• २३ चैत २०८२, सोमबार

रौतहटको ग्रामीण भेगमा भकारीको प्रयोग अझै यथावत्

blog

अन्न भण्डारण गर्ने परम्परागत साधन भकारी । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, चैत २३ गते । रौतहटको ग्रामीण भेगमा अन्न भण्डारण गर्ने परम्परागत साधन ‘भकारी’ हालसम्म पनि प्रयोग मै छ ।

बढ्दो आधुनिकता र बजारमा आयातित प्लास्टिक तथा धातुजन्य भाँडाकुँडाको सहज उपलब्धतासँगै अन्न भण्डारणका परम्परागत साधन भकारी क्रमशः ओझेलमा पर्दै गएको अवस्थामा रौतहटको ग्रामीण भेगमा भने यसको प्रयोग यथावत् छ ।

भकारी प्रायः बाँस, माटो र परालको प्रयोगगरी बनाइने अन्न भण्डारण गर्ने परम्परागत संरचना हो । यसले अन्नलाई सुरक्षित राख्ने, कीरा फट्याङ्ग्राबाट जोगाउने तथा लामो समयसम्म गुणस्तर कायम राख्ने विशेषता बोकेको हुन्छ ।

गुजरा नगरपालिका–४ का जेष्ठ नागरिक रघुनाथ चौधरी भन्नुहुन्छ, “आधुनिक भाँडाकुँडाले सहजता दिए पनि भकारीले दिने प्राकृतिक संरक्षण र वातावरणमैत्रीपनको विकल्प भेटिन कठिन छ । जसले स्थानीय संस्कृतिको निरन्तरता मात्र होइन, आर्थिक र सिप मूलक पक्षलाई पनि सुदृढ बनाउँछ ।”

यसैगरी वृन्दावन नगरपालिकाका युवा रुपेन्द्र पटेलले पुर्खादेखि चल्दै आएको भकारीले अन्न सुरक्षित राख्न सहयोग गर्नुको साथै घरको पहिचान समेत गराउने धारणा व्यक्त गर्नुभयो ।

उहाँका अनुसार ग्रामीण क्षेत्रमा अझै पनि धान, मकै, गहुँजस्ता अन्न भकारीमै भण्डारण गर्ने चलन हराई सकेको छैन । विशेष गरी चन्द्रपुर, गुजरा, वृन्दावन, कटहरिया, गरुडालगायतका नगरपालिकामा बसोवास गर्ने थारू समुदायका जमिनदारको घरमा अझै पनि भकारी प्रयोगमा रहेको देखिन्छ ।

पछिल्लो समय युवापुस्तामा परम्परागत सिपप्रति चासो घट्दै जाँदा भकारी बनाउने कारिगर पनि कम हुँदै गएका छन् । बजारमा सजिलै पाइने प्लास्टिकका ड्रम, धातुका भाँडा र अन्य आधुनिक विकल्पले स्थान लिँदै जाँदा यो हाम्रा परम्परा सङ्कटमा भने पर्न थालेको भवानीपुर माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र चौधरीले बताउनुभयो ।

चन्द्रपुर नगरपालिकाका नगर प्रवक्ता विष्णुप्रसाद उप्रेती भन्नुहुन्छ, “भकारीको संरक्षण केवल सांस्कृतिक पक्षसँग मात्र जोडिएको छैन ।यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने सम्भावना पनि बोकेको छ । बाँस काट्ने, बुनाइ गर्ने, माटोले लेपन गर्ने जस्ता कामहरूमा आधारित यो सीपले गाउँमै आम्दानीको स्रोत प्रदान गर्न सक्छ ।स्थानीय तह र सरोकारवाला निकायले भकारी निर्माणसम्बन्धी तालिम, प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग पुर्‍याउनसके परम्परागत सिप जोगिन सक्छ । वातावरणमैत्री र दिगो जीवनशैलीतर्फ बढ्दो विश्वव्यापी चासोलाई मध्यनजर गर्दै भकारीलाई “इको–फ्रेन्ड्ली” विकल्पका रूपमा प्रवर्धन गर्न सकिने देखिन्छ । त्यसैले रौतहटका ग्रामीण भेगमा अझै जीवित रहेको भकारीको चलनलाई संरक्षण र प्रवर्धन गर्नु आजको आवश्यकता हो ।”