विष्णुप्रसाद पोखरेल
दमक, चैत १४ गते । झापामा शुक्रबार राति आएको हावाहुरी तथा असिना पानीका कारण एक दर्जनभन्दा बढी घरका छाना उडाएको छ भने ठाउँठाउँमा बिजुलीका पोल ढलेका छन् । हावाहुरीले विद्यालय भवन, सर्वसाधारणका घर, गोठ तथा अन्नबालीमा समेत क्षति पुर्याएको छ ।
शिवसताक्षी नगरपालिका–६, शिवगन्ज बजार र आसपासका क्षेत्रमा हावाहुरीले ठुलो नोक्सानी पुर्याएको वडाध्यक्ष मनोज खुलालले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै घर तथा विद्यालयका छाना उडेका छन् भने सडकमा रुख ढल्दा आवतजावत पूर्णरूपमा अवरुद्ध बनेको छ । वडाभित्र क्षतिको विवरण सङ्कलन भइरहेको र कृषि बालीमा पनि निकै क्षति पुगेको उहाँले बताउनुभयो ।
यता भद्रपुर नगरपालिका–३ मा पनि हावाहुरीका कारण स्थानीयवासीका घरमा क्षति पुगेको छ । बुद्ध मुर्मुको टिनको छानो भएको घरमा क्षति पुग्नुका साथै पालेका कुखुराका चल्ला मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरी र असिनापानीले कमल गणेश, दुखिया महतो र मिस्त्री राजवंशीका घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
यसैगरी दमक नगरपालिका, कमल गाउँपालिका र हल्दिबारी गाउँपालिका लगायतका क्षेत्रमा पनि क्षति पुगेको छ । हल्दिबारी–१ मा केही घरका छाना हावाहुरीले उडाएको पूर्ववडाध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाभर भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।