• १३ साउन २०८१, आइतबार

नेपाली कम्युनिस्टका गुरु

blog

पुष्पलालको जन्म १९८१ असार १५ गते काठमाडौँमा भएको थियो। वंशका दाजु गङ्गालाल राणाशाहीविरोधी आन्दोलनमा १९८८ देखि लाग्नुभएको थियो। १९९७ सालमा राणाविरोधी आन्दोलनमा लागेका चार जना गङ्गालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराजलाई मृत्युदण्ड दिएपछि पुष्पलाल राणा शासन समाप्त नभएसम्म आजीवन लाग्ने प्रतिज्ञा गर्नुभयो। २००३ (१९४७ जनवरी २५) सालमा भारतको कलकत्तामा राणाविरोधी नेपाली राष्ट्रिय कांग्रेस गठन भयो। पुष्पलाल राष्ट्रिय कांग्रेसको कार्यालय सचिव भएर काम गर्न थाल्नुभयो। १४ अप्रिल १९४७ मा राष्ट्रिय कांग्रेसले सत्याग्रह गर्ने निर्णय ग-यो। त्यसमा पुष्पलालसहित २७ जनाले भाग लिएका थिए। राणाहरूले दमन गरे। आन्दोलनमा नलागेमा छोड्ने सर्तमा सबैलाई छोडे। राष्ट्रिय कांग्रेसभित्र दुई धार देखियो, डिल्लीरमण रेग्मी र बीपी कोइरालाबीच। कांग्रेसमा विवाद भएपछि पुष्पलाल पार्टी छोडेर कलकत्तातिर लाग्नुभयो।

नेकपा स्थापना

राष्ट्रिय कांग्रेस छोडेपछि २००६ साल वैशाख ८ गते तदनुसार १९४९ अप्रिलका दिन कलकत्तामा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नाराणयणविलास जोशी र दुर्गादेवी (मैतीदेवी) उपस्थितिमा पार्टी गठन भयो। यिनै पाँच जनामध्ये पुष्पलाललाई पार्टी महासचिव बनाइएको थियो।

पङ्क्तिकार प्रमाणपत्र तह अध्ययनका लागि बनारस गएको थियो। मेरो पहिलो सम्पर्क प्युठानका खेमराज पण्डितसँग भयो। उहाँले तीन/चार दिनपछि मलाई पुष्पलालसँग परिचय गराउनुभयो। म पुष्पलालको सम्पर्कमा आएँ। त्यहाँ कम्युनिस्ट पार्टीको दुई धार रहेछ, पुष्पलाल र तुलसीलाल। तुलसीलालले कुन बाटो भनेर लेखेको लेख पढेँ। त्यस्तै पुष्पलालले मूलबाटो भनेर लेखेको लेख पनि पढेँ। मलाई मूलबाटो मन प-यो। म अब सिधै पुष्पलालको सम्पर्कमा रहेँ। म दिनको एक पटक पुष्पलालको डेरामा जान थालेँ। उहाँ जतिबेला पनि पढ्न र लेख्नमै व्यस्त हुनुहुन्थ्यो। हामीलाई पनि कम्युनिस्ट पार्टी यस्तो हो, क्रान्तिबिना देश स्वतन्त्र हुँदैन। तपाईंहरूकै काँधमा जिम्मेवारी आएको छ भन्दै नेपाली राजनीति र अन्तर्राष्ट्रिय राजनीतिसम्बन्धी कक्षा लिनुहुन्थ्यो। 

माक्र्सवादसम्बन्धी ज्ञान भएन भने तपाईं सच्चा कम्युनिस्ट बन्न सक्नुहुन्न भनेर एक जना भारतीय मुलुकका वयोवृद्धसँग माक्र्सवाद पढ्न पठाउनुभयो। ती वृद्धलाई पठाएबापत मासिक पाँच रुपियाँ दिनुपथ्र्यो। बनारसमा छात्र सङ्घ थियो। छात्र सङ्घमा दुइटा मात्र विद्यार्थी सङ्गठन थिए। विद्यार्थी सङ्घ र अखिल अर्थात् प्रगतिशील। हामी प्रगतिशीलसँग आबद्ध भयौँ। पुष्पलालले सधैँजसो चना मटरको छोला खाएको मात्र देखेँ। भात खाएको प्रायः मैले देखिनँ। देश र जनताका लागि घरपरिवार त्यागेर समर्पित भएकाले न मीठो खानु छ न समयमा सुत्नु छ, सबै कार्यकर्तालाई सन्तुष्ट पार्नु छ। 

एक दिन मैले पुष्पलाललाई सोधेँ, “नेपालमा कम्युनिस्टको सरकार कहिले आउँछ ?” उहाँले जवाफ दिनुभयो, “जहिले नेपालमा १४ जना कम्युनिस्ट हुन्छौँ, तब कम्युनिस्टको सरकार आउँछ।” मैले सोधेँ, “अहिले हामी कति छौँ त ?” उहाँले जवाफ दिनुभयो, “हामी तीन जना मात्र छौँ, म, केशरमणि र हिक्मतसिंह भण्डारी।”

हाम्रो पढाइ सकियो, अब घर जाने बेला आयो। म उहाँलाई भेट्न डेरामा गएँ। उहाँले सरकारी नोकरी खाने होइन शिक्षक भएर जनताको बीचमा रहेर राजनीति गर्ने सुझाव दिँदै मलाई गुल्मी गएर काम गर्न खटाउनुभयो। म गुल्मी गएर एक वर्ष अध्ययन कार्य गरी पुनः बनारस गएर पुष्पलाललाई भेटेँ। त्यसपछि मलाई कपिलवस्तु खटाउनुभयो, म कपिलवस्तु आएर पार्टीको काममा लागेँ।

पुष्पलालले हामीलाई राजनीतिसम्बन्धी कक्षा लिँदा भन्नुहुन्थ्यो, “नेपालमा हामीले मात्र आन्दोलन गर्दा सफल हुँदैन, राजतन्त्र फाल्न सक्दैनौँ। हो, राजतन्त्र र कांग्रेस हाम्रा दुवै शत्रु हुन् तर बलियो दुस्मन राजतन्त्र भएको र कांग्रेसको पनि दुस्मन राजतन्त्रै भएकाले नेपाली कांग्रेस र हामी दुवै मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्छ। तब मात्र हाम्रो आन्दोलन सफल हुन्छ र नेपालमा बहुदल आउँछ।” उहाँको भविष्यवाणी २०४६ सालमा सफल भयो। वाममोर्चा र नेपाली कांग्रेसको संयुक्त जनआन्दोलन सफल भई मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भयो। 

पुष्पलाल नेपालको इतिहास लेखनमा अति दक्ष र सक्षम व्यक्ति हुनुहुन्थ्यो। उहाँ इतिहासमा अमर हुनुहुन्छ । त्यसैले पनि सम्पूर्ण वामपन्थीको श्रद्धेय गुरु हुनुहुन्छ। उहाँले गर्दा आज नेपालमा वामपन्थीको वर्चस्व रहेको छ। त्यसैले पुष्पलालले देखाएको बाटोलाई एकजुट भएर अँगालौँ।