• १३ साउन २०८१, आइतबार

देशको अवस्था सामान्य छैन : अध्यक्ष लिङदेन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाउनुभएको छ । नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई आइतबार यहाँ सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । अध्यक्ष लिङदेनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको चर्चा गर्नुभयो ।

देश पूर्णरुपले अहिले अभिभावकबिहीन भएको उहाँले टिप्पणी गर्नुभयो । अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्नेलगायतका विषयहरु सामान्य विषय बनेको बताउनुभयो । अध्यक्ष लिङदेनले नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता भएको बताउनुभयो । त्यसले देशलाई कमजोर बनाउने उहाँले दावी गर्नुभयो । कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेको उहाँले बताउनुभयो । 

अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको तर्क गर्नुभयो । देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन । देश एकप्रकारले अभिभावकबिहीन बन्दैगएको छ ।’

अध्यक्ष लिङदेनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशको समस्या समाधानका लागि अपरिहार्य रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आउने चुनाव शान्तिपूर्ण ढंगले कुनै ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर हो । हामीले सारेको देशको लागि वैकल्पिक मार्गचित्र अपरिहार्य छ ।’