• २८ चैत २०८२, शनिबार

इस्टर अवसरमा रुस–युक्रेनबिच अस्थायी युद्धविराम सुरु

blog

किएभ, चैत २८ गते । चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबिच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ । अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू अपेक्षित रूपमा सफल हुन नसकेको सन्दर्भमा यो कदमलाई मानवीय राहतको सानो तर महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।

क्रेमलिनले जारी गरेको निर्देशनअनुसार शनिबार साँझ ४ बजे (१३०० जिएमटी) देखि आइतबार रातिसम्म ३२ घण्टे युद्धविराम लागू हुनेछ । यस अवधिमा सबै मोर्चामा शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्न रक्षामन्त्री आन्द्रेई बेलोसोभ र सेना प्रमुख भ्यालेरी गेरासिमोभलाई आदेश दिइएको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि आफ्नो देश इस्टरका अवसरमा युद्धविरामका लागि तयार रहेको कुरा पटक–पटक व्यक्त गर्दै आएको उल्लेख गर्नुभएको छ । उहाँले रुसको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिन इच्छुक रहेको बताउनुभयो ।

यद्यपि, यो अस्थायी युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले यस विषयमा युक्रेन वा संयुक्त राज्य अमेरिकासँग पूर्व छलफल नगरेको स्पष्ट पार्दै यो कदमलाई छुट्टै मानवीय पहलका रूपमा प्रस्तुत गर्नुभयो ।

यसबिच, युद्धविराम लागू हुनुअघि पनि हिंसात्मक घटना रोकिएका छैनन् । युक्रेनको पोल्टावा र सुमी क्षेत्रमा शुक्रबार राति भएका छुट्टाछुट्टै आक्रमणमा एक जनाको ज्यान गएको र करिब १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनी वायु सेनाका अनुसार रुसले बिहीबार राति मात्रै १२८ वटा ड्रोन प्रहार गरेको थियो ।

अमेरिकी मध्यस्थतामा भएका शान्ति वार्ताहरूले अहिलेसम्म ठोस उपलब्धि हासिल गर्न सकेका छैनन् । मस्कोले क्षेत्रीय तथा राजनीतिक छुटहरूको माग गरिरहेको छ, जसलाई युक्रेनले आत्मसमर्पणसरह ठानेर अस्वीकार गर्दै आएको छ । त्यसमाथि, अमेरिकाको ध्यान पछिल्लो समय मध्यपूर्वतर्फ केन्द्रित भएकाले पनि वार्ता थप जटिल बनेको छ ।

युद्धले अहिलेसम्म लाखौँ मानिसको ज्यान लिइसकेको छ भने करोडौँ विस्थापित भएका छन् । दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक द्वन्द्वका रूपमा यसलाई लिइन्छ । मोर्चामा पछिल्ला वर्षहरूमा लडाइँ केही हदसम्म स्थिर भए पनि रुसले सानो–सानो क्षेत्रीय उपलब्धि महँगो मूल्य चुकाएर हासिल गरिरहेको छ ।

तर, सन् २०२५ को अन्त्यदेखि रुसको प्रगति सुस्त बन्दै गएको विश्लेषणहरू सार्वजनिक भएका छन् । युक्रेनले दक्षिणपूर्वी क्षेत्रमा केही प्रतिआक्रमण गर्दै रुसलाई पछाडि धकेल्न सफल भएको बताइएको छ । साथै, प्रविधि तथा सञ्चारमा देखिएका अवरोधहरू, विशेषगरी स्टारलिङ्क स्याटेलाइट प्रयोगमा लगाइएको प्रतिबन्ध र टेलिग्राम एप नियन्त्रण गर्ने प्रयासले पनि रुसको सैन्य गतिमा असर पारेको विश्लेषकहरूको भनाइ छ ।

यद्यपि, डोनेट्स्क क्षेत्रका क्रामटोरस्क र स्लोभियान्स्क सहरतर्फको अवस्था भने अझै युक्रेनका लागि चुनौतीपूर्ण रहेको बताइएको छ । हालसम्म रुसले युक्रेनको करिब १९ प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ, जसको अधिकांश भाग द्वन्द्वको सुरुआती चरणमै कब्जा गरिएको थियो ।

यस्तो अवस्थामा इस्टर युद्धविरामले केही समयका लागि हिंसा रोकिए पनि स्थायी शान्तिको सम्भावना भने अझै अनिश्चित देखिएको छ । रासस/एएफपी