रेखीराम राना
तानसेन, चैत ३ गते । पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइई परीक्षामा पाल्पाका विभिन्न १५७ वटा माध्यमिक विद्यालयका झण्डै पाँच हजार विद्यार्थी परीक्षामा सहभागी हुने तयारी गरेका हुन् ।
यस वर्ष नियमिततर्फका तीन हजार ५६० र ग्रेड वृद्धितर्फका एक हजार २३२ जना विद्यार्थीले परीक्षा दिने छन् । परीक्षाका लागि पाल्पाका विभिन्न २६ वटा विद्यालयमा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका प्रमुख प्रेमराज खरेलले जानकारी दिनुभयो । गत वर्ष २७ वटा केन्द्र रहेकोमा यस वर्ष एउटा केन्द्र घटाइएको छ ।
२६ वटा केन्द्रहरूमध्ये सबैभन्दा धेरै ३१० परीक्षार्थी रामपुरस्थित दरैठाटी माध्यमिक विद्यालयमा सहभागी हुने र सबैभन्दा कम बगनासकालीको चापपानी मावि केन्द्रमा ९४ जना विद्यार्थी परीक्षामा सहभागी हुने खरेलले जानकारी दिनुभयो । परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन आवश्यक निर्देशन दिने तयारी एकाइले गरेको छ ।