साउन महिना वर्षभरिमा सबैभन्दा सरस, सुन्दर र सजल मानिन्छ । यो महिना मनोरम र मनोहर पनि मानिन्छ । महिनाभरि दिनरात पानी परिरहने भएकाले गर्मीको अनुभव हुँदैन । आकाशमा बादल लुकामारी खेलिरहेको हुन्छ । तसर्थ घामछायाँको छवि पनि दर्शनीय हुन्छ । शीत र तापमा समन्वय देखिन्छ । साहित्यकारका लागि पनि प्रेरणाको स्रोतका रूपमा यो महिनाले प्रसिद्धि प्राप्त गरिसकेको छ ।
संस्कृतका महान् कवि कालिदासले आफ्नो महाकाव्यको नामकरण नै ‘मेघदूत’ राखेका छन् । मेघलाई नै दूतका रूपमा प्रयोग गरेर आफ्नी विरहिणी नायिकालाई सन्देश सम्प्रेषित गरेर उसलाई सान्त्वना दिने सराहनीय प्रयास गरेका छन् । संस्कृत, हिन्दी र नेपाली कविका लागि साउन महिना प्राकृतिक सौन्दर्यको खानीका रूपमा ख्यातिप्राप्त गरिसकेको कुरो सर्वविदित छ । हिन्दीका कविका लागि यो महिना सर्वप्रिय एवं सर्वसुहाउँदो महिनाका रूपमा सर्वप्रिय भइसकेको छ, ‘मेघा छाए आधी रात’जस्तो अभिनन्दनीय अभिव्यक्ति प्रकट गरेर ।
मैथिली संस्कृतिमा साउन महिनाको सुन्दर वर्णन अनेकानेक लोकगीतमा भएको पाइन्छ । देवादिदेव महादेवको पूजाआजा र अर्चनाका लागि साउन सर्वप्रिय छ । यस महिनाभरि पर्ने सबै सोमबार स्मरणीय र पूजनीय मानिन्छ । यसै महिनामा कवडिया काँवडमा जल भरेर नाङ्गै खुट्टा पशुपतिनाथको परिसरमा जम्मा भएर शिवलाई पवित्र जल अर्पण गर्ने परम्परा छ तर विगतका वर्षमा कोरोनाको कहरले गर्दा शिवभक्तहरू यस सुनौलो अवसरबाट वञ्चित भए । यस्तै तराई–मधेशका शिवभक्त गङ्गाजल आफ्नो काँवडमा भरेर देवघरस्थित बाबाधाममा जल अर्पण गर्ने परम्परामा पनि कोरोनाका कारण व्यवधान आयो । यसले शिवभक्तको चित्त साह्रै नै दुःखी भएको सहजै अनुमान गर्न सकिन्छ ।
सम्पूर्ण मिथिलाञ्चलमा साउनको सुरुवातदेखि नै पर्वको रमझम सुरु हुनु यस संस्कृतिको सुहाउँदो पक्ष हो । यस महिनामा नै मनमोहक एवं मनोरम पर्व मधुश्रावणी मनाउने परम्परा छ । यस पर्वको मनोहारी पक्ष के हो भने नवविवाहित दम्पती बडो उत्साह एवं उमङ्गका साथ यस पर्वमा सहभागी हुन्छन् । साउन महिनाको कृष्ण पक्षको पञ्चमीदेखि श्रावण शुक्ल तृतीयासम्म अर्थात् तेह्र दिवसीय पर्वको रमझम एवं रौनक के गाउँ, के सहर, के गल्ली र के गोरेटोमा गुञ्जन थाल्दछ ।
मैथिल महिलाको मुखबाट निःसृत लोकगीतको लयात्मक स्वरबाट सम्पूर्ण वातावरण प्रतिध्वनित हुनथाल्छ । नवविवाहित दुलहीहरू आफ्नी सखीसँग स्वरमा स्वर मिलाएर मधुश्रावणीको मधुर गीत गाउन थाल्छन् । यिनीहरू शृङ्गार गरेर आफ्ना सखीको समूहमा प्रत्येक साँझ गीत गाउँदै फूल टिप्ने काममा सहभागी भएर यस पर्वको महìव सिद्ध गर्छन् । जगत् जननी जानकीको विवाह भएको बेलादेखि नै यो पर्व मनाइँदै आएको अनुमान गरिन्छ । नवविवाहित महिला गीत गाउँदै फूल टिप्न बगैँचा र बाटोघाटोमा जान्छन् । टिपिएका पूmल भोलिपल्ट बिहान शिव, पार्वती र बिषहरालाई पूजाआजा गरेर चढाइन्छ । माइतीबाट पठाइएका खानेकुरा र पहिरन लगाएर प्रत्येक दिन गौरी तथा नागनागिनको पूजाआजा गरी शिवपार्वती र नागसँग सम्बन्धित कथा नियमित रूपमा सुन्ने गरिन्छ । माता गौरीलाई आफ्नो आराध्यदेवी मानेर र सुखद दाम्पत्य जीवनकी संरक्षिका ठानेर निष्ठापूर्वक पूजाआजा गरिन्छ । त्यस्तै गौरी तथा नागनागिनको विशेष रूपमा अर्चना एवं आराधना गर्ने परम्परा पनि छ, जुन मैथिल संस्कृतिको सजीव सराहनीय पक्ष मान्न सकिन्छ ।
यस पर्वको प्रमुख लक्ष्य दाम्पत्य जीवनलाई सुखी र सफल तुल्याउनु हो । दाम्पत्य जीवनका लागि यसले यौन शिक्षाको सन्देश पनि सम्प्रेषित गर्छ । तसर्थ नवविवाहित दुलहीको मुखबाट यो गीत निस्किहाल्छ–
‘सखी हे सावन के बुन झिसी
पियासँग खेलव पचीसी ना ।’
यो पर्व गीतसङ्गीतप्रधान पर्वका रूपमा परिचित छ । फूल टिप्नेदेखि लिएर यसको सङ्गीतमय सुरुवात हुन्छ जस्तो–
‘सखी फूल लोढ चलु फुलबारिया
सीताके सँग सहेलिया ।’
यो पर्व मिथिलाञ्चलका केही जातिहरू जस्तै– मैथिल ब्राह्मण, कायस्थ, सोनार र देव आदिले मात्रै बडो मङ्गलमय र सुखद ढङ्गबाट मनाउने गर्छन् । वैवाहिक जीवनलाई सुखद, प्रेरणाप्रद र प्रेममय बनाउनका लागि आमोदप्रमोद, हासपरिहास, रसरङ्गले परिपूर्ण बनाउने प्रण गर्छन् । गृहस्थ जीवनमा सुख र सफलता भर्नका लागि यो पर्व मनाइन्छ । यति हुँदाहुँदै पनि यस पर्वको रीतिरिवाजलाई लिएर आलोचना पनि हुने गरेको छ । जतिसुकै आलोचना गरे पनि यो पर्व आज पनि धुमधामका साथ मनाइन्छ । यस पर्वमा शिक्षित नारी पनि बडो उत्साह एवं उमङ्गका साथ सहभागी हुन्छन् । यसबाट के प्रमाणित हुन्छ भने यो पर्व मनोरञ्जनपूर्ण एवं मङ्गलमय पर्व हो । यस महिना मनाइने अर्को महìवपूर्ण पर्व हो– साउने घडी । यस पर्वमा कुलदेवताको पूजाआजा श्रद्धा र आस्थाका साथ गरिन्छ । यसको तिथिमिति निश्चित हुँदैन । आफ्नो सुविधाअनुसार यस महिनाभित्र यो पर्व मनाउने गरिन्छ ।
यस महिनाको अर्को पर्व हो–नागपञ्चमी, जसमा नागनागिनको पूजा श्रद्धा, प्रेम एवं उत्साहले गरिन्छ । वर्षाऋतुमा सर्पको बिगबिगी र जगजगी खतरापूर्ण मानिन्छ । सर्पदंशबाट हरेक साल धेरै मानिसको मृत्यु हुने गरेको छ । सर्पदंशको समुचित उपचारको पनि अभाव खड्किन्छ । तसर्थ नागपञ्चमी पर्व सर्पदंशबाट बच्नका लागि गरिन्छ । यसमा एकाबिहानै सर्पको चित्रबाट सुसज्जित पोस्टर घरआँगनको मूलद्वारमा टाँसिन्छ र दूध, लावा, धूप, दीप तथा चन्दन आदि सामग्रीले नागनागिनको पूजा गर्ने परम्परा छ । सर्पराज तक्षक, शेषनाग आदिको अस्तित्व वेद पुराणमा पनि उल्लिखित भएको पाइन्छ ।
साउनमा मनाइने पर्वको शृङ्खलामा अन्त्यमा आउँछ– रक्षाबन्धन । यसलाई मिथिलाञ्चलमा राखी भन्ने गरिन्छ । यो पर्व रङ्गीविरङ्गी धागोको पर्व मात्र होइन, दाजुभाइ र दिदीबहिनीबीचमा स्थित अमर प्रेमको प्रतीक पनि हो । यसमा दिदीबहिनीले आफ्नो दाजुभाइलाई स–सम्मान आदरभाव अभिव्यक्त गर्दै प्रेमको प्रतीक राखी बाँध्ने गरिन्छ । यो नारी स–शक्तीकरणको पर्वका रूपमा पनि प्रसिद्ध छ ।
राखी पर्व स्नेह र सद्भावनाको प्रतीकको जीवित पर्व भएको हुनाले यस पर्व सामाजिक सद्भाव अभिवृद्धि गर्नमा पनि सहायक सिद्ध हुँदै आएको छ । दिदीबहिनी र दाजुभाइबीचको पारस्पारिक प्रेमको द्योतक भएको हुनाले दिदीबहिनीले चन्द्रमाको शीतल प्रकाश प्राप्त गर्नका लागि पनि अनुनय विनय गर्दै भन्छन् कि तिम्रो प्रकाश निरन्तर बढोस् र हाम्रो दाजुभाइको आयु अभिवृद्धिमा तिमी सहायक बन ।
जहाँ बसे पनि जहाँ रहे पनि चन्द्रमाको माध्यमद्वारा राखीको सन्देश पु-याउनका लागि प्रार्थना गरिन्छ । यस पर्वको प्रमुख सन्देश नै प्रेम, स्नेह र सौहार्द हो । यसको विधिविधान पनि सरल छ । यस पर्वको पावन अवसरमा प्रातःकाल दिदीबहिनीले देवता, पितृ र ऋषिलाई जल अर्पण गर्ने गर्छन् । दुई प्रहरपछि सुती, ऊनी अथवा रेशमी पहेँलो वस्त्रको साथमा रक्षासूत्र, सुन, केशर, चन्दन, अक्षता र दूबो राखेर बाँध्ने गरिन्छ । गाईको गोबरबाट लिपपोत गरेर त्यस स्थानमा कलश स्थापना गरेर अनि त्यसमाथि रक्षासूत्र राखेर यसको यथाविधि पूजा गर्नु शुभ मानिन्छ ।