शङ्कर केसी
सल्यान, माघ १४ गते । सल्यानमा हिउँदे वर्षा भएपछि किसान एवं अन्य सर्वसाधारणलाई राहत मिलेको छ । लामो समयपछि परेको पानीले जिल्लाको कृषि, वातावरण र जनजीवनमा राहत प्रदान गरेको हो ।
गएरातीदेखि जिल्लाका विभिन्न भागमा पानी परिरहेको र गहुँ, जौ, तोरी लगायतका बाली तथा तरकारी र फलफूल खेतीमा फाइदा पुगेको किसानहरुले बताएका छन् । गत शनिबार सल्यानमा बर्षातको सङ्केत भए पनि वर्षा हुन नसकेपछि किसान चिन्तित थिए ।
यहाँका अधिकांश जमिन बाह्रै महिना सिँचाइ सुविधा नभएकाले किसानहरु आकासे पानीको भरमा खेती गर्न बाध्य छन् । लामो समयदेखी वर्षा नहुँदा खेती, बालीमा प्रत्यक्ष असर परेको थियो भने मुहान सुक्ने, खानेपानीको अभाव र वनजङ्गलमा आगलागीको जोखिमसमेत बढ्दै गएको थियो ।
यस्तो अवस्थामा पानी परेपछि धेरै राहत मिलेको र धुलाम्मे बनेका सडक, सुख्खा जमिन र वातावरणमा समेत शीतलता ल्याएको छत्रेश्वरी ५ का वडा अध्यक्ष फौदबहादुर बस्नेतले बताउनुभयो ।