गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती प्रशासनभित्रका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रसँग पार्टीको कुनै सम्बन्ध नरहेको स्पष्ट गरेको छ । रास्वपाले सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने आफ्नो मूल नीतिप्रति प्रतिबद्धता जनाएको छ ।
केही दिनअघिदेखि खास गरी निजामती प्रशासनभित्र विभिन्न नाममा समूह वा अभियान सञ्चालन गर्दै पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेकोप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै रास्वपाले उक्त क्रियाकलापसँग आफ्नो कुनै आबद्धता, समर्थन वा संलग्नता नरहेको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा कसैले आफ्नो स्वार्थ सिद्धि गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न कर्मचारी तथा सरोकारवालालाई आग्रह गरेको छ । निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रसँग हाम्रो कुनै सम्बन्ध छैन, विज्ञप्तिमा भनिएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निजामती सेवालाई योग्यता प्रणालीका आधारमा सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ ।