• २८ फागुन २०८२, बिहिबार

सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

blog

निर्वाचन प्रहरीलाई विदाइ गरिँदै ।

बाबुराम कार्की

वराहक्षेत्र, फागुन २८ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुराक्षार्थ खटी आफ्नो जिम्मेवारी पूरा गरेका निर्वाचन प्रहरीहरुको विदाइ गरिएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरले विदाइ कार्यक्रमको आयोजना गरी निर्वाचान प्रहरीलाई विदाइ गरेको हो । 

मतदान केन्द्रहरुको शान्ति सुरक्षामा थप टेवा पु¥याउने उदेश्यले करार सेवामा नियुक्त गरिएका निर्वाचन प्रहरीहरूलाई सम्मानपूर्वक विदाइ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुवँरले बताउनुभयो । उहाँका अनुसार निर्वाचन प्रहरीले निर्वाचन सुरक्षामा पुर्‍याएकाे महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै कदरपत्रस्वरुप प्रमाणपत्र दिएर सम्मान गरिएको हो । 

निर्वाचन प्रहरी फागुन २१ गते सम्पन्न निर्वाचनका लागि छनोट भई मतदान केन्द्र तथा मतगणना स्थलमा खटिएका थिए । निर्वाचनको अवधिभर मतदान केन्द्रको सुरक्षा, मतपेटिकाको संरक्षण तथा मतगणना स्थलको सुरक्षामा जिम्मेवारीपूर्वक तोकिए अनुसारको काम सम्पन्न गरेको जनाइएको छ । निर्वाचन तथा मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि इलाका प्रहरी कार्यालय वराहक्षेत्रले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर निर्वाचन प्रहरीलाई सम्मानपूर्वक विदाइ गरिएको बताइएको छ । 

विदाइ कार्यक्रममा ९६ जना महिला र ३२० जना पुरुष गरि ४१६ जना निर्वाचनप्रहरीको सहभागिता रहेको इलाका प्रहरी कार्यालय महेन्द्रमगरका प्रहरी निरीक्षक दिवस कुवँरले बताउनुभयो।