• १५ असार २०८१, शनिबार

संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

blog

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा कोभिड व्यवस्थापन समितिको बैठक । तस्विर : नारद कोहार

नारद कोहार

तौलिहवा, साउन ९ गते । कोभिड व्यवस्थापन समिति कपिलवस्तुले कोरोना संक्रमण दरलाई न्यूनिकरण गर्न स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न व्यवस्थापन समितिको बैठकले सो आग्रह गरेको हो ।

कोभिड १९ संकट ब्यवस्थापन समन्वय केन्द्रले गत साउन ३ गते गरेको निर्णय कार्यान्वय गर्न सबैलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो “केही दिन यता देशब्यापी रुपमा कोरोना संक्रमितको संख्या बढेपछि सबैलाई सजग रहन आग्रह गरिएको छ ।”  

कोरोना फैलिन नदिन भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, भुमिसुधार र नापी कार्यालयमा आएको सेवाग्राहीको नमुना एन्टीजेन परीक्षण समेत लिने समितिले निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताउनुभयो । नमुना परीक्षणका लागि आवश्यक जनशक्ति तयार गरी चाँडै नमुना परीक्षण गरिने उहाँको भनाइ छ ।

कोभिड प्रतिकार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, ओषधी र जनशक्तिलगायत तयारी अवस्थामा राख्ने समेत निर्णय गरिएको छ । पूर्व तयारीका लागि खर्चको अनुमान गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखी पठाउने समितिले निर्णय गरेको छ ।

बैठकमा कपिलवस्तु् अस्पतालका मेडिकल सुप्रीटेण्डेन डा. किशोर बन्जाडेले अस्पतालमा जनशक्ति र बजेट अभावले समस्या परेको बताउनुभयो । कोरोना फैलिन नदिन जिल्लाका १० वटै पालिकालाई सजग रहन र पूर्व तयारीमा रहन समेत आग्रह गरिएको छ । 

जिल्लामा सोमवारसम्म १४ जनामा सक्रिय संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । कृष्णनगर नाकामा गरिएको एन्टीजेन परीक्षणका क्रममा आइतवार मात्र १४ जना संक्रमित फेला परेका छन् । बैठकमा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरुको समेत सहभागिता रहेको थियो  ।