• ८ जेठ २०८१, मङ्गलबार

सुपारी बोकेका आठ वटा ट्रक प्रहरीको नियन्त्रणमा

blog

इलाका प्रहरी कार्यालय रानीमा राखिएको सुपारी बोकेका ट्रक ।

विराटनगर, ६ साउन गते । विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)बाट प्रहरीले सुपारी लोड भएका आठवटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । 

बिहीबार राति १० बजेको समयमा प्रहरीले सुपारी लोड भएको ट्रक नियन्त्रणमा लिएको हो । अवैध रुपमा सुपारी भारत निर्यात हुन लागेको सूचनाको आधारमा सुपारी लोड भएका ट्रकहरु नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभएको छ । 

नेपालमा उत्पादित सुपारी भारत निर्यात गर्न सक्ने व्यवस्था भएपनि तेस्राे मुलुकबाट आयात भएको सुपारी निर्यात गर्न पाउने व्यवस्था छैन । प्रहरीले उत्पतिको प्रमाणपत्र, निर्यात गर्ने कम्पनी आदिको विषयमा अनुसन्धान गरिने जनाएको छ । सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउनु अघि तेस्राे मुलुकबाट नेपाल आयात गरेको सुपारी नयाँ व्यवस्थाको अनुचित लाभ लिने उद्देश्यले भारत लैजान खोजेको आशङ्का प्रहरीले गरेको छ । 

प्रहरीकाअनुसार आठवटा भारतीय नम्बरको ट्रकमा आइसिपी परिसरमै सुपारी लोड गरिएको थियो । निर्यातकर्ताले क्वारेन्टाइन परीक्षण रिपोर्ट तयार गरेनगरेको विषयमा पनि अहिलेसम्म खुलिसकेको छैन । ‘रातिको घटना भएकोले धेरै कुरा बुझ्न बाँकी छ, हामीले गाडी नियन्त्रणमा लिएका छौं अब गाडी र सामान धनी सम्पर्कमा आउलान् त्यसपछि धेरै विषय खुल्छ,’ प्रहरी निरीक्षक दर्नालले भन्नुभयो । 

विराटनगर भन्सार भएर लामो समयदेखि सुपारी निर्यात भएको थिएन । झापाबाट भने ठूलो परिमाणमा तस्करी भएर सुपारी भारत निर्यात हुने गरेको छ ।

Author

गोकुल पराजुली