• १३ साउन २०८१, आइतबार

डोलामा हल्लिन लालायित युवती

blog

अविनाश चौधरी

धनगढी, साउन ६ गते ।  सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका रानाथारू समुदायका खासगरी युवामा अहिले बेग्लै उत्साह र रौनक बढेको छ । मध्य बर्खामा युवतीहरू साउने गीत गाउँदै डोलामा हल्लिन लालायित छन् । त्यसैले रानाथारू समुदायका प्रायः सबै गाउँमा ‘सावनका डोला’ का लागि लठारे पिङ बनाउने चटारो छ । पायक पर्ने कतिपय स्थानमा बनिसकेका छन् भने अन्यमा बन्ने क्रम जारी छ । 

प्रदेश सभा सदस्यसमेत रहनुभएकी धनगढी उपमहानगरपालिका–८ की मालामती रानाथारूका अनुसार सावनका डोलामा रमाउनका लागि विभिन्न गाउँमा पिङ बनाउने गरिन्छ । ‘सावनका डोलाको चहलपहल सुरु भइसकेको छ, उहाँले भन्नुभयो, “कतिपय गाउँमा डोला (पिङ) बनाइसकिएको छ भने कतिपय गाउँमा सुरसारमा छन् ।” 

यसै महिना रानाथारूको सबैभन्दा ठूलो पर्व तीज पनि पर्ने भएकाले सावनका डोलामा रमाउने प्रचलन बेग्लै छ । अन्य जातिमा जस्तै रानाथारूको तीजमा पनि महिला निराहार व्रत बस्छन् तर अन्य जातिमा जस्तो पतिको दीर्घायु तथा सुस्वास्थ्यका लागि नभई आआफ्ना दाजुभाइको दीर्घायुको कामनाका लागि रानाथारूका महिला तीजको व्रत बस्छन् । 

व्रत सकिएपछि परिकार गुलगुला, सिमही, पुरीलगायतका परम्परागत परिकार खाने र आफन्तलाई खुवाउने चलन छ । अनि दाजुभाइले आआफ्ना दिदीबहिनीलाई क्षमताअनुसार दान दक्षिणा दिन्छन् ।  

तीज त एक दिनको कुरा हो । साउनभरि नै सामूहिक रूपमा पिङ खेल्ने र रमाइलो गर्ने उत्सव सावनका डोला हो । विशेष गरेर महिलाले रमाइलो गर्ने यो उत्सवमा अचेल पुरुष युवाको पनि सहभागिता हुने गरेको छ । 

सावनका डोला साउनभरि नै चल्ने सांस्कृतिक पर्व हो तर त्यसमा पनि विकृति बढ्न थालेको छ । संस्कृति संरक्षण गर्नु समुदायको दायित्व रहे पनि संस्कृतिका नाममा भइरहेका छाडापनलाई भने नियन्त्रण गर्न जरुरी रहेको रानाथारू समुदायका अगुवा नारायण रानाको भनाइ छ । कतिपय ठाउँमा रातिको समयमा ‘सावनको डोला’ खेलेको पाइएकाले रातिको समयमा डोला खेल्ने कार्यलाई रोक्नुपर्ने उहाँले बताउनुभयो ।

रानाथारूका महिलाको विशेष पहिरन पनि यसको अर्को आकर्षण रहेको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँ पछ्लापट्टिका सुनिता रानाले बताउनुभयो ।  खास गरेर तीजमा ‘मुरिया’ (पिङमा प्रयोग गरिएको लठ्ठाको गाँठो) बनाएर नदीमा सेलाएपछि विधिवत् रूपमा यो पर्वकोे अन्त्य हुने गरेको छ तर केही ठाउँमा मुरिया सेलाइसकेपछि पनि रमाइलोका लागि पिङ खेल्ने गरिएको प्रदेश सभा सदस्य रानाथारूले बताउनुभयो । एक महिनासम्म होरी पर्व मनाउँदै आएको रानाथारू समुदायले ‘सावनका डोला’ पनि लगभग एक महिनासम्म नै मनाउने गरेको छ ।