• २० चैत २०८२, शुक्रबार

गण्डकी प्रदेशको विकासबारे प्रधानमन्त्रीको चासो, क्षेत्रीय समस्या समाधानमा जाेड

blog

प्रधानमन्त्री वालेन्द्र शाह शुक्रबार गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन 

काठमाडौँ, चैत २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्यहरूसँग शुक्रबार सामूहिक छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले विकास निर्माण र समसामयिक राजनीतिक विषयमा विभिन्न प्रदेशका सांसदसँग गर्दै आउनुभएको निरन्तर संवादको क्रममा आज गण्डकी प्रदेशका जनप्रतिनिधिसँग संवाद गर्नुभएको हो ।

तत्काल गर्न सकिने काममा केन्द्रित

प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार छलफल मुख्यतः गण्डकी प्रदेशको विकास, पूर्वाधारका आयोजना र जनताका तत्कालीन आवश्यकताहरूमा केन्द्रित थियो । 

प्रधानमन्त्रीले गण्डकी प्रदेशबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित विभिन्न राजनीतिक दलका सांसदसँग उहाँहरूको निर्वाचन क्षेत्रमा तत्काल कार्यान्वयन गर्न सकिने योजनाका विषयमा सुझाव माग्नुभएको थियो ।

छलफलका क्रममा सहभागी सांसदहरूले आ–आफ्नो क्षेत्रका सडक, खानेपानी, पर्यटन प्रवद्र्धन र अधुरा आयोजनाहरूका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । 

उहाँहरूले प्रदेशको राजधानी पोखरालाई अन्य जिल्लासँग जोड्ने सडक सञ्जालको स्तरोन्नति र कृषि क्षेत्रको आधुनिकीकरणका लागि विशेष बजेटको मागसमेत गर्नुभयो ।


सचिवालय र मन्त्रालयबाट सहजीकरण हुने

सांसदका कुरा सुनेपछि प्रधानमन्त्री शाहले जनगुनासो र विकासका आवश्यकतालाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो । "सांसदहरूले आ–आफ्नो क्षेत्रका समस्या र सम्भावनाहरू राख्नुभएको छ," सञ्चार सहजकर्ता बजगाईंले भन्नुभयो, "प्रधानमन्त्रीको सचिवालय र सम्बन्धित मन्त्रालयहरूले ती विषयलाई अध्ययन गरी आवश्यक सहजीकरण गर्नेछन् ।"

यसअघि प्रधानमन्त्रीले अन्य प्रदेशका सांसदसँग पनि यस्तै प्रकारको छलफल गरिसक्नुभएको छ । जनप्रतिनिधि र सरकार प्रमुखबीचको यो सीधा संवादले विकास आयोजनाहरूमा देखिएका नीतिगत र व्यावहारिक अड्चन फुकाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।