काठमाडौं, साउन ६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजाने गरी प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
शुक्रबार सङ्घीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बाेल्नुहुँदै उहाँले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गरिने व्यवस्था गरिएको जानकारी दिनुभयो । साथै, संसदले पनि पारित गरिसकाले अहिले यसको सञ्चालनमा समस्या आएको उहाँले स्पष्ट पार्नुभयो ।
यस सम्बन्धमा बीमा बोर्डले मन्त्राललाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले आफूले सो प्रक्रिया अघि बढाएको समितिलाई मन्त्री खापुङले जानकारी दिनुभयो ।
मन्त्री खापुङले प्राईभेट क्षेत्रको सहभागिता बिना स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढने धारणा राख्नुभयो । उहाँले सो बीमा कार्यक्रमलाई दिगो र व्यवस्थित बनाउन सरकारले छुट्टै कम्पनी खडा गरेर अघि बढने तयारी गरिरहेको समेत बताउनुभयो ।