• १४ चैत २०८२, शनिबार

ओलीको पक्राउको तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने एमालेको चेतावनी

blog

काठमाडौँ, चैत १४ गते । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई संसद्, सडक र न्यायालय तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारको यो कदम गैरसंवैधानिक र गैरकानुनी भएको दाबी गर्नुभयो ।

उपमहासचिव भट्टराईले एमालेले कानुनी र संवैधानिक सीमाभित्र रहेर संयमित तर प्रभावकारी विरोधका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । सरकारलाई जनमतको दुरुपयोग नगर्न आग्रह गर्दै उहाँले प्रतिशोध र आवेगबाट प्रेरित निर्णयले समाधान नदिई झल्ट द्वन्द्व बढाउने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो कदम पूर्णतः गैरसंवैधानिक छ । हामी यस विषयलाई संसद्‌मा उठाउँछौँ, सडकबाट प्रतिरोध गर्छौँ र कानुन व्यवसायीहरूसँग समन्वय गरी न्यायालयमा पनि जान्छौँ ।” एमाले जिम्मेवार पार्टी भएकाले विरोधका कार्यक्रमहरू उच्छृङ्खल नहुने तर सशक्त हुने उहाँको भनाइ थियो । “प्रतिशोध र आवेगले निष्कर्ष निस्किँदैन, यसले आगो मात्र बाल्छ,” उहाँले थप्नुभयो ।

यसै गरी उपमहासचिव भट्टराईले ‘जेनजी’ आन्दोलनको घटना छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन त्रुटिपूर्ण रहेको टिप्पणी गर्नुभयो । भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिनका लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग एमालेले राखेको छ । कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण भएकाले एमाले र सिङ्गो देशले यसलाई अस्वीकार गरेको दाबी उहाँले गर्नुभयो ।