विद्यार्थीलाई सिकाएर प्रशस्तै बनाउन लगाउने र विद्यालयबाटै व्यापारीले बजारमा पु¥याउने व्यवस्था गर्न सके शिक्षण सिकाइ प्रणालीमा आउने परिवर्तनले विद्यार्थी पनि सिक्न उत्साहित हुन्छन् । उत्पादनमूलक शिक्षाले राज्यलाई समेत आर्थिक उन्नतिमा सहयोग पुग्दछ । यस्तो सिकाइमा कुनै डर, धम्कीबिना नै विद्यार्थीहरू सिकाइमा उत्प्रेरित हुन्छन् ।
विद्यार्थीले आफ्नै प्रयासबाट धेरै कुरा सिक्न सक्छन् । भाषिक सीप बालबालिकाका लागि पहिलो आवश्यकता हो त्यसपछि प्रविधिमूलक सीप र तेस्रो जीवनोपयोगी सीप जुन सीप जीवनयापनको माध्यम बनोस् । भाषिक सीपअन्तर्गत अङ्ग्रेजी र नेपाली भाषामा राम्रोसँग बोल्न लेख्न पढ्न र अभिव्यक्ति प्रकट गर्न सक्षम बनाउनुपर्छ । भाषा सामाजिकरणको पहिलो आवश्यकता भएकाले भाषा शिक्षामा शैक्षिक संस्थाहरूले विशेष जोड दिनुपर्छ । आजको युग प्रविधिको युग भएकाले प्रविधि चलाउन र प्रयोग गर्न सिकाउनु पर्छ । पाँच कक्षादेखि नै कुनै न कुनै सीपमूलक सिकाइ कक्षाका विद्यार्थीलाई रुचिअनुसार समूह बनाएर दुई वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर सिकाउन सकिन्छ ।
व्यावसायिक शिक्षा सहरमा भन्दा गाउँमा अझ फस्टाउन सक्छ । गाउँमा त्यत्तिकै फ्याकिने मकैको खोस्टाबाट बनाइएको रङ्गरोगनसहितको सुन्दर चकटी हामी सहर बजार पु¥याएर पाँच सयदेखि पाँच हजारसम्म बेच्न सक्छौँ भने विद्यालयहरूमा अन्य सीपमूलक सिकाइका क्षेत्र कति फराकिलो होला ? गाउँका खाली जग्गा जमिन सस्तोमा भाडामा लिएर देशको समृद्धि व्यावसायिक कृषिको अभियानमा आधारभूत तहदेखिकै विद्यार्थीलाई क्रमशः संलग्न गराउनसके गाउँमै उत्पादनसँगै रोजगारीसमेत बढ्न सक्छ । शिक्षण कार्य स्वयं नै कला र सीपको संयोजन पनि भएकाले बालबालिकालाई पनि सीपमूलक व्यवसायको सुरुवात शिक्षालयबाटै गर्न सकिन्छ । यसका साथै सीपमूलक शिक्षालाई अझ प्रखर बनाउन विद्यार्थी तथा शिक्षकले सूचना तथा सञ्चारका विभिन्न साधनको प्रयोग गरी सीप सिकाइ क्रियाकलाप सञ्चालन गर्ने बानी बसाल्नुपर्छ ।