• १४ माघ २०८२, बुधबार

लमजुङका राजनीतिक दल र उम्मेद्वार आचारसंहिता पालना गर्न प्रतिबद्ध

blog

निर्वाचन आचारसंहिता सम्बन्धी छलफलमा सहभागी सरोकारवालाहरू । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ १४ गते । लमजुङका राजनीतिक दल र उनीहरूका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्धता जनाएका छन् । जिल्लामा क्रियाशिल दल, उनीहरूका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वारलाई आचारसंहिताबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा आचारसंहिताको पालना गरेर स्वच्छ प्रतिस्पर्धा गर्न प्रतिबद्धता जनाएका हुन् ।  

मुख्य निर्वाचन अधिकृत एवं आचारसंहिता अनुगमन संयोजक शिशिरराज ढकालले निर्वाचनमा सहभागी दल एवं उम्मेदवारहरूलाई आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह गर्नुभयो । आचारसंहित पालना गर्नु सबैको दायित्व भएको र कोसैले उल्लङ्घन गरेको उजुरी परेमा कारबाही गर्ने उहाँले बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गानाले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबैको तर्फबाट आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजिक सञ्जालमा थप निगरानी बढाउने कार्य भइरहेको बताउनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले निर्वाचनको क्रममा उम्मेदवार, राजनीतिक दल, समर्थक तथा सरोकारवालाहरूले गर्न पाउने र नपाउने विषयमा स्पष्ट पार्दै आचारसंहिताको कानुनी प्रावधानको बारेमा अवगत गराउनुभएको थियो । कोष तथा लेखा नियन्त्रणका कार्यालयका प्रमुख भवराज जोशीले उम्मेदवारले अनिवार्य बैँक खाता खोल्नुपर्ने र आर्थिक पक्षको पारदर्शिता हुनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन आचारसंहितामा राजनीतिक दलहरू फागुन ४ गतेबाट मात्र प्रचारप्रसार र घरदैलोमा जान पाउने व्यवस्था भए पनि उम्मेद्वारी दर्ता गरेदेखी नै प्रचार प्रसारमा लागेको विषयमा पनि प्रश्न उठेको थियो । नेपाली कांग्रेसका सचिव कृष्णबहादुर अधिकारी, नेकपा एमालेका उपसचिव विवश बुढाथोकी, नेपाली कम्युनिस्ट पार्टीबाट होमबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भोला शर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खेमबहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट मिलन गुरुङ, सोही पार्टीका उम्मेद्वार कोषलाल गुरुङ, स्वतन्त्र उम्मेद्वार सन्तोष घिमिरे र नेकपा माओवादीबाट हर्कबहादुर अछामीलगायतले निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्न आफुहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

सरोकारवालाहरूको बैठकमा नेपाली सेनाका प्रमुख सेनानी विक्रमदेव थापा,  जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्रका प्रमुख शेखर दवाडी, प्रमुख अनुन्धान अधिकृत रामशङ्कर केसी, सहायक निर्वाचन अधिकृत रामबन्धु गौतम, निर्वाचन कार्यालयका प्रमुख यादवराज आचार्य, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसीलगायतको सहभागिता थियो ।