• २९ वैशाख २०८२, सोमबार

बुद्धोपदेशको वैश्विक महत्व

blog

ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ र मोहबाट टाढा रहेर बुद्धले आत्म नियन्त्रण गर्न सकेका थिए । रिस, घृणा तथा दुर्भाव र अन्य नकारात्मक भावनामाथि पूर्ण नियन्त्रण गर्दै उनले आफ्नो मनलाई पूर्णतः शान्त राखी ध्यानतर्फ केन्द्रित गरेका थिए । आफैँलाई बुझ्ने र आफैँलाई सुधार्ने कामले मानिसलाई धेरै दुर्गुणबाट बचाउने मात्र होइन स्वयंमाथि विश्वास पनि बढाउँछ । आफ्नै ज्ञान, परिश्रम र अनुभवमाथि विश्वास भएमा मानिसको मनमा शान्ति र खुसी प्राप्त हुन्छ । यसरी मनोवैज्ञानिक शान्ति आजका मानिसका लागि प्रमुख आवश्यकता हुन गएको छ । बुद्धले भनेका छन्, “अतीत वा भविष्यका उल्झनहरूबाट मुक्त भएर वर्तमानमा बाँच्न सिक्यौँ भने जीवन धेरै सरल लाग्दछ । अनि  अरूमाथि दया तथा करुणापूर्ण व्यवहार गर्ने हो भने समाजमा प्रेमको विस्तार हुन्छ । सम्पूर्ण प्राणीप्रति प्रेम र करुणापूर्ण व्यवहार गर्ने हो भने विश्व नै आफ्नो हो जस्तो लाग्न थाल्छ । साँचो जीवनको अनुभूतिका लागि सधैँ साँचो बोल्नु पर्छ, असत्य वचनबाट सधैँ जोगिनु पर्छ ।” 

आज जहाँ विश्वमा अशान्तिको वातावरण र तनावमा वृद्धि भएको देखिएको छ, त्यहाँ बुद्धको उपदेशको महत्व बढेको देखिन्छ । जहाँको वातावरणमा तनाव हुन्छ त्यहाँ व्यक्ति तथा समाज दुवैले शान्तिको अनुभूति गर्न पाउँदैन । समाजमा अशान्ति हुँदा त्यहाँका कुनै पनि व्यक्तिले चाहेर पनि शान्तिको अनुभूति गर्न नपाउने सत्यलाई स्वीकार गर्नु पर्छ । अनि हरेक व्यक्तिको मनभित्रैबाट शान्तिको अनुभूति हुन बुद्धले क्रोधमाथि नियन्त्रण र ईष्र्याबाट जोगिनुपर्ने उपाय बताएका छन् । उनले क्रोधलाई आगोसँग तुलना गर्दै जसको मनमा रिस हुन्छ सबैभन्दा पहिले उसैलाई जलाउने बताएका छन् । यसै गरी ईष्र्याले व्यक्तिको मनको शान्तिलाई नाश गर्ने भएकाले  अरूप्रति ईष्र्या भाव राख्नु हुँदैन । भगवान् बुद्धले भनेका छन्, “शङ्काबाट टाढा बस्नु पर्छ तथा बिनाकारण कसैमाथि शङ्का गर्नुहुँदैन ।” क्रोधी, ईष्र्यालु तथा शङ्कालु मानिस नै बढी दुःखी हुने गरेको बुद्धको बुझाइ देखिन्छ । 

कार्य कारण सम्बन्धबारे बुद्धको विचार अत्यन्त वैज्ञानिक पनि छ । बुद्धले भनेका छन्, मानिसहरू दुःखी छन् । दुःखी हुनुको पछाडि कारण छ र दुःखले दिने परिणाम पनि छ । अनि उनले भनेका छन्, “मानिसले चाहेमा दुःखबाट मुक्ति पाउन सकिन्छ । मुक्तिको उपाय पनि छ ।” उनले दुःखको मूल कारक तृष्णा वा इच्छा भएको बताएका छन् । अत्यधिक चाहना राख्नु, योग्यता तथा दक्षता र क्षमताभन्दा बढी प्राप्त गर्न खोज्नु, लक्ष्य प्राप्तिका लागि उचित प्रयास वा सङ्घर्ष नगर्नु, सत्यको मार्गमा नहिँड्नु आदि दुःखका कारण हुन् । तृष्णाबाट टाढा रहनका लागि आष्टाङ्गिक मार्गको पालनमाथि बुद्धले जोड दिएका छन् ।

सत्यलाई बुझ्ने तथा गलत विचारको प्रभावबाट जोगिने सम्यक दृष्टि, राम्रो विचार तथा भावनालाई ग्रहण गर्दै खराब विचारबाट टाढा रहने सम्यक सङ्कल्प, सत्य, मधुर र उपयोगी वचन बोल्ने सम्यक वाक्, असल कर्म गर्ने र खराब कर्मबाट जोगिने सम्यक कर्म, धर्मको आधारमा आजीविका प्राप्त गर्ने सम्यक आजीविका, राम्रो कर्म गर्ने प्रयास र खराब कर्म रोक्ने प्रयास गर्ने सम्यक व्यायाम, मनलाई शान्त राख्नु र ध्यान गर्नु सम्यक स्मृति तथा एकाग्रता र ध्यानमा वृद्धि गर्नु सम्यक समाधि अष्टाङ्ग मार्ग हुन् । मानिसको जीवनलाई सार्थक बनाई आफ्नो लक्ष्यमा पुग्न तथा दुःखबाट मुक्ति पाउनका लागि अष्टाङ्ग मार्गले सिकाउँछ । यसलाई बुद्ध धर्मको प्रमुख शिक्षा पनि मानिएको छ । 

वर्तमानको वैश्विक तनावलाई कम गर्न बुद्ध उपदेश र बौद्ध साहित्य पनि सार्थक हुन सक्छ । संयोग नै मान्नु पर्छ कि अहिलेको वैश्विक तनावमा बौद्धमार्गी देशहरूको संलग्नता निकै कम छ । हुन त विश्व परिवेशमा प्रत्यक्ष वा परोक्षरूपमा आज हरेक देश एकअर्काबाट प्रभावित छ तर पनि प्रत्यक्ष आन्तरिक अशान्ति र अन्य देशसँग युद्धको स्थितिमा बौद्धमार्गी देशहरू निकै कम छन् । शान्ति, उन्नति र विकासका लागि बौद्धमार्गी देशहरूले निरन्तर प्रयास गरेको देखिन्छ । 

भगवान् बुद्धको जन्मथलो नेपाल हो । नेपालले विश्व शान्तिका लागि अखण्ड दीप बालेको छ । भगवान् बुद्धलाई एसियाको तारा तथा विश्व शान्तिको अग्रदूत मानिएको छ । विश्वको कुनै पनि कुनाबाट मनमा वा देशमा शान्ति खोज्नेहरूले सबैभन्दा पहिले बुद्धलाई सम्झन्छन् । वर्तमान विश्व परिवेशमा शान्ति र अहिंसाको महìव बढिरहँदा नेपालको असंलग्न परराष्ट्र नीतिसँगै बौद्ध शिक्षाको प्रसारले अनेक फाइदा लिने सम्भावनालाई विस्तार गरेको छ । एकातिर बौद्ध पर्यटनका लागि बुद्ध कोरिडोरको निर्माण, व्यवस्थापन तथा प्रचारप्रसारले देशमा पर्यटकको आगमन भई आर्थिक उन्नतिमा लाभ हुने देखिन्छ भने अर्कोतिर बुद्धका उपदेशहरूको प्रचारप्रसार हुन्छ । यसले विश्व शान्तिमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्पष्ट देखिन सक्छ । अन्ततः शान्ति नै विश्वका मानव समुदायको चाहना हो । यसलाई नेपालले बौद्ध शिक्षा तथा उपदेशमार्फत सम्बोधन गर्न सक्छ ।

सिद्धार्थ गौतमको जीवनमा त्यागको ठुलो महत्व रहेको छ । त्याग पनि एक किसिमको बलिदान हो । सत्य प्राप्तिको पहिलो आधार नै त्याग भएको र त्यसपछि कठिन सङ्घर्षले जीवनको उद्देश्य प्राप्ति हुने उनको जीवनीबाट पाइने मूल्यवान् शिक्षा हो । नेपालले उनको त्याग र सङ्घर्षका साथै विश्व शान्तिका लागि उनका उपदेश र शिक्षाको योगदानको बारेमा प्रकाश पार्नु उचित हुने छ । जसरी भगवान् बुद्धलाई विश्व शान्तिको प्रतीक मानिन्छ, त्यसरी नै लुम्बिनीलाई सम्पूर्णतः विश्व शान्तिको प्रतीकभूमिको रूपमा चिनाउन पनि नेपालले सार्थक प्रयास गर्नु आवश्यक देखिन्छ । विश्व शान्तिको अवतारको जन्मथलोलाई चिनाउन सके नेपालले ठुलो लाभ लिन सकिने सम्भावना रहेको छ । 

बदलिँदो विश्व परिवेशमा बुद्धको ज्ञान, उपदेश तथा शिक्षाबाट आर्थिक, राजनीतिक तथा अन्य कारणले देखापर्ने वैश्विक समस्यामा समाधानको सूत्र खोज्नुपर्ने देखिन्छ । राजनीतिक तनाव व्यवस्थापनमा बौद्धसूत्रको सहयोग लिन सकिन्छ । बुद्धको चिन्तन र दर्शनसम्बन्धी अनेक अनुसन्धान भएका छन् तर विश्वका नयाँ चुनौतीको समाधानमा बौद्ध शिक्षा तथा दर्शनको उपयोगिता सम्बन्धमा अध्ययन, अन्वेषण र अनुसन्धान गर्ने नेतृत्व पनि नेपालले लिनु परेको छ । बुद्धोपदेशको गहन अध्ययनले कसरी विश्वको सङ्कटलाई कम गर्दै समस्या समाधानतर्फ उन्मुख गर्न सक्छ भन्ने दृष्टिकोण पनि दिनु परेको छ । बुद्धोपदेश केवल सिद्धान्त वा दर्शन मात्र नभई समस्याहरूको समाधानका सूत्रहरू पनि हुन् भन्ने सत्यलाई व्यावहारिक दृष्टिकोणले देखाउनु परेको छ । शान्तिको माध्यमले नै उन्नतिको मार्ग पहिल्याउन सकिन्छ र शान्त चित्तले नै कुनै पनि समस्याको वास्तविक समाधान खोज्न सकिन्छ भन्ने भावलाई फैलाउन नेपालले विश्वमा अहम भूमिका निर्वाह गर्न सक्छ । शान्ति र सहअस्तित्वको मार्गमा बुद्धोपदेश र शिक्षाको ठुलो महत्व हुने कुरा सबैलाई बुझाउनु अहिलेको आवश्यकता भइसकेको छ ।