कुनै पनि समाजको सचेतनाको अवस्था कस्तो छ भनेर बुझ्न उक्त समाजले कस्ता विषय प्राथमिकतामा राख्छ, ती विषय कसरी ग्रहण गर्छ वा कस्तो प्रतिक्रिया देखाउँछ भन्नेमा निर्भर गर्छ । मानवनिर्मित भौतिक र रासायनिक क्रियात्मक परिवर्तन तुरुन्तै देखिन वा अनुभूति गर्न सकिन्छ तर सामाजिक परिवर्तन यति सूक्ष्म रूपले भइराखेको हुन्छ कि सतहमा देखिन र अनुभूति गर्न लामो समय नै चाहिन्छ । यसको अर्थ परिवर्तन रोकिएको हुँदैन।
सामाजिक परिवर्तनलाई बगिरहेको खोलाको पानीसँग पनि तुलना गर्न सकिन्छ किनकि जुन पानीले खोलाको एउटा ढुङ्गालाई छोएर बग्छ फेरि त्यही पानी उक्त ढुङ्गालाई फर्केर छँुदैन तर पानीको निरन्तर बहावले ढुङ्गा खिइने, आकारप्रकार बदलिने, ठाउँ परिवर्तन हुने यहाँसम्म कि कतिपय अवस्थामा खोलाको आकारसमेत बदलिने जस्ता परिवर्तन देखिने गर्छ । यसो हेर्दा त जुन बेला त्यो परिवर्तन देखियो त्यही बेलाको पानीको बहावको शक्तिले यस्तो भएको हो जस्तो लाग्न सक्छ । त्यसको पछाडि लामो समयसम्मको पानीको निरन्तर बहावको भूमिका रहेको हुन्छ ।
अहिलेको स्थानीय सरकारको चुनावमा देखिएका विभिन्न तह र स्वरूपका परिवर्तन जुन महसुस हुने गरी आज सतहमा देखिएका छन् त्यसको सूत्रपात पनि निकै अगाडिदेखि भएको भनी सहजै अनुमान गर्न सकिन्छ । विभिन्न आवश्यकता र बाध्यताका कारण विश्व बजारसँग जोडिँदै जाँदा त्यहाँका समाजको शिक्षा, सचेतना र विकासको अवस्थाको अनुभूति साटासाट हुनु, हात–हातमा विविध प्रविधियुक्त सञ्चार उपकरणको उपलब्धताले विश्वदेखि व्यक्तिसम्मका सम्बन्ध तथा परिवर्तनबारे तत्काल सुसूचित हुनु जस्ता विविध पक्ष छन् । यसमा मुख्य भूमिका खेल्नेमा बढ्दो विज्ञान तथा प्रविधिको विकासले सञ्चारमा ल्याएको उपलब्धि जसले गर्दा विश्व एक गाउँजस्तो नजिकिएको छ त्यसले गर्दा हरेक व्यक्ति विश्वको हरेक कुनासँग जोडिन बढेको सहजताले गर्दा त्यहाँको संस्कृति र सचेतना पनि आफ्ूमा नजानिँदो किसिमले प्रवेश गरिसकेको अवस्थालाई नकार्न सकिन्न। त्यसले गर्दा राज्यसँगको अपेक्षामा पनि परिवर्तन देखिनु स्वाभाविक हो ।
समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, नीति निर्माणमा विशेष प्रभाव पार्न सक्ने, समाजलाई सशक्तीकरण गर्न आवश्यक खाका कोर्ने वा समग्रमा भनौँ राजनीतिमार्फत समाज रूपान्तरण गर्न चाहने हरेकले समाजका ती अपेक्षित परिवर्तन आकलन गर्न र बुझ्न अनि विश्वदेखि व्यक्तिसम्मका सम्बन्ध तिनका अन्तक्र्रिया र प्रभाव केलाउन सक्नुपर्छ । नत्र समाजको परिवर्तित सोच र अपेक्षालाई बुझ्न नसक्दा समाजको समय सापेक्षित वास्तविक आवश्यकता पहिचान गर्न असम्भव भइदिन्छ । आफूले कुनै समयमा निर्माण गरेको सोचलाई नै सर्वमान्य मान्दै भ्रममा परिरहँदा समाजमा विद्रोहको बीजारोपण हुने र समय–समयमा विभिन्न स्वरूपले असन्तुष्टि प्रस्फुटित हुने भइरहन्छ ।
सामाजिक अन्यायको विरुद्ध विभिन्न पृष्ठभूमिबाट उठी एकैठाउँमा उभिने समूह र विभिन्न रूपले परिवर्तन नरुचाउने यथास्थितिमा रमाउने समूहबीचको जुन बुझाइको खाडल छ त्यसलाई चुनौती दिँदै अग्रसर भएका पाइला समाजको सचेतनाको अवस्था झल्काउँदै छ । अहिलेको यो अवस्थालाई समाज रूपान्तरणको सङ्क्रमणकालीन अवस्थाका रूपमा लिन सकिन्छ जहाँ अत्यधिक संवेदनशीलताको आवश्यकता पर्छ ता कि समाजको स्वास्थ्यलाई हुन सक्ने हानिबाट जोगाउन सकियोस् ।
विज्ञानका विविध प्रविधिको निर्माणको आधार भनेको समाज नै हो । जस्तो कि लुगा धुनका लागि बनाइएको वासिङ मेसिन बनाउन कल्पना गर्नेले पहिला कसरी लुगा धोइन्छ त्यसको ज्ञान बटुले, लुगालाई सरफपानीका साथ विभिन्न तरिकाले मिच्नुपर्छ भन्ने ज्ञानका आधारमा त्यसको विकसित र सरल प्रक्रियास्वरूप उक्त मेसिनको आविष्कार भएको हुनुपर्छ ।
त्यसैगरी एक ठाउँबाट अर्को ठाउँ पुग्न जुन साधन प्रयोग गरिन्थ्यो त्यसको गति बढाउन सकियो भने यात्रामा लाग्ने समय जोगाउन सकिन्छ भन्नेदेखि लिएर लेख्दा प्रयोग गरिने अक्षरलाई कम्प्युटरसँग जोडिँदै प्रविधिको आधार लिँदै ल्याएको कार्यकौशलता सराहनीय छ । बिर्सन नहुने पाटो भनेको ती सम्पूर्ण ज्ञानको कल्पना गर्न दिने आधार भनेको समाजमा उपलब्ध ज्ञान नै हो जसलाई समय र सन्दर्भअनुरूपको परिमार्जन र परिवर्तन गरिएको हो ।
स्थानीय तह निर्वाचन परिणामले मुलुक बनाउन सक्षम र उत्साही युवा समूह अगाडि आएको देख्दा सर्वसाधारणदेखि लिएर सबैको मनमा आस पलाउनु स्वाभाविक हो । यसको अर्थ विगत लामो समयदेखि राजनीतिमा लागेका, समाजका लागि त्याग गरेका, अहिले उमेर ढल्किसकेका राजनीति गर्ने सबै बेकार हुन् भन्ने भाष्य जुन किसिमले निर्माण गरिँदै छ त्योचाहिँ डरलाग्दो पक्ष हो । त्यति बेलाका तिनका योगदानको सराहना गर्नुपर्छ । समाजलाई आजसम्मको अवस्थामा ल्याउने तिनीहरूको भूमिका कम आँक्न सकिन्न । किनकि अहिलेको परिवर्तनका लागि कल्पना गर्न सकिने आधार त्यही हो ।
पछिल्लो समयमा आफूलाई समाजको अपेक्षाअनुरूप समयसापेक्ष परिमार्जन गर्न नसक्नु, आ–आफ्नो राजनीतिक दलमा सही स्कुलिङ स्थापना गर्न नसक्नु, लोभ–लालच र विलापभन्दा माथि उठ्न नसक्नु, साँघुरो घेराभन्दा बाहिर समाजको वास्तविक चित्र हेर्न नसक्नु वा भनौँ समाजको पिँधसँग जोडिन नसक्नु जस्ता विकृतिले गर्दा सामाजिक सम्पदा गुमाउँदै गएको अवस्था नकार्न सकिन्न । त्यसैले समाजको बदलिँदो सचेतनाले दिएको सङ्केत बुझ्न जरुरी छ । ता कि बदलिँदो परिवेश र आवश्यकताअनुरूप युवा उत्साहलाई मुलुक निर्माणमा उपयोग गर्न सकियोस् ।
कुनै पनि समाजमा सचेतनाको तह परिवर्तनका लागि एक किसिमको तरङ्ग आउनैपर्छ । चाहे त्यो सोचमा आएको तरङ्ग होस् वा संरचनामा । जस्तो कि कुनै पोखरी बाहिरबाट हेर्दा हलचल नभएको शान्त देखिन्छ जब कि त्यसको पिँधमा रहेको जलचरको चहलपहल चलिरहेको हुन्छ । त्यसमा जबसम्म कुनै बाह्य वस्तु शक्तिका साथ फालिँदैन तबसम्म पोखरीमा तरङ्ग देखिन्न र हलचलविहीन देखिन्छ । समाजको अवस्था पनि त्यस्तै हो ।
पछिल्ला समयमा जुन किसिमले राज्यलाई नै शर्मनाक बनाउने गरी भ्रष्टाचार र बेथितिलाई बढावा हुने किसिमको वातावरण निर्माण र संरक्षण गरियो त्यसले मौलाएको अराजकता नियन्त्रण गर्न आउँदा दिनमा कम चुनौतीपूर्ण हुनेछैन । जुन किसिमले समाजले आफ्नो सचेतनाको सङ्केत दिएको छ त्यसलाई आत्मसात् नगरी विरोधकै लागि विरोध र समर्थनकै लागि भजन गाउने प्रवृत्तिको निरन्तरता नरोक्ने हो भने मुलुक स्वयं निर्भरतातर्फ अगाडि बढ्न सक्दैन र परनिर्भरताले समृद्ध बनेको इतिहास कतै छैन ।
समाजको सचेतनामा देखिएका परिवर्तनप्रति राज्य गम्भीर बन्न सकेको देखिन्न । परिवर्तनका लागि संरचना र संस्कार दुवै चाहिन्छ । राज्यले कानुन निर्माणपश्चात् त्यसको सफल कार्यान्वयनका लागि आवश्यक संस्कार निर्माण गर्नेतर्फ आवश्यक पहल गर्न जरुरी छ । यसका साथै परिवर्तित सामाजिक संरचना र क्रियाशीलताप्रति पनि सजगता बढाउन आवश्यक छ । भन्नुको अर्थ युवा सोचलाई साथ र प्रोत्साहन दिँदै बिनाअड्चन मुलुक निर्माणमा अगाडि बढ्नुको विकल्प छैन । दलगत स्वार्थ र व्यक्तिगत स्वार्थभन्दा माथि उठी समयको मागअनुरूप आफूलाई परिमार्जन गर्न नसक्ने राजनीतिक दलले समाजको बदलिँदो सचेतनामा अस्तित्वको खतरा देख्नुभन्दा सहकार्यको सम्भावना खोज्नु उत्तम विकल्प हुनेछ ।