काठमाडाैँ, वैशाख २८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न नसक्ने बताउनुभएको छ । आईतवार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजि वार्ड तथा पिआइसियु कक्षको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रशासनलाई साँघुरो बनाएर भएपनि प्रशासनका कोठाहरु उपचारका निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुर क्यान्सर अस्पतालको भौतिक संरचना निर्माणका लागि जग्गा नपाइरहेको भन्दै जग्गा भेटेको खण्डमा यही वर्ष बहुवर्षे आयोजना अन्तर्गत पूर्वाधार निर्माणको कार्यक्रम राख्न सकिने बताउनुभयो । उहाँले सरकारले १४ वर्ष मुनिका क्यान्सरका बिरामी बालबालिकाको उपचार निःशुल्क गरिरहेको र करिव ८० प्रतिशत औषधी समेत निःशुल्क भएको स्थिति रहेको बताउनुभयो ।
हेमोफेलियाको औषधी ल्याएर अस्पतालमा उपलब्ध गराएर निःशुल्क वितरण भएको जानकारी दिनुभयो । मन्त्री पौडेलले भन्नुभयो, "१४ वर्ष मुनिका क्यान्सरका बिरामी बालबालिकाको उपचार निःशुल्क हुन्छ भन्याैँ । हामीले तत्काल लागु गरेका छाैँ । सरकारले कुनै थप रकम दिएको छैन, अस्पतालले नै लागु गरिरहेको छ । अस्पतालको क्षमता जबरजस्त बढाएर सेवा बिस्तार गर्ने कोशिस गरिरहेका छौँ । बाहिर के भनिन्छः श्रोत सुनिश्चित नगरी घोषणा गरिएको छ भनिन्छ । यहाँ घोषणा गरेको के गफ गरेको कुरा मात्रै हो त रु त्यसैले श्रोत आन्तरिक रुपमा नै हामीले उपलब्ध गराएर, राज्यलाई भार नपर्ने गरी, उदारो नहुने गरी सेवा, शुरु गरेपछि बीचमै बन्द नहुने गरी हामीले आन्तरिक साधन, श्रोतलाई नै उपयोग गरेर सेवा बिस्तार गरिरहेको स्थिति छ ।
"हामीले जलन उपचार निःशुल्क बनायौँ । १४ वर्ष मुनिका बालबालिकाको उपचार निःशुल्क बनाएका छौँ । त्यहाँ करिव ८० प्रतिशत औषधि समेत निःशुल्क भएको स्थिति छ । स्टोक जस्तो महंगो औषधि पनि हामीले तीन वटा अस्पतालमा निःशुल्क गरेर औषध उपलब्ध गराएका छौँ । हेमोफेलियाको औषधि ल्याएर अस्पतालमा उपलब्ध गराएर निःशुल्क वितरण भएको छ," उहाँले थप्नुभयाे ।
राज्यसँग श्रोत छैन, श्रोत छैन भनेर यत्तिकै बस्न नहुने समेत उहाँले उल्लेख गर्नुभयाे । "स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैन । उपचारात्मक क्षेत्रमा मात्रै जनशक्ति बढ्छ । डाक्टर चाहिएको छ, प्रशासक ल्याएर त हुँदैन," उहाँले भन्नुभयाे ।
यस्तै, मन्त्री पौडेलले अधिकतम क्षमताबाट उपचार बिस्तार गर्नुपर्ने बताउनुभयो ।