• २० चैत २०८२, शुक्रबार

तराई मधेसको सिँचाइ र ऊर्जा सङ्कट समाधान गर्न मन्त्री श्रेष्ठलाई अन्सारीको ध्यानाकर्षण

blog

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गर्नुहुँदै राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारी।

काठमाडौँ, चैत २० गते । राष्ट्र निर्माण दलका अध्यक्ष एवं मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटी तराई मधेसमा व्याप्त पानीको अभाव र विद्युत् समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा भएको भेटमा अध्यक्ष अन्सारीले नेपालभर नै पानीको अवस्था नाजुक रहेको र विशेष गरी तराई मधेसमा गत वर्ष पानीको अभावले सङ्कटकाल घोषणा गर्नुपर्ने अवस्था आएको स्मरण गराउनुभयो । उहाँले तराई मधेसको नाजुक अवस्थालाई सुधार गर्न मन्त्रालयमार्फत ठोस नीति र निर्देशन जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटका क्रममा अन्सारीले भन्नुभयो, “झ्यापझ्याप बत्ती जाने र सिँचाइको समयमा खेतमा पानी नपुग्ने समस्या समाधान गर्न मन्त्रीज्यूको क्षमतामा मलाई विश्वास छ । तराई मधेसको अवस्था अत्यन्तै नाजुक छ, त्यसलाई सुधार गर्न मन्त्रालयमार्फत ठोस नीति आओस् भन्ने मेरो चाहना छ ।”

जवाफमा मन्त्री विराजभक्त श्रेष्ठले मधेसको मरुभूमीकरण र जलवायु परिवर्तनको असरलाई आफूले गम्भीरताका साथ लिएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण भइरहेको पलायन रोक्न र पुराना योजनाहरूलाई द्रुत गतिमा अघि बढाउन समितिहरू परिचालन गरिएको जानकारी दिनुभयो ।