• २८ चैत २०८२, शनिबार

आकाशे पानीकै भरमा बदेडाबासीको हिउँदे खेती

blog

आकाशे पानीको भरमा लगाइएको बदेडाबासीको हिउँदे बाली (गहुँ)। तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, चैत २८ गते ।
बाजुराको बुढीगङ्गा नगरपालिका–१० का बदेडाबासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्।

उनीहरूका लागि प्रशस्त उब्जनीयोग्य जमिन भए पनि त्यस क्षेत्रमा पुस्तौँदेखि हालसम्म सिँचाइ सुविधा छैन। सिँचाइ सुविधा नहुँदा यहाँका स्थानीयले पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली खेती गर्दै आएका हुन्।

बुढीगङ्गा नगरपालिकाका स्थानीय प्रेम नेपालीले गाउँमा उब्जनीयोग्य जमिन प्रशस्त भए पनि सिँचाइ सुविधा नभएको बताउनुभयो।

उहाँले भन्नुभयो, “कात्तिक–मङ्सिरमा पानी परे खेती लगाउँछु, पानी नपरे बाँझै छोड्छौँ।”

कात्तिक–मङ्सिरमा आकाशे पानीको भरमा लगाइएको हिउँदे बाली पुस–माघमा पर्ने पानीले केही राहत दिने भए पनि पानी नपरे बाली सुकेर नष्ट हुने गरेको उहाँले बताउनुभयो।

बदेडा क्षेत्रमा माथिल्लो खेत, खापरमाण्डौ, तोल्यान, बाउँकुडा, कालापातल, तल्लामाण्डौ, बाउनेमाडु, पानीभुवा, रोल, भतुडा, डाँडा, कबलतोला लगायतका ठाउँमा प्रशस्त जमिन छ।

कालापातल र रोल क्षेत्रमा केही जमिनमा सिँचाइ सुविधा भए पनि अन्य ठाउँमा सिँचाइ सुविधा छैन।

स्थानीयहरू पुस्तौँदेखि आकाशे पानीकै भरमा खेती गर्दै आएका छन्। हिउँदमा पानी परे गहुँ–जौ राम्रो उत्पादन हुन्छ भने पानी नपरे बाली पूर्ण रूपमा नष्ट हुने अवस्था रहने गरेको छ।

सुख्खा खडेरी परे यहाँका स्थानीयमा भोकमरीको जोखिम समेत रहने गर्छ। सिँचाइ अभावका कारण धेरैजसो स्थानीय रोजगारीका लागि भारत जाने गरेका छन्।

कतिपयले हिउँदमा जमिन बाँझै राख्ने र वर्षायाममा मात्र खेती गर्ने गरेका छन्। यहाँ वर्षायाममा धान र कोदो बढी उत्पादन हुने भए पनि हिउँदे बाली कम लगाइने गरिन्छ।

अन्य क्षेत्रका खेतबारीमा सिँचाइ कुलोको व्यवस्था भए पनि बदेडाबासीले भने पुस्तौँदेखि सिँचाइ सुविधाबाट वञ्चित रहनुपरेको छ।

बदेडामा करिब २५० परिवार बसोबास गर्छन्। तीमध्ये धेरैजसो परिवार हाल भारतमा रहेको स्थानीय बताउँछन्। खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावले उनीहरू रोजगारीका लागि भारत जान बाध्य छन्।

बुढीगङ्गा नगरपालिका–१० की वडा सदस्य जगु सार्कीले गाउँ नजिक पानीको मुहान नभएको र टाढाबाट योजना ल्याउन ठुलो लगानी आवश्यक पर्ने भएकाले पालिकाले तत्काल व्यवस्था गर्न नसकेको बताउनुभयो।

वर्षायाममा पानीका मुहान फुट्ने गरे पनि हिउँदमा ती मुहान चाँडै सुक्ने भएकाले जमिनमा सिँचाइको अभाव हुने गरेको छ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब २ लाख ३० हजार ३७ हेक्टर जमिन रहेको छ।
उहाँले भन्नुभयो, “त्यसमध्ये करिब ५ हजार २ सय ३५ हेक्टर जमिनमा मात्र वर्षभर सिँचाइ सुविधा छ।”

जिल्लामा करिब १० हजार ४६० हेक्टर जमिनमा गहुँ खेती हुने र त्यसबाट वार्षिक करिब १७ हजार ७८२ मेट्रिक टन उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो।