• १३ चैत २०८२, शुक्रबार

म्याद नाघेका खाद्य वस्तु बरामद

blog

व्यास नगरपालिका–१ भादगाउँमा बजार अनुगमन गरिँदै । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत १३ गते ।
व्यास नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । यस क्रममा  व्यास–१ भादगाउँ क्षेत्रका पसलहरूमा अनुगमन गरी म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्तु बरामद गरेको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक इन्दिरा दरैको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद नाघेका सामग्री फेला परेको हो ।

अनुगमन टोलीले भादगाउँस्थित थापा इलेक्ट्रोनिक्स, पाँच चोक सप्लायर्स, छिमाल किराना पसल, मःम ल्याण्ड, एन्जल मार्ट र दीपज्योति किराना पसललगायतका व्यवसायिक प्रतिष्ठानमा बिहीबार निरीक्षण गरेको थियो । बिक्रीका लागि राखिएका म्याद सकिएका खाद्य सामग्री तथा प्याकेटबन्द वस्तु बरामद गरी नष्ट गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ । ति पसलबाट करिब ४५ हजार रुपियाँ बराबरको म्याग्द नाघेका खाद्य बस्तु बरामद गरिएको नगरपालिकाले जनाएको छ ।

अनुगमनपछि संयोजक दरैले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा लापरबाही नगर्न व्यवसायीलाई सचेत गराउनुभयो । उहाँले म्याद गुज्रिएका सामान बिक्री गर्नेलाई कानुनी कारबाही गरिने स्पष्ट पार्दै भन्नुभयो, “उपभोक्ताको स्वास्थ्यमा खेलबाड सह्य हुँदैन, बजारलाई व्यवस्थित र सुरक्षित बनाउनु हाम्रो प्राथमिकता हो ।” अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, एकीकृत सेवा कार्यालयका प्रमुख ईश्वरीप्रसाद रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्य, सुरक्षा निकायका प्रतिनिधिसहितको सहभागिता थियो । अनुगमन समितिका सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले बजार अनुगमनलाई निरन्तरता दिइने र नियम उल्लङ्घन गर्नेलाई छुट नदिइने बताउनुभयो ।

यसअघि चैत ८ गते पनि व्यास नगरपालिकाले बजार अनुगमन गर्दा ग्यास डिपो र खाद्य पसलमा अनियमितता फेला पारेको थियो । व्यास–४ स्थित ग्यास डिपो तथा व्यास–२ का केही पसलहरूको अनुगमन गर्दा कम तौल र म्याद गुज्रिएका सामान भेटिएको थियो । अनुगमनका क्रममा दमौली ग्यास बिक्री केन्द्र, भानु ग्यास, नेपाल ग्यास र जानकी ग्यासमा तोकिएको भन्दा १८० ग्रामसम्म कम तौल पाइएको तथा व्यास–४ स्थित शुभलक्ष्मी सप्लायर्सले बिक्री गर्दै आएको बाबा ग्यासमा ८० ग्राम कम तौल भेटिएको अनुगमन टोलीले जनाएको छ । त्यसैगरी, व्यास–२ स्थित फेमिली स्टोर्समा फेन्टा पेय पदार्थ र कोकोनट बिस्कुट म्याद नाघेको अवस्थामा बिक्रीका लागि राखिएको भेटिएको छ । सिद्धार्थ होटल र सेन्टर प्वाइन्ट मम रेष्टुरेन्टमा समेत अनुगमन गरिएको जनाइएको छ ।