बगदाद, चैत १० गते । इराकमा भएको हवाई आक्रमणमा हसद अल-शाबी गठबन्धनका १५ जना सदस्य मारिएका छन् । यो आक्रमणलाई इरान-अमेरिकी युद्ध सुरु भएपछिको सबैभन्दा घातक घटनाका रूपमा हेरिएको छ ।
फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि यो युद्ध इराकसम्म फैलिएको छ । इराकी सशस्त्र बलमा समावेश इरान समर्थित ब्रिगेडसँग सम्बन्धित हसद अल-शाबीले आफ्ना लडाकूको मृत्युको जिम्मा संयुक्त अमेरिकी-इजरायली आक्रमणमा लगाएको छ ।
स्वायत्त इराकी कुर्दिस्तानमा भएको ब्यालेस्टिक मिसाइल आक्रमणमा छ पेसमेर्गा लडाकू मारिएका छन् । इराकी अधिकारीले आक्रमणलाई ‘शत्रुतापूर्ण र विश्वासघाती’ भनेका छन् र यसमा इरानको भूमिका रहेको आरोप लगाएका छन् । अमेरिका र इरान कसैले पनि यस घटनामा टिप्पणी गरेका छैनन् ।
गत वर्षमा, इरान समर्थक सशस्त्र समूहले इराक र क्षेत्रभर अमेरिकी लक्ष्यमा आक्रमणको जिम्मेवारी लिँदै आएका छन् भने अमेरिकी-इजरायली कारबाहीले ती समूहलाई पनि लक्षित गरेको छ । पेन्टागनले हालै इराकमा इरान समर्थक समूहविरुद्ध हेलिकाेप्टर आक्रमण भएको स्वीकार गरेको थियो । हसद अल-शाबीले विज्ञप्तिमा राजनीतिक पक्षलाई जिम्मेवारी लिन र अमेरिकी उल्लङ्घनको सामना गर्न आग्रह गरेको छ ।
कुर्द अधिकारीका अनुसार छ वटा इरानी ब्यालेस्टिक मिसाइलले पेसमेर्गालाई लक्षित गरेको थियो, जसमा छ जना मारिएका र ३० जना घाइते भएका छन् । विशेषज्ञले यस घटनालाई इराकमा द्वन्द्वको जटिलता र क्षेत्रीय सुरक्षा जोखिमको सङ्केतका रूपमा मूल्याङ्कन गरेका छन् । युद्धले इराकको राजनीतिक र सुरक्षा सन्तुलनमा ठुलो प्रभाव पारिरहेको छ र कुर्दले इरान–अमेरिका युद्धमा तटस्थ रहन प्रयास गरिरहेका छन् । रासस/एएफपी