रमेश विश्वकर्मा
गुल्मी, चैत ८ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा नौ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। गत आइतबारदेखि शुक्रबारसम्म नौ लाख २१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार राहदानी, संस्था नविकरण र राष्ट्रिय परिचयपत्रबाट राजस्व सङ्कलन गरिएको हो। जसमा राहदानीबाट नौ लाख दस हजार रुपियाँ, संस्था नविकरणबाट एक हजार पाँच सय रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट दस हजार रुपियाँ राजस्व सङ्कलन भएको छ। पछिल्लो एक हप्तामा हातहतियार नविकरण तथा नामसारी भएको छैन।
यस समयावधिमा जिल्ला प्रशासन कार्यालयबाट १२५ जनाले नयाँ नागरिकता लिनुभएको उहाँले जानकारी दिनुभयो। १६१ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। एक हप्तामा नाबालक परिचयपत्र छ जनाको गराइएको छ। राहदानी आवेदन सङ्कलन १७५ र राहदानी वितरण २६५ जनाको गरिएको छ।
राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३३० जना, राष्ट्रिय परिचयपत्र वितरण २१५ जना, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित १९ जनाको गरिएको छ। यो साता दुई संस्था नविकरण गरिएको छ। प्रशासनले एक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले विगतदेखि नै सार्वजनिक गर्दै आएको छ।