नवीनराज कुइँकेल
लमजुङ, माघ १४ गते । हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ हिउँले ढाकिएका छन् ।
सदरमुकाम चामे आसपासमा पनि व्यापक रूपमा हिमपात र हावाहुरी चलिरहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताउनुभयो ।
हिमपातबाट कुनै अप्रिय घटना नभए पनि विपद् निम्तिन सक्ने सम्भावनालाई मध्यनजर राखेर सुरक्षा सतर्कता अपनाइएको उहाँले बताउनुभयो । हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।
पर्यटक पनि रोकिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सुरक्षा निकायले अन्नपूर्ण पदमार्गको थ्रोङ्ला भञ्याङ पास गर्न जान पर्यटकलाई रोक लगाएको छ । मनाङमा यसअघि कात्तिक १० र ११ गते हिमपात भएको थियो । मङ्सिर र पुस महिनामा हिउँ परेको थिएन ।
प्रहरीका अनुसार माथिल्लो मनाङमा डेढ फिट बाक्लो हिउँ परेको छ । चामेदेखि तल्लो भागहरू तिमाङ, दानक्यु र बगरछापमा हिमपातसहितको वर्षा भइरहेको स्थानीयले बताएका छन् । हिमपातले सरकारी कामकाज ठप्प भएको छ ।
हिमपातसँगै तीव्र गतिको हावा चलेपछि अत्यधिक चिसो बढेको गौरी शङ्कर आधारभुत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले बताउनुभयो । उहाँले अब खेती गर्ने बेला भएकाले किसानहरू खुसी भएको बताउनुभयो ।
पहाडी जिल्ला लमजुङमा लामो समयपछि वर्षा भएको छ । बुधबार बिहानदेखि वर्षा भइरहेको छ । कात्तिक यता वर्षा हुन नसक्दा किसानहरू चिन्तित भएका थिए । वर्षापछि किसानहरू खुसी भएको मर्स्याङ्दी–९ का किसान भीष्मकान्त कुइँकेलले बताउनुभयो ।